• नयाँ खबर

    12 December, 2016

    आफैले देश गरीब बनाउने नियत त्यागौं

    गीता भण्डारी
    मध्य नेपाल सन्देश, 
    सामान्यतयः धनी र गरीब भन्ने बित्तिकै हामी रुपैया पैसासँग तुलना गर्ने गछौं । कुरा स्वभाविक पनि हो । रुपैया पैसाकै कारण सानादेखि ठूल्ठूला कामहरु गर्न सकिन्छ, यही रुपैया पैसा नै हो मान् सम्मान र इज्ज्वत पनि भन्ने गरिन्छ । रुपैया पैशा नभएर त हामी बाच्नै सक्दैनौं, कुन व्यक्ति कति धनवान् मात्र हैन कुन देश कति धनाढ्य होला ? भन्ने कुराको विश्लेषण गर्ने आधार पनि रुपैया पैसा नै हो । यस्ता थुप्रै कारणले पनि होला हामी यसलाई सामान्य रुपमा लिन्छौं । तर जब कुरा यहाँ कुनै व्याक्तिको नभई पुरै देशको आउँछ भने हामी सम्पूर्ण मानवजाती त्यसमा मुछिन्छौं । तसर्थ हाम्रो दायित्व पक्कै बन्छ, एक पटक यो सोच्ने कि ! के वास्तवमा हामी या हाम्रो देश नेपाल साच्चिकै गरीब नै हो ? या त हामी आफैले गरीब बनाइरहेका छौं ? यो सोचनीय, अनि विश्वनीय कुरा हो । शासकहरुबाट चुसिएर, विकास निर्माणबाट बञ्चित भएर, कुन नेताले चुनाबमा जितेर यो काम गर्छ भन्ने आश, अनि नेता भन्नेहरुको कुर्सी तानातानकै कारण आज हाम्रो देश गरीबीको खाल्डोमा कमजोर हुदै धरायसी बन्दै गइरहेको छ । 
    यति मात्र हैन कुन देशले कुन शिर्षकमा कति डोनेशन देला, बाटो घाटो, भवन निमार्णको लागी, कल कारखाना, स्कूल, क्याम्पस, हस्पिटल जस्ता अति आवश्यक कुराहरु अरु नै देशबाट  सहयोग गरिदिन्छ भन्ने मानसिकतालाई त्याग्न सके मात्र पनि हामीमा नयाँ भावना जागृत हुने एउटा गोरेटो निमार्ण हुने गर्दछ । अनि दोस्रो÷तेस्रोे देशको सधैं मुखताकी बस्नुपर्ने बाध्यता र परनिर्भरताको प्रवृतिका कारण पनि सानो तिनो गर्न सक्ने र सम्भव हुने कामलाई बेवास्था गरिएको कुरा हामी सबैलाई ज्ञात हुनुपर्छ । यति मात्र हैन हाम्रो देश कृषि प्रधान देश भएता पनि उत्पादित खाद्यपदार्थ पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा सधैं खाद्य पदार्थमा पनि हामी परनिर्भर बन्नु परेको यर्थाथ जिवित हुन थालेको छ । ठोस तरल अनि ग्याँस जस्ता अति आवश्यक कुरामा त हामी पहिले देखि नै अन्य मुलकमाथि नै आश्रित रहने बानी हाम्रो नयाँ होइन । यो हाम्रो परनिर्भर हुने बानीले हामीलाई निरन्तता अरुको आशमा बस्नुपर्ने बनाइरहेको छ । यो कुनै अर्थमा पनि राम्रो पक्ष होइन । श्रोत साधनलाई उचित उपयोग गर्न सके, बेला बेलामा अभावको भयकंर घात पुग्ने खालका मानसिक चोट हामीले सहनुपर्ने थिएन । आफ्नो देशको लागी केही गर्नै पर्छ भन्ने दृढ संकल्प लिन नसक्नु आफैमा कायरता पुर्णपक्ष हो । अर्काे तिर आफ्ना आवश्यकता पूरा गर्न आफैले श्रोेत र साधन खोज्ने बानीको विकाश नभए सम्म गरीब देशलाई माथि उठाउन हामी असमर्थ हुनेछौं । के कस्ता कारणले हाम्रो देश गरीब मुलकहरुको सुूचिमा हरक्षण परिरहेको छ भन्ने कुरा नेपालका हरेक व्यक्तिले सोच्न पर्ने भएको छ । देश गरीब हुनुमा यस्ता थुप्रै कारण छन्, जो हामी चाहेर पनि साबधान गर्न असमर्थ हुन्छौं । तर यस्ता ठोस कारणहरु पनि त हाम्रो माझमा पक्कै छन् जस्का सहायताले यो देशको गरीबीलाई केहि हद सम्म भए पनि रोक्न सकिन्छ । यतातर्फ हामीले ध्यान दिन जरुरी छ । हाम्रो देश गरीब मानिए पनि प्रकृतिक रुपमा, धर्म संस्कृति, जलश्रोत र श्रमशक्तिका दृटिकोणमा हामी धनी छौं । 
    आफ्नै देशका नदी नालालाई सही प्रयोग गरी प्रयाप्त मात्रामा बिजुली उत्पादन गर्न सके, उन्नत जातका बिउ बिजन अनि परिश्रमद्धारा अन्नबालीको उत्पादन गर्न सके, बिभिन्न कारणले बन्द रहेका वीरगंजको चिनी कारखाना, कृर्षि औजार कारखाना र बिराटनगरको जुटमिल जस्ता अन्य ठूल्ठूला उद्योगधन्दाहरु संचालन गर्न सके नेपालमा पनि समृद्धिको ढोका खुल्दैन भन्ने होइन । आफ्नै सीप र साधनले उत्पादित बस्तुहरुलाई बजारीकरण गर्न राज्यको आवश्यक पहल र चासो हुनुपर्छ । यसो भए मात्र पनि अनेक हण्डर खाएर उच्च शिक्षा हासिल गरेका डाक्टर, ईन्जिनियर तथा अन्य पेशा अंगाली विदेशिएका हाम्रा दाजुभाइ दिदीबहिनीले पनि विदेशिने गतिलाई कम गर्न मनग्ये बल पुग्थ्यो । छानी छानी स्वास्थ र निरोगी युवा शत्तिलाई रोजगारीको लागी बिदेशिनु पर्ने बाध्यतालाई रोकी त्यो तन्दुरुस्त युवाशक्तिलाई नेपालमा नै रोक्न सके उनीहरुको श्रम र लगानीले हाम्रो देशको मुहार फेरिने थियो । निश्चय नै श्रमलाई नेपालमै लगानी गर्न सके, रोजगारीको व्यवस्था साथै रोजगारीको अवसर जस्ता कुरालाई प्राथमिकतामा पार्न सकेमात्र प्रकृतिले भरपुर हाम्रो देशले पर्यटकहरुलाई लोभ्याउने कुरामा दुई मत नहोला । ती ठाउँलाई अझ व्यवस्थित बनाउन उच्च स्तरको पढाई लेखाई, सीपको सदुपयोग गर्न सके नेपालको समृद्धि टाढा भाग्ने होइन नेपालीको पछि लाग्ने थियो । यसमा आम नेपालीले आफूले सकेको काम अब आफै स्वदेशमा नै गर्न कम्बर कस्नुपर्छ । यसो गरे मात्र आफ्नो र मुलुकको कायापलट सम्भव छ । 

    देशलाइै सबैभन्दा गरीब  र रित्तो बनाउन सबै भन्दा ठूलो भूमिका खेल्ने प्रमुख पाटो हो राजनितीक । बोल्दा असहज लाग्ने तर धु्रवसत्य कुरो हो, नेपालको राजनितीक, आज साच्चै देशलाई पछिल्तिर धकेल्ने धारीलो हतियार बनेको राजनीति नै उथल पुथल भ्रष्टाचार र घुसखोरी जन्माउने अनि विदेशी प्रभुहरुको अगाडी त्वम्शरणम् गरी पदको लालसामा मरिहत्ते गर्ने र पद पाएपछि त्यसको दुरुपयोग गर्ने विकृत मानसिकता अब हट्न निकै आवश्यक भइसकेको छ । यसको आडमा हुने विकृती, बिलाशिता जस्ता आत्मघाती प्रहारले हाम्रो देश बिकाशोन्मुख भन्दा खोक्रोन्मुख बन्दै गइरहेको तीतो यथार्थ हाम्रो सामु खडा छ । हाम्रो देशमा धनाग्य व्यत्तिहरु नभएको पनि होइन । तर  ऐस आरामकै जिवनमा मख्ख पर्दै खुल्ला आखाँमा पट्टी बाधेर अन्धो हुनेको ढ्वाङ्ग कमी छैन । यहाँ गरीबहरु भोक भोकै मरिरहेका छन् । तत्कालकै घटनालाई नै हर्ने हो भने राज्यको ढिकुटी रित्याउदै सांसद वा पूर्र्व सांसदहरु उपचारको नाममा खर्चिने मोटो रकम र आर्थीक अभावका कारण मुटु र किड्नी जस्तो रोगको उपचार गर्न नसकी सर्वसाधरणले अकालमै ज्यान गुमाउन पर्ने असमान दृष्टिकोणलाई हेर्ने सैद्धान्तिक र व्यबहारिक पक्षबीचको तालमेल नै अपरिपक्क छ । हाम्रो देश गरीबी सूचिबाट अझ बड्दो क्रममा रहेकोछ । देशको विकाश गर्छु भनेर सोझा नेपाली जनतालाई झुक्याएर राम्रो पद पाउँना साथ सेरोफेरो कमाउने र थुपार्ने भाडो जती सबै मेरा भन्ने स्वार्थ मनोगत कारणले गाउँ, टोल शहर अनि देशको विकाश नै ठप्प जस्तै बनेको स्पष्ट छ । सबैले यो कुरालाई मनन् गर्न सके र आफैमा सही चेतना र शिक्षाको विकाश गर्न सके देशको कायापलट सम्भव छ । यसमा जुन सुकै पार्टी सरकारमा पुगे पनि नेपाल मेरो घर हो । म बस्ने घरको लागी सोच्नु पहिलो कर्तव्य हो भन्ने भावना नेतागणमा पनि विकास हुन जरुरी छ । यसो भए र देशले समृद्धिको बाटो समाते कुनै छिमेकीसँग झुकेर हात फैलाउन र नतमस्तक बन्न आवश्यक रहन्न । निरन्तरतालाई छोडौं अब आफ्नै देशमा श्रमपोख्ने ठाउँ खोजौं । यसले ०७२।०७३ को मधेश आन्दोलनमा भोगिएको भोगाइ जस्ता भोगाइ फेरी भोग्नु पनि पर्दैन । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आफैले देश गरीब बनाउने नियत त्यागौं Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top