ठूला उद्योग जुलुम नबनाऊ
भूगोल सानो, तर प्राकृतिक सौन्दर्य र श्रमिक बजारमा अथाह ठूलो मुलुक । उद्योग संचालनको झन निकै ठूलो सम्भावना यसै मुलुकमा असरल्ल । अनि यहि सानो भूगोल भित्रको भू-गर्भमा अडिएको खनिज तत्व । त्यसैगरी उद्योग र रोजगार सृजनाको प्रचुर संभावना नै सम्भावनाले भरिपूर्ण देश ।
मुलुक हाँक्छौं भन्नेहरुको बुद्धिको ढकन ( बिर्को ) नखुलेको विभसतामा नेपाल र नेपालीको आफ्नो जिजीविषा प्रति परचक्रीले बक्रेदृष्टि गाडेको हाम्रो मुलुक । कता-कता चित्त बुझ्ने र बुझाउने ठाउँको सन्निकटमा छ । लगत्तै ठूला उद्योग ध्वस्त बनाई त्यसमा पनि कुनै उत्पादनमुखी कार्य गर्न नचाहेको राज्य संचालकहरुको मुख्र्याईं । अनि विभिन्न स्वार्थमा विभक्त जनता तिनै अगुवा भनाउँदा नेतृत्वका पुच्छर बनेकामा यसै तालमेलको अभाव प्रष्ट छ । त्यसैमा नेपालको वर्तमान सरकारका उद्योगमन्त्रीले सबै नेपालीलाई उद्यमी बनाउँछुु भन्ने भूईंफुट्टा गफ अनि ठूला उद्योग संचालनको अझै कुनै कार्यविधि नहुनु जस्ता जनता झुक्याउने शब्दजाल समग्र नेपाली मन माथिको प्रहार वाहेक के हुन सक्छ ?
सरकारको बागडोर पर्दा अगाडी प्रचण्डको हातमा भए पनि पर्दा पछाडी तिनै नेपालको ठूला उद्योग मध्येको वीरगन्ज चिनी कारखाना लगायतका उद्योग बन्द गराउने पार्टीको कमाण्डमा हुनु वीरगन्जवासीका लागि उति पाच्य नहुन सक्छ । हजारौं व्यक्तिले यो चिनी कारखानाका आडमा आफ्नो गर्ज टारेको २०५८ साल अगाडीको अवस्था र वर्तमान विचिकाली बन्द पछिको सन्नाटा । त्यसमा पनि यो चिनी कारखानाको जग्गा समेत अन्य प्रयोजनमा कार्यान्वयन गराउने यहि सरकारको कदम र त्यसका उद्योगमन्त्रीले सबै नेपालीलाई उद्यमी बनाउँछु भन्ने कुरा आफैमा बाझिएको छ । विचीकालीको जग्गामा पूनः उद्योग संचालन भए वा थप उत्पादनमुखी कार्य सम्पादन भए त्यो आम नागरिकले थोरै चित्त बुझाउने ठाउँ हुने थियो । तर त्यसो नभएर अनुत्पादक कार्यका लागि यो ठाउँ प्रयोग हुन थाल्नु नेपालका जनकपुर चुरोट कारखाना, हेटौडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना जस्ता ठूला उद्योग खुत्रुक्कै पार्ने रणनीति वाहेक अरु केही हुन सक्दैन । पहिलेका उद्योग मन्त्रीहरुले यो उद्योग संचालन गर्ने भनी यहि वीरगन्जको माटोमा आएर गरेको लिखत वर्तमान उद्योग मन्त्रीले खोजेर कार्यान्वयन गराउन तत्परता देखाउनु पर्छ । अनि यो र यस्ता रुग्ण उद्योगको पूनर्ताजगी पछि थप नयाँ उद्योग स्थापनाको खाता खुलाउन सके मात्र पहिले आफ्नो पार्टी सरकारमा बस्दा ठूला उद्योग बन्द गराएको दोष पनि विस्तारै मेटिदै जाने छ ।
कच्चा पदार्थ किन्न बाहिर जानु नपर्ने र स्वदेशमा नै कच्चा पदार्थ पाइने उद्योगलाई पहिलो प्राथमिकतामा राखी उद्योग प्रबद्र्धन गर्नु मुलुक समृद्धिको पहिलो खुड्किलो हुन सक्छ । अनि देशमा विद्यमान राज्यको मातहतमा भएका उद्योग र ती उद्योग भएको जग्गामा उत्पादनमुखी, रोजगारमुखी उद्योग नै संचालन हुनु मुलुक समृद्धिको अर्को खुड्किलो हुन सक्छ । अब मुलुक भित्रै उत्पादन र रोजगारीको पनि सृजना नहुने हो भने राज्यको बागडोर हातमा लिनेहरुले फालेको शब्दजालले मात्र केही हुने वाला छैन । अबको समय भनेको बोल्ने होइन काम गरेर देखाउने समय हो ।
0 comments:
Post a Comment