-

  • नयाँ खबर

    12 September, 2015

    [रिपोर्टरको डायरी] बालुवा तस्करले लखेट्दा‍...


    भाद्र २५, २०७२- सदरमुकाम वीरगञ्जबाट ४५ किलोमिटर पश्चिममा रहेको पर्साको सीमावर्ती गाउँ पिडारीगुठी । पारिपट्टि भारत बिहार पश्चिमी चम्पारणको गदियानी भंगाहा गाउँ । दुई देश छुटयाउने सिमानामा रहेको ४२४/१९ नम्बरको पिलर ।
    पिलर यता नेपाली भूभागमा रहेको ओरिया खोलाबाट पारि गाउँका तस्करले दिनहुँ करिब ५ सय ट्रयाक्टर बालुवा उत्खनन् गरी ओसार्ने गरेको खबर आयो । वीरगञ्ज आसपास जारी आन्दोलनका क्रममा गत भदौ १५ गते आन्दोलनकारीले पर्सा जिल्लाको नाकामा रहेका प्रहरी इकाईहरुमा आगजनी भएपछि प्रहरी यहाँबाट हटेका थिए ।
    भारतीय तस्करहरु निर्वाध रुपमा नेपालमा पसेर बालुवा लगिरहेको सूचना आएपछि बिहीबार विहान समाचार संकलनका लागि म पिडारीगुठी पुगें ।  बाटो देखाइदिन इलाका प्रहरी कार्यालय सेढवाका इन्चार्ज सई मोहन थापाले सहयोग गरे । तस्करीको कुरा सुनेपछि एक महिना अघिमात्र जिल्ला प्रहरी कार्यालयबाट इलाकामा आएका थापा आफ्ना असई र २ जवानसहित हामीसँगै ओरिया खोला पुगेका थिए ।
    अपराह्न करिब १ बजे त्यहाँ पुग्दा छरिएर रहेका १५/२० वटा ट्रयाक्टरहरुमा बालुवा लोड हुँदै थियो । विहानदेखि सुरु हुने उत्खनन् हामी पुग्दा अधिकांश ट्याक्टर एक लट लोड गरेर बिक्री गर्न गएका थिए । कोही खाना खान । दुई देश छुट्याउने पिलर भन्दा ट्रयाक्टरहरु झन्डै एक किलोमिटर भित्र नेपालको भूमिमा थिए ।


    सुरुमा हामीलाई देखेर बालुवा उठाउनेहरु भागे । हामीले भागे भन्ठानेका उनीहरु पर पुगेर एकत्रीत भए र बालुवा उठाउने सावेल (बेल्चा) लिएर हामी भएतिर आए । राम्रो तस्बिरका लागि म आफ्नो समूहभन्दा केही अगाडि पुगेको थिएँ । सई थापा र असई भगवान राउत कुर्मी मभन्दा पनि केही अगाडि थिए । हातमा सावेल लिएर तस्कर समूह हामीतिर दौडिन थाल्यो । खतरा देखेपछि हामी पछाडि फर्किएर बगरमा दौडिन थाल्यौं ।

    हिलाम्मे बगरमा दौडिँदा म तीनपल्ट लडें । हरेक पटक लड्दा अब उनीहरुले पक्रिन्छन् भन्ने सोचाई मनमा आइरह्यो । लडे पनि जुरुक्क उठ्ने, फेरि दौडिने । माथि डिलमा पुगुन्जेल जुत्ता, पाइन्ट, सर्ट, झोला सबै हिलाम्मे भइसकेका थिए । घाँटीमा भिरेको क्यामेरामा पनि हिलो लागेको थियो ।

    डिलमाथि पुग्दा समूहका तस्कर समूहमा अरु मानिस थपिएका थिए । फर्केर हेर्दा असई कुर्मी तस्कर समूहको घेरामा परेछन् । उनलाई समूहले घेरा हालेर बेल्चाले हानिरहेका थिए । एकछिनमा उनीहरुले कुर्मीलाई घिसार्दै भारततिर लगिरहेका देख्यौं । भीडमै रहेको एकजनाले ‘चौकीके थानदार साहेब हँ, छोड्दे मत् मारसन् (यो मान्छे चौकीको थानेदार हो, यसलाई छोड्देउ, नपिट)’ भनेपछि असईलाई उनीहरुले छाडे ।
    आफ्नै भूमिमा विदेशीबाट ज्यान जोगाउन भाग्न पर्नु र आँखा अगाडि एक प्रहरी अधिकृतले कुटाई खाएको देख्दा ग्लानी महशुस भइरहेको थियो । स्कुले प्रतिस्पर्धामा धेरै पटक दौडमा भाग लिएँ, केहीमा जितेका सिल्डहरु घरमा अझै छन् । तर, ज्यान जोगाउन यसरी कहिल्यै दौडिएको थिइनँ ।

    चर्को घामले प्यास बढाएको थियो । पानी खोज्दै धान खेत हुँदै गाउँको मन्दिरमा पुगें । चापाकलमा पानी खाएर रुमालले हिलो सफा गरें । केही सहज महशुस गरेपछि अफिसमा घटनाबारे जानकारी गराएँ । त्यहाँ रहेका गाउँलेले घटनाबारे थाहा पाएपछि आक्रोशित बनेर आए ।
    गाउँका अरु युवालाई बोलाएर लाठी लिएर प्रतिकार गर्न तम्सिए । लाठी नहुनेहरु नजिकैको बाँसघारीबाट बाँस काट्न थाले । हाम्रै सम्पत्ति खाएर हाम्रै मान्छेलाई पिट्ने भन्दै हातमा लाठी लिएर गाउँले खोला किनारतर्फ लम्के । केही बेर दोहोरो पिटापिट चल्यो । ४ जना घाइेत भए । त्यसको केहीबरेमा सुवर्णपुण बेस क्याम्पका सशस्त्र प्रहरी आइपुगे । उनीहरुले स्थिती नियन्त्रणमा लिएर गाउँलेलाई गाउँ फर्काए ।
    स्थानीय नेशार समानीका अनुसार एक ट्रयाक्टर बालुवा भारतमा ५ हजार भारुमा बिक्री हुन्छ । नाकाका चौकी जलेयता दैनिक ३० लाख बराबरको बालुवा भारत लगिएको छ । विगत लामो समयदेखि अवैध रुपमा बालुवा लाने गरेता पनि अहिले मधेस आन्दोलनमा प्रहरी चौकीहरु जलाइएपछि उनीहरु हौसिएको समानीले बताए । ‘विगतमा सिमित संख्यामा लाने गरेका थिए,’ उनले भने, गत सातादेखि सयौँको संख्यामा आउन थालेका छन् ।’
    नेपाली सुरक्षाकर्मीको सुराकीका लागि खोलाको डीलमा तस्करले भैँसी गोठालो खटाएका हुन्छन् । ‘यता गाउँतिरबाट सुरक्षाकर्मी आएको देख्नासाथ सुराकीले इसारा गरिहाल्छन्,’ पिडारी ५ का वीरेन्द्र महतोले भने, ‘अनि सबै भाग्छन् ।’ अवैध ओसारपसार गरेको विषयमा उक्त स्थानमा पटक पटक विवाद हुँदै आएको छ । २ वर्षअघि अवैध ओसारपसार नियन्त्रण गर्न जाँदा तस्कर समूहले प्रहरी नायव निरीक्षक (सई) गोपाल थामी, प्रहरी जवानद्वय सुरेन्द्र कलवार र सुनिल रिमाललाई कुटेर हात भाँचिदिएका थिए । ‘प्रहरीको हतियार समेत लुटेरा लगेका थिए,’ स्थानीय सञ्चारकर्मी ओमप्रकाश चौधरीले भने, ‘पछि सम्झाई बुझाई गरेपछि हतियार फर्काए ।’

    सुरक्षा स्रोतका अनुसार दुई देशीय सीमासुरक्षा बैठकमा ओरिया खोलाको अवैध उत्खननबारे नेपाली पक्षले चासो साथ ध्यानाकर्षण गराउँछन् । ‘नेपाली भूमिमा जबरजस्ती प्रवेशमा रोक लगाइने भारतीय सुरक्षा अधिकारीले पटक पटक प्रतिबद्धता समेत जनाएका छन,’ ती स्रोतले भने, ‘तर, कार्यान्वयन हुँदैन ।’
    राज्य कमजोर हुँदा आफ्नै सम्पत्ति विदेशी लुटेर खाँदा निरिह बनेकोमा पिडारीवासीले ग्लानी प्रकट गरेका छन् । दिनभरि त्यही गाउँमा बसी साढे ४ बजे बल्ल प्रहरी टोलीसँग वीरगञ्ज फर्किएँ ।  by ekantipur.com


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: [रिपोर्टरको डायरी] बालुवा तस्करले लखेट्दा‍... Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top