-

  • नयाँ खबर

    25 December, 2016

    एक किसानको सफलताले निजगढमा ‘केरा खेती’ फस्टायो

     कविता खड्का
    मध्य नेपाल सन्देश
    कृषि प्रधानदेशको बारा जिल्ला माछा उत्पादनमा मात्र नभएर केराखेतीमा पनि मध्य तराईमा अग्रणी हुन थालेको छ । यो जिल्लाकोे समथल भूमि भरपुर उपयोग गर्दै केरा खेतीबाट पनि राम्रो उन्नति गर्न यहाँका किसान कस्सिएका छन् । केही किसान त निकै प्रफुल्ल भेटिए । 
    नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने नारायणी अञ्चलको ५ जिल्लामध्ये निकै सवल बारा जिल्ला खाद्यान्न उत्पादनका लागि अग्रण्ीा स्थानमा पर्न थालेको पाइन्छ । फरक फरक बालीनालीका लागि देशैभरिको माटो र हावापानी उपयुक्त रहे पनि त्यसको भरपुर सदुपयोग गर्न कृषि उपजमा बारा जिल्लाले विविधता ल्याएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालको चुरे  पर्वतमालाभन्दा दक्षिण र छिमेकी मुलुक भारतको सिमानाभन्दा उत्तरको समथर भूभाग अथवा तराईलाई अन्नको भण्डार नै मानिन्छ । नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गतको जिल्ला कृषि विकास कार्यालय बाराको सहकार्य अनि सहयोग र यहाँका किसानको मिहनेत र लगनले व्यवसायिक खेतीमा नयाँ आयामहरु थपिदै आएको बाराका किसानहरुको भनाइ छ । 
    खाद्यान्न उत्पादनमा बारा जिल्लाको बेग्लै पहिचानलाई केरा खेतीले पनि थप उक्साउन थालेको खुद बाराको निजगढका किसान आफै बताउँछन् । यहाँ खासगरी धान, गहुँ, मकै, मसुरो, आलु, तोरीलगायतको बाली हुने पछिल्लो बाराको बिशेषता हो । बर्षेबालीमा किसानहरु उखुतर्फ आकर्षित हुने पुरानो चलनलाई वीरगन्ज चिनी कारखाना बन्द भएपछि विकल्पको खेतीका रुपमा अंगालेको उनीहरुको भनाइ छ । समयमै आम्दानी जुटाउनका लागि अहिले केरा खेतीतर्फ किसानहरुको आकर्षण बढ्दा जिल्लाको ६२ हजार ८ सय ११ हेक्टर खेतीयोग्य जमिनमा २ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती सुरु भएको छ । कांचोमा तरकारीको रुपमा र पाकेपछि पौष्टिक तत्वले भरिपुर्ण फलको रुपमा मानिसहरुले रुचाउने केरा दुई दशक अगाडीसम्म यहाँ खासगरी भारतबाट आयात भएर आउँथ्यो । तर अहिले जिल्लाका किसानहरुले उत्पादन गरेको केरा नेपालको बिभिन्न भागमा निकासी हुन थालेको निजगढ नगरपालिका निवासी किसान गोविन्द खड्काले बताए । 
    तराईको जिल्लाहरुमा पहिलेदेखि नै केरा खेतीगरिदै आएको भए पनि बारामा व्यवसायिक रुपमा केरा खेतीको सुरुवात २०५४ साल पछि भएको हो । केरा खेतीगर्ने प्रशस्त सम्भावना हुँदाहुदै पनि कृषकहरु यसतर्फ आकर्षित हुन सकेका थिएनन् । आधुनिक प्रविधि अपनाएमा बढीभन्दा बढी उत्पादन लिन सकिन्छ भन्ने सोचका साथ व्यवसायिक केरा खेती सुरुवात गरिएको उनले तर्क गरे । स्वास्थ्यको दृष्टिले केरा अन्य फलफूलभन्दा स्वस्थवद्र्धक र शक्ति प्रदान गर्ने फलमा उत्कृष्ट मानिन्छ । केराबाट भिटामीन ए, बी र सी प्राप्त हुन्छ । यसलाई विश्वको प्रमुख फलको रुपमा पनि लिइने गरिएको उनको भनाइ छ । केरालाई सामान्यतया पकाएर खाने गरिन्छ । संगसंगै केराको विभिन्न परिकार बनाइ तरकारी, अचारमा पनि प्रयोग गर्ने चलन छ उनले भने । 
    नगदे वालीको श्रेणीमा पर्ने केराको खेति राम्रो आम्दनीको श्रोतको रुपमा देखा परेपछि किसानहरुको आकर्षणको कारण बन्न पुगेको पहिलो पटक व्यवसायिक रुपमा बाराको निजगढमा केरा खेती सुरुवात गरेको किसान खड्काले दावी गरे । कृषि विकास कार्यालयले आयमुलक खेती तर्फ अकर्षण गराउने उदेश्यले विक्रम सम्बत २०५३ सालमा बाराका किसानहरुलाई चितवन लगायत अन्य जिल्लाहरुमा कृषि भ्रमण गराएको थियो । त्यसबखत कृषक खड्काकी पत्नी अम्बिका खरेलले व्यवसायिक रुपमै केरा खेतीको भ्रमण र यसका बारेमा जानकारी लिन पुगेको उनले सविस्तार सुनाए । भ्रमणबाट फर्के लगत्तै पतिलाई केरा खेती गरी यसको व्यवसायमा लाग्न प्ररणा नै उनैको हो । सुरुमा पत्नीको कुरामा विश्वास नलागे पनि खड्काले आफै ती ठाउँहरुको भ्रमण गरेपछि भने चितवनबाटै विरुवा भित्राएर केरा खेती शुरु गरेको उनको भनाइ छ । यसपछि भने आजसम्म पछाडी फर्केर हेर्नु नपरेको खड्काले दावी गरे । 
    केराले गर्मी तथा ओसिलो हावापानी मन पराउछ तर सिचाईको सुविधा भएमा सुख्खा ठाँउमा यसको सहज खेती गर्न सकिन्छ । केरा खेतीका लागि १८ देखि २७ सेन्टिग्रेट तापक्रम र हिउँदमा प्रशस्त घाम लाग्ने, तुषारो नपर्ने राम्रो प्रबन्ध भएको, हल्का तर प्रशस्त प्रारङ्गिक मल भएको माटो केरा खेतीका लागि उपयुक्त हुने जिल्ला कृषि विकास कार्यालय बाली विकासका कर्मचारीले बताए । थोरै क्षारीय माटोमा पनि यसको खेती गर्न सकिन्छ,जहाँ ओइलिने रोगको प्रकोप कम हुन्छ । यसरी हेर्दा सबैभन्दा राम्रो जातहरुमा झापाली मालभोग र विलियम हाइब्रेड पाइन्छ । यी जातका केरा चाडो फुल्ने, फल्ने, कोसा संख्या पनि धेरै र कोसा पनि ठूलो, पाकेपछि पहेलो रंग हुने, मिठो वास्ना, सुगन्धित र पाकेपछि पनि धेरै दिन राख्न सकिने भएकोले कृषकहरुले समेत यी जातहरु मन पराउने गरेको उनीहरुको भनाइ छ । 
    केरालाई उसिनेर या पाकेको केरालाई चाना पारी सुकाई, पिसेर पिठो बनाई हलुवा पनि खान सकिन्छ । केरा खेती व्यवसायिक रुपमै विस्तार हँुदै जाँदा कृषि विकास कार्यालय बाराले कृषकहरुलाई प्रतिगोटा विरुवामा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । यससंगै केरा खेती गरिरहेका किसानहरुको बालीको कृषि विकास कार्यलयले १ करोड ५० लाख सम्मको वीमाको व्यवस्था पनि मिलाई दिएको कृषि विकास कार्यालय बाराका प्रमुख  शिवरतन साहले बताए । 
    मालभोग केरा आजभोली सबैले औधी रुचाउने गरेका छन् । यहि कारण हो, नेपाली बजारमा मालभोग केराको माग बढ्दै गएको छ । केहिवर्ष अगाडीसम्म भारतको हाजीपुरमा उत्पादित मालभोग केराहरुले नेपालको बजार ओगटदै आएका थिए । तर नेपालमा पनि व्यावसायीक केरा खेती हुन थालेपछि यहिका मालभोग केराहरुले बजार ओगटदैछ र भारतको हाजिपुरबाट आउने केराको आयात बिस्तारै कम भएको छ । निजगढमा उत्पादित मालभोग केरा अति नै मिठो हेर्दा आकर्षक हुने हुँदा यसलाई मन पराउने गरेको सिम्रौनगढ बारा घरभई हाल कलैया बस्दै आएका एक केराका पारखी रामकिसोर यादव बताउँछन् ।  
    निजगढमा उत्पादित केरा बिहान मगायो, बिक्रीका लागि अर्काे दिन कुर्नै पर्दैन फलफूल व्यावसायीले बताए । आफनै जिल्लामा उत्पादित केरा सहज बिक्री हुने र मनग्य आम्दानी पनि हुने गरेको कलैया बजारका रोशनी फ्रुट सेन्टर सञ्चालक राधेश्याम कुमारले बताए । उनले आफनो जिल्लाको उत्पादनमा जोड दिएपछि भारतीय केराको माग घटिरहेको समेत तर्क गरे । घरवरिपरि, खाली जग्गा, निजी तथा सार्वजनिक जग्गा, सडक छेउछाउ, भिरालो जग्गा, मठ मंदिर, स्कूल, मदर्शा, इदगाह, स्मसानघाट, नहर किनार, बगैंचा वरिपरि, वन भित्र केरा लगाएर जलवायु परिवर्तनको असरबाट वातावरण जोगाउनुका साथै खाद्य, पोषण तथा आर्थीक सुरक्षामा सहयोग पु¥याउन र भविष्यमा निर्यातको लागि पनि राम्रो आधार बन्ने व्यवसायीहरुको पनि दावी छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एक किसानको सफलताले निजगढमा ‘केरा खेती’ फस्टायो Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top