-

  • नयाँ खबर

    18 September, 2016

    वास्तु र ज्योतिषको अन्तर सम्बन्ध

    ज्यो. पं. छविरमण सुवेदी, बारा
    आवासमा पर्ने अव्यक्त, अदृश्य ब्रह्रमाण्डीय शक्तिद्वारा मानवलाई सर्वाधिक लाभ पुगोस् भन्ने हेतुले प्राचीन ऋषि महर्षिहरुले वास्तुशास्त्रलाई स्थापित गर्नु भयो । जुन शास्त्रलाई भवन निर्माण कला भन्ने गरिन्छ । ज्योतिष एवं वास्तुशास्त्र प्राचीनतम, अनुभव सिद्ध हाम्रा पूर्वीय ऋषि, महर्षिद्वारा प्रतिपादित ज्ञानपुञ्ज हुन् । मानव र घर बीच जुन सम्बन्ध छ, ज्योतिष र वास्तुशास्त्रका बीच पनि अन्योन्याश्रित सम्बन्ध रहेको छ । वास्तु एवं ज्योतिष शास्त्रको उपेक्षा गर्नेहरुले शारीरिक मानसिक एवं भौतिक धन सम्पतिबाट सदैव चिन्तायुक्त जीवन यापन गर्नु पर्ने हुन्छ । ज्योतिष एवं वास्तुशास्त्रको अनुसरण गर्नाले स्वास्थ्य, मानसिक शान्ति, सफलता सुख–समृद्धि पाउन सकिन्छ भने आफनो जीवनमा आश्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ । 
    सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेदमा वास्तुको पहिलो प्रयोग पाइन्छ । वैदिक कालमा पनि वास्तु शास्त्रको प्रयोग भएको देखिन्छ । वेदमा वास्तुकलाका कुशल कलाकारको रुपमा  “त्वष्टा” को उल्लेख पाइन्छ । अन्य शास्त्रीय मतमा मयदानव, देवल, ऋषिहरु, नारद आदि वास्तुविदहरुले यो परम्परालाई निरन्तरता दिएको पाइन्छ । विश्वकर्माले ब्रहमा आदेशलाई पालना गरी विविध देव, नगर र पुरहरु निर्माण गरेको शास्त्र, पुराण, महाभारत आदि ग्रन्थमा उल्लेख छ । 
    धर्म, अर्थ, काम र मोक्ष जीवनका चार ठूला लक्ष्य हुन् । यसलाई प्राप्त गर्न स्वस्थ शरीर, स्थिर मन र निर्मल बुद्धिको आवश्यकता पर्दछ । उक्त कुरा प्राप्तिका लागि वास्तु सिद्धान्त अनुरुप भवन निर्माण गर्नु पर्ने देखिन्छ ।
    ज्योतिषीय ज्ञानविना वास्तुशास्त्रको ज्ञान, उपयोग र प्रयोग अधुरो अपुरो नै मानिन्छ  किनकि वास्तुशास्त्र र ज्योतिष शास्त्रको अन्तर सम्बन्ध रहेको छ । गृहनिर्माणका लागि घडेरी किन्नु भन्दा पहिले जमिन भएको ठाउँको नाम राशि र आफनो नामराशिका बीच मेल छ कि छैन भन्ने कुरा ज्योतिष शास्त्र अनुसार बुझनु पर्ने हुन्छ । वास्तुशास्त्रलाई पनि ज्योतिषले पूर्ण प्रकाश पारेको छ । जमीन खरीद एवम् भवन निर्माण देखि लिएर गृहप्रवेश सम्म नै ज्योतिषको गरिमामय स्थान छ । मानिसको नाम राशिबाट भवन निर्माण गर्नु पर्दछ । समान्यतया व्यक्तिका दुई नाम हुन्छन् । जन्मदाको राशि नाम र चल्तीको पुकार नाम । यी दुबै नामहरु श्रेष्ठ मानिन्छन् । कुन नामको महत्व कस्ता कार्यमा हुन्छ भन्ने सन्दर्भमा यसो भनिएको छ :
    “विवाहे सर्वमाङ्गल्ये यात्रादौ ग्रह गोचरे ।जन्म राशे प्रधानत्वं नामराशि नचिन्तयेत् ।।”
    अर्थात् विवाह आदि सम्पूर्ण धार्मिक, पैतृक कार्यमा यात्रा, ग्रह गोचर आदिको विचार गर्दा जन्म राशिको नामको प्रधानता हुने हुँदा बालक जन्मिदा समय टिपेर सुयोग्य ज्योतिष कहाँ गई राशि एवं नामाक्षर निकाली बालक जन्मिएको एघारौं दिनमा त्यस नामको पञ्चोपचार वा षोडषोपचार विधिले पूजा गरी नामकरण संस्कार गर्नु पर्ने विधान हिन्दु संस्कृतिमा उल्लेख छ ।  जीवनमा सर्वाधिक नामको नै महत्व रहने गर्दछ । पाञ्चभौतिक शरीर अवश्य नै मर्छ । तर शरीरले गरेको कर्मको आधारमा नाम नै अमर रहन्छ, शरीर होइन ।
    त्यस्तै देश, गाउँ, गृहनिर्माण, युद्ध, नौकरी, व्यापार, मुद्दामामिलामा चल्ती वा पुकार नामको महत्व वा मान्यता हुन्छ । भनिएको छ  ः 
    “देशे ग्रामे गृहे युद्धे सेवायाँ व्यवहारके ।नामराशे प्रधानत्वं जन्म राशि नचिन्तयेत् ।”
    यदि कसैको जन्मदा राखिएको जन्म राशि थाहा छैन भने जुन नाम प्रचलित छ त्यसैबाट विचार गर्नु पर्दछ । 
    भूमिचयन गर्दा मानिसको प्रचलित नाम राशिबाट नगर, गाउँ वा टोलको नाम राशि सम्म गन्ती गर्दा २, ५, ११, ९, १० मा पर्यो भने सो भूमि त्यो ठाउँ शुभ हुन्छ । त्यहा बस्ने व्यक्ति खुशी सुखी र विजयी बन्छ । १ र ७ मा शत्रुबाट पिडित रहन्छ भने ४,८, १२, ३ र ६ पा पर्यो भने रोग, शोक र व्याधिकारक जान्नु पर्दछ । 
    व्यक्तिको राशि अनुसार मुख्य ढोका वा घडेरीको मुख निम्न अनुसार भएमा शुभ मानिन्छ :
    मेष, सिंह,धनु– पूर्ववृष, कन्या, मकर – दक्षिणमिथुन, तुला, कुम्भ – पश्चिमकर्कट, वृश्चिक, मिन– उत्तर
    यदि व्यक्तिको राशि अनुसार निर्देशित दिशामा मूल गेट (ढोका) लगाउन नसकेमा आफनो राशि अनुसार त्यस दिशामा एउटा झयाल भएपनि अवश्य लगाउनु पर्दछ । 
    वास्तुपुरुष इशान शिर गरी उत्तानो परेर पृथ्वीमा सुतेका छन् । उनको गोडा नैऋत्य दिशामा हात जोडेर प्रार्थना गर्दै गरेको देखाइएको छ । वास्तुपुरुष मण्डलको उत्तरमा धनाधिपति कुवेर, पूर्वमा प्रकाश देवता सूर्य, दक्षिणमा मृत्यू देवता यम, पश्चिममा वायुदेवता र मध्य भाग ब्राहमाण्डका देवता ब्रहमाको प्रतीक मानिन्छ । अतः भवनको डिजाइन बनाउँदा विभिन्न कोठाको स्थिति विचार गर्नु पर्ने हुन्छ । कुन दिशाको कोणलाई कुन प्रयोजनकमा ल्याउने भन्ने सम्बन्धमा तलको संस्कृत श्लोकले स्पष्ट पारेको छ । 
    स्नानागारं दिशि प्राच्यां आग्नेयøयां च महानसम् ।याम्यायां शयनागारं नैऋत्यां वस्त्र मन्दिरम् ।वारुण्यां भोजन गृहं वायव्यां पशपमन्दिरम्भण्डारं वेश्योत्तरस्यां ऐशान्यां देवतालयम् ।।
    १. पूर्वतर्फ : स्नान गर्ने (बाथरुम) पानीको श्रोत
    २. पूर्व+ दक्षिण (आग्नेय) दिशामा  भन्साघर र भण्डार कक्ष 
    ३. दक्षिण : शयनकक्ष
    ४. दक्षिण–पश्चिम (नैऋत्य) दिशामा शौचालय
    ५. पश्चिम तथा पश्चिमको बीच : अध्ययन कोठा
    ६. पश्चिम तथा उत्तर पश्चिमको बीच :  शौचालय
    ७. उत्तर+ पश्चिम (वायव्य) मा अन्न भण्डार
    ८. उत्तर तथा उत्तर पूर्वको बीच : ध्यान एवं अध्ययन
    ९. उत्तर+पूर्व (ईशान) : पूजाकक्ष

    घरमा नवग्रहको स्थिति :

    वास्तु शास्त्रको नियम अनुसार घर निर्माण गरेपछि त्यो घरमा नवग्रह आ–आफ्ना ठाउँमा आएर बस्छन् र घरका व्यक्तिमाथि ग्रहको प्रभाव पर्न थाल्छ । ईशान वा पूजा कोठामा सूर्यको स्थान हुन्छ भने चन्द्रमा वाथरुम वा पूर्वमा हुन्छन् । मंगल सधै आग्नेय दिशा भन्साघरमा रहन्छन् । अध्ययन कक्ष वा पश्चिममा बुध रहन्छन भने उत्तरको अध्ययन तथा अध्यात्मिक कार्य हुने ठाउँमा वृहस्पति हुन्छन् । दक्षिण+पश्चिममा शुक्र, पश्चिम+उत्तरमा शनि रहन्छन् । प्रवेश गर्ने ठाउँको दाहिने तिर राहु र बायाँतिर केतु हुन्छ । राहु तथा केतुले भवनको चारैतिरको रक्षा गर्दछन् । त्यसैले घरमा गृह प्रवेश भएपछि दैनिक पूजा–आरती, भजन कीर्तन, अतिथि भोजन र भिखारी दान दिनाले नवग्रह अनुकुल भई घरपरिवारका सदस्यहरुमा सुख, शान्ति, सफलता आदि प्राप्त हुन्छ  भने यसको विपरीत अशान्ति, कलह, रोग, शोक आदि भोग्नु पर्ने हुन्छ ।

    केही स्मरणीय वास्तु सम्बन्धी कुराहरु :

    १. यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता : अर्थात घरमा छोरी, बुहारी र श्रीमतीलाई सुखी, खुशी राख्ने प्रयास गर्नु पर्दछ ।
    २. जमिन देखि घरको उचाईमा भर्याङ्गको सिढीको संख्या विषम (१, ५, ७) आदिमा हुनु पर्दछ ।
    ३. घरको दक्षिणको तुलनामा उत्तरतिर र पश्चिमको तुलनामा पूर्वतिर धेरै खुल्ला ठाउँ छोड्नु पर्दछ । 
    ४. घरको उत्तर–पूर्वी कुनामा कुनै पनि प्रकारको फोहोर मैला, जुठो राख्नु हुदैन ।
    ५. बस्ने कोठामा राखिएका फर्निचर, सोफासेट, कुर्सी आदि पश्चिम या दक्षिण दिशामा राख्नु पर्दछ । घर मालिकले पूर्व वा उत्तर मुख फर्काएर बस्दा राम्रो हुन्छ ।
    ६. नगद रुपैयाँ राख्ने दराज, बाकस आदि घरको उत्तर कोठामा  राख्नु पर्दछ । चाबी खोल्दा बाकस दराजको मुख उत्तरतिर फर्केको अति राम्रो मानिन्छ ।
    ७. मुख हेर्ने सबै शिशाहरु उत्तर या पूर्वतिर लगाउनु पर्दछ ।
    ८. शौचालयको हात धुने बेसिन (कुण्ड) उत्तर या पूर्वको भित्तामा राख्नु पर्दछ । 
    ९. भोजनकक्षमा खाना खाँदा मुख पूर्व वा पश्चिम तिर फर्किएको हुनु पर्दछ ।
    १०. कुनै पनि कोठामा टेलिभिजन दक्षिण–पूर्वी कुनामा राख्नु पर्दछ ।
    ११. पलङ्ग वा खाट राख्दा सुत्ने व्यक्तिको टाउँको दक्षिण, पूर्व या पश्चिमतिर हुने गरी राख्नु पर्दछ । 
    १२. कुवा, इनार, ट्यूबवेल वा कुनै पनि भूमिगत जल संग्रह गर्ने मेसिन या औजार उत्तर–पूर्व (इशान) दिशामा राम्रो मानिन्छ । 
    १३. दुईवटा भिन्ना भिन्नै घरको प्रवेशद्वार ठीक आमने–सामने हुनु हुदैन ।
    १४. घर अगाडि रुखहरुको संख्या जोडी हुनु पर्दछ ।
    गृह निर्माण जस्तै कलकारखाना उद्योग व्यवसाय क्षेत्र मठ, मन्दिर, चलचित्रघर आदि क्षेत्रमा पनि वास्तुको प्रयोग गरिन्छ । गृहनिर्माण पूर्व ठाउँ एवं भूमि चयन गर्ने, भूमिचयन पश्चात वास्तु चक्र, नागको शिर, नक्षत्र, वार, महिना, तिथि पक्ष जुराएर शिलान्यास गर्दा गृह निर्माणमा विध्न बाधा र समस्या नआउने कुरा शास्त्रमा उल्लेख छ । गृह निर्माण गरिसकेपछि ज्योतिष शास्त्रले सूचित गरेबमोजिम वास्तुचक्र, अग्निवास, शिववास, मास, पक्ष, वार, तिथि, आदि जुराई वैदिक संस्कार शास्त्रीय आधार साथै ऋषि महर्षिहरुको मतलाई पालन गरी गृह प्रतिष्ठा (प्रवेश) गर्नु पर्दछ । यसरी संस्कार गरिएको घर सम्पूर्ण मनोरथ पूर्ण गर्ने हुन्छ । 
     अस्तु 




    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वास्तु र ज्योतिषको अन्तर सम्बन्ध Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top