कार्यक्रम ओझेलका पात्रका संचालक राजु श्रेष्ठ । Raju Shrestha |
समाजका लागी दान दिएर चर्चाको आकांक्षा बोक्नेहरु सधैंभरि आम सञ्चार माध्यमको विषयवस्तुमा अटाइ नै रहेका हुन्छन् । तर त्यही समाजका लागी निःस्वार्थ भावले योगदान दिनेहरु समाजको एउटा साँघुरो घेराबाहिर बिरलै चर्चाको पात्र बन्ने अवसर पाउँछन् ।
समाजका लागी लामो समयदेखि बहुमूल्य योगदान दिएका तर ओझेलमा परेका उदाहरणीय पात्रसँग आम नेपालीलाई परिचित गराउने र सामाजिक सेवाका लागी प्रेरणा प्रदान गर्ने अभियानलाई टेलिभिजन श्रृंखला ओझेलका पात्रले सार्थकता प्रदान गरेको छ । दुई वर्ष अघि एभेन्यूज टेलिभिजनको पर्दामा शुरु भएको ओझेलका पात्र खोजी अभियानले एक सय श्रृंखला पुरा गरेको छ ।
सय अंक पुरा गर्दा तराईदेखि पहाडसम्मको विभिन्न परिवेश, समाज र भूगोलमा बसेर समाजका लागी वर्षौदेखि योगदान दिएका सय पात्रलाई कार्यक्रम सञ्चालक राजु श्रेष्ठले भेट्ने अवसर पाए । पात्र खोजीका क्रममा आफूले पाएको अनुभव साट्दै उनी भन्छन्, हाम्रो समजमा दान दिनेहरुको चर्चा चाँडो हुँदो रहेछ,तर योगदान दिने ओझेलमा पर्छन् । योगदान दिनेहरुको खोजी गर्ने अभियानमा हिंड्दा दान गर्नेहरु पैसा बोकेर आफूले समाजका लागी ठूलो योगदान गरेको छु भन्दै भ्रममा पार्न खोज्छन् ।
टेलिभिजनको पर्दामा देखा पर्न नरुचाउने कास्कीको वातावरण संरक्षक झलक थापा हुन् वा मध्यतराईको सीमान्त शहर वीरगन्जमा बसेर भोजपुरी भाषा साहित्य सेवामा आफ्नो जीविन समर्पण गरेका पंडित दीपनारायण मिश्र, यी सबै आफ्नो समाज र राष्ट्रलाई अमूल्य योगदान पु¥याएर पनि ओझेलमा परेका पात्र हुन् । उनीहरुजस्तै पात्रलाई पर्दामा ल्याउने र उनीहरुको जीवन कथा र अनुभवमार्फत् समाजलाई उर्जा प्रदान गर्ने प्रयासमा पत्रकार श्रेष्ठ अनवरतरुपमा लागी परेका छन्् ।
ओझेलको पात्रका एउटा श्रृंखलामा जोडिएका वीरगन्जका प्रथम् नगर प्रमुख केशवप्रसाद मानन्धरको अटल व्यक्तित्व देख्दा जोकोहीलाई पनि लोभ लाग्दो हो । ९५ वर्षको उमेरमा उनका शरीरका केही अंगले राम्ररी काम गर्न छाडेपनि उनको अनुहारमा अझै ओज छ । विक्रम संवत् २०१० र २०१४ मा नगर प्रमुख भएका मानन्धर इमान्दारिताका प्रतीक समाजसेवी हुन् । उनकै नेतृत्वमा नारायणी उपक्षेत्रिय अस्पतालको जग बसालिएको हो ।
अर्का पात्र स्वर्गिय गंगाबहादुर थापा, क्षयरोग पीडितका लागी उनले आफू थला परेर ओछ्यानमा लड्नु अघिसम्म स्वयम् सेवा गरिरहे । शिरमा ढाकाटोपी र काँधमा गम्छा भिरेर कुर्ता र पाइजामामा सजिएर निवासदेखि अस्पतालसम्मको यात्रा पैदलै तय गरेर बिहानदेखि बेलुकीसम्म क्षयरोगीको सेवामा तैनाथ रहन्थे । क्षयरोगीले नियमित औषधी सेवन गर्न छुटाउलान् भन्ने चिन्ताले छटपटिंदै उनी बिरामीको घरघरै समेत पुगेर चासो लिने गर्थे । गत पुसमा उनको स्वर्गारोहण पछि वीरगन्ज नगरले एउटा असल अभिभावक गुमाएको छ । अन्तरवार्ताका क्रममा थापाले भनेका थिए,समाज सेवाका लागी धेरै धनको आवश्यक्ता नै छैन, ठूलो हृदय भए पुग्छ । अर्का पात्र पूर्व लागू औषध प्रयोगकर्ता साधुराम खड्गीको लागू औषधविरुद्धको साहशिलो संघर्षको कथा उनकै शब्दमा सुन्दा जोकोहीको गहँ आँशुले भरिन्छ ।
नेपालमा संघीयतालाई राजनीतिकरुपमा मात्र बुझिने गरेको छ, तराई मामिलामा स्तम्भकार चन्द्रकिशोर भन्छन्,तर संघीयता भनेको सबै क्षेत्रमा समावेशिताबाट हासिल हुन्छ, समाजको प्रत्येक क्षेत्रमा राजधानीबाहिर पनि प्रतिभा छन् भन्ने एउटा उत्खनन् पनि हो, ओझेलका पात्र । ओझेलका पात्र भनिएपनि पात्र ओझेलका होइनन्, चन्द्रकिशोर थप्छन्, यहाँका दर्शक ओझेलमा थिए, कार्यक्रममा समेटिएका सबै पात्र मुखर र सार्थक पात्र हुन्, तर अपरिचित दर्शक थिए जस्लाई ती पात्रहरुको योगदानबारे जानकारी थिएनन् ।
फोटो पत्रकारिताबाट टेलिभिजन पत्रकारितामा प्रवेश गरेका पत्रकार राजु श्रेष्ठले राजधानीका पत्रकारको कब्जामा रहेको मिडियामा सकसका साथ संघर्ष गर्दै मोफसलबाट मोफसलकै पात्र समेटेर टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने जोखिम मोले । जोखिम र मिहीनेतकै कारण अहिले आफ्नो कार्यक्रमका पात्रसँगै पत्रकार राजु श्रेष्ठ पनि चर्चाको पात्र बन्न पुगेका छन् ।
एभेन्यूज टेलिभिजनमा कार्यक्रमको प्रस्ताव लिएर पुग्दा साधनश्रोतको अभावमा इच्छाशक्तिले मात्रै यो कार्यक्रम सम्भव नभएको भन्दै व्यवस्थापकले निराश बनाए । लगातारको प्रयासपछि उनले ग्रिन सिग्नल पाए तर क्यामेरा, स्टुडियो केहीको पूर्वाधार तयार नभएपनि राजुले आँटे र गरी छाडे ।
राजधानीमै सीमित प्रशारण मिडियामा मोफसलबाट नियमित कार्यक्रम सञ्चालन गर्न सक्नु आफैंमा एउटा उल्लेखनीय उपलब्धी भएको जानकारहरुको भनाई छ । साभार :– yatradaily
0 comments:
Post a Comment