-

  • नयाँ खबर

    04 May, 2015

    गरीब देशका धनी मन्त्री : भूकम्प पीडितलाई केही नदिने ?' चन्दा दिने व्यापारी, नेताको काम कुम्ल्याउने मात्र '

    २१ वैशाख, काठमाडौं । नेपालका २२ मन्त्री र दुई राज्यमन्त्रीमध्ये प्रधानमन्त्री सुशील कोइराला सबैभन्दा गरीब छन् । भूकम्प पीडितलाई दिनका लागि सर्वहारा वर्गका प्रधानमन्त्री कोइरालासँग आफ्नो निजी सम्पत्ति केही पनि छैन । उपप्रधानमन्त्री वामदेव गौतम पैसा नकमाउने हैनन्, तर हाउजिङ व्यवसायी सुधीर बस्नेतबाट ५० लाखमा डुबेका छन् ।
    Sushil Koirala 5
    प्रधानमन्त्री कोइराला गरीब भए पनि दुई दर्जन मन्त्रीहरुमा केही मन्त्रीको व्यक्तिगत सम्पत्ति र जग्गा जमीन यति धेरै छ कि, व्यक्तिगतरुपमा पीडितलाई निकै ठूलो धनराशी सहयोग गरेर अरुलाई हौसला दिन सक्ने अवसर मन्त्रीहरुमा छ । तर, नेपालका मन्त्रीहरु पैसा र सुनका धनी भएर पनि मनका गरीब ठहरिएका छन् ।
    त्यसो त मन्त्रीहरुले भूकम्प पीडितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिसकेका छन् । मन्त्री परिषद सदस्य र सचिवालयका कर्मचारीहरुले उद्दार कोषमा १९ लाख १७ हजार ४ सय २९ रुपैयाँ जम्मा गरेका छन् । तर, यो पैसा राज्यबाट मन्त्रीहरुले पाउने रकमबाट प्रदान गरिएको हो, मन्त्रीले राजनीतिमा लागेर कमाएको व्यक्तिगत धनबाट उनहिरुले भूकम्प पीडितलाई एक पैसा पनि दान घोषणा गरेका छैनन् ।
    चुनाव आउँदा नेताहरुले व्यापारीसँग चन्दा माग्छन् । अहिले भूकम्पको विपत्तिमा पनि तिनै उद्योगी व्यवसायीहरुले मन खालेर सहयोग गरिरहेका छन् । उपेन्द्र महतो, राजेन्द्र खेतान लगायतले एकमुष्ट १०/१५ करोड सहयोग गरेका छन् । व्यक्ति र संस्थाहरुले पनि सहयोग गरिरहेका छन् । तर, यो नियम मन्त्री र नेताहरुलाई लागू हुँदैन ।
    नेपालका मन्त्रीहरु आफ्नो गोजीबाट भूकम्प पीडितलाई सहयोग गर्न नसक्ने हैसियतमा छैनन् । तर, उनीहरु मनका लोभी देखिएका छन् । उनीहरु बैंकमा पैसा थुपारेर बसेका छन् ।
    कसको सम्पत्ति कति ?
    प्रकाशमान सिंह
    प्रकाशमान सिंह
    उपप्रधान एवं संघीय मामिला मन्त्री प्रकाशमान सिंहसँग ६५ तोला सुनचाँदी र हिरामोती छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा साढे ४ लाख, एभेरेष्टमा ६४ हजार, र श्रीमती सिजना सिंहका नाममा अढाइलाख रपैयाँ मन्त्री सिंहको बैंक ब्यालेन्स छ । विभिन्न फाइनाइन्सहरुमा करिब १९ लाखको शेयर धन छ । के उपप्रधानमन्त्री सिंहले यसबाट दुई/चार लाख रुपैयाँ भूकम्प पीडितलाई दिने घोषणा गर्न सक्दैनन् ?
    काठमाडौं १६ मा दुईवटा घर, काठमाडौं ४ मा अपार्टमेन्ट र बालाजुमा ३२ रोपनी जग्गा रहेका मन्त्री सिंहले व्यक्तिगत तर्फबाट भूकम्प पीडितलाई एक पैसा पनि राहत घोषणा गरेका छैनन् ।
    त्यसैगरी काठमाडौं, काभ्रे र नुवाकोटमा गरी सय रोपनीभन्दा बढी जग्गाजमीन जोडेका अर्थमन्त्री डा. रामशरण महत पनि धनी मन्त्रीका रुपमा चिनिन्छन् । काठमाडौंमा मन्त्री महतको अढाइतले घरका साथै बेग्लै अपार्टमेन्ट समेत छ । धापासीमा एक रोपनी र बूढानीलकण्ठमा दुई रोपनी जग्गा परिवारका नाममा किनेका डा. महतले व्यक्तिगत रुपमा भूकम्प पीडितलाई केही राहतको घोषणा गर्ने हो भने समग्र नेपालीमा दान गर्ने भावना विकास हुन सक्छ ।
    भूकम्पको विपत्ति आएका बेला यतिबेला अर्थमन्त्री डा. महत विदेश भ्रमणमा छन् । यसरी विदेश भ्रमणजाँदा राज्यबाट लिने भत्ता उनले हिमालय बैंक ठमेलमा राख्ने गरेका छन् । सो बैंकमा मन्त्री महतले ४ हजार डलरभन्दा बढी रकम जम्मा पारिसकेका छन् ।
    मन्त्री महत र उनका परिवारका सदस्यका नाममा विभिन्न बैंकमा ५१ लाख भन्दा बढी रकम मौज्दात देखिन्छ । तर, मन्त्री महतले राष्ट्रमा यत्रो विपत्ति पर्दा भूकम्प पीडितका नाममा आफ्नो व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँसम्म पनि दिने घोषणा गरेका छैनन् ।
    डा. रामशरण महत
    डा. रामशरण महत
    टेलिकम, बैंक र वीमा कम्पनीहरुमा मन्त्री महत र परिवारका सदस्यहरुको लाखौंको शेयर छ । देशको अर्थमन्त्री भइकन पनि हिमालय बैंक र इन्भेष्टमेन्ट बैंकमा मन्त्री महतको शेयर छ ।
    तर, यति धेरै धनी मन्त्रीले विदेश विपतिका बेला विदेश भ्रमणवापत गरीब देशबाट डलरमा भत्ता बुझिरहेका छन्, आफ्नो तर्फबाट पीडितलाई दिनुपर्छ भन्ने सोचेका छैनन् ।
    सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल अर्का गरीब देशका धनी मन्त्री हुन् । मोरङको दुलारीमा मन्त्री रिजालको ८ बिगाह खेत छ ।
    नविल बैंकमा मन्त्री रिलाजको करिब ४७ हजार डलर छ । ७० तोला सुनका धनी रहेका रिजाल र परिवारका सदस्यका नाममा एभरेष्ट, स्डाण्डर्ड चार्टर बैंक र मञ्जुश्री फाइनाइन्समा करिब १२ लाख रूपैयाँ छ ।
    तर, सरकारका प्रवक्ता रिजालले आफ्नो व्यक्तिगत तर्फबाट भूकम्प पीडितलाई एक पैसा सहष्योग गर्ने तत्परता देखाएका छैनन् ।
    डा. मीनेन्द्र रिजाल
    डा. मीनेन्द्र रिजाल
    शिक्षामन्त्री चित्रलेखा यादव र उनका आफन्तको खातामा ५० लाखको हाराहारीमा सम्पति छ । जग्गा जमीन र सुनसमेत यादवसँग प्रशस्तै छ ।
    मन्त्री विमलेन्द्र निधीकी पत्नी अनामिका उपासकका नाममा हिमालयन बैंकमा करिब ३८ लाख रुपैयाँ छ । काठमाडौंको भीमसेनगोलामा घर रहेका निधी पनि गरीब देशका धनी मन्त्री हुन् ।
    त्यस्तै १६ लाख बैंक मौज्दात रहेका वनमन्त्री महेश आचार्य पनि धनी मन्त्री हुन् । शहरी विकास मन्त्रीको खातामा पनि २१ सय डलर र लाखौं नेपाली रुपैयाँ बचत छ ।
    सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वाणिज्य बैंक र एभरेष्ट बैंकमा २३ लाख रुपैयाँ राखेका छन् भने पत्नी विमला महतका नाममा २६ लाख रुपैयाँ बैंकमा मौज्दात छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीको खातामा करिब ५ लाखभन्दा बढी मौज्दात छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको खातामा १० लाखभन्दा बढी बचत छ । उर्जामन्त्री राधा ज्ञवालीसँग करिब २० लाख रुपैयाँ नगद मौज्दात छ ।
    लालबाबु पण्डित
    लालबाबु पण्डित
    त्यस्तै भूमिसुधार मन्त्री दलबहादुर रानाको खातामा पनि ४/५ लाख रुपैयाँ देखिन्छ । खेलकूद मन्त्री पुरुषोत्तम पौडेलको खातामा भने ५० हजार भन्दा कम छ । उनले हेटौडामा २० लाखको घर जोडेका छन् । कृषिमन्त्री हरिप्रसाद पराजुलीको खातामा करिब २० लाख नगद मौज्दात छ । अरुलाई १० लाख रुपैयाँ ऋण दिएका सिंचाइमन्त्री एनपी साउदकी पत्नी ज्योत्स्ना साउदकोे खातामा १० लाखभन्दा बढी बचत छ ।
    समाज कल्याण मन्त्री नीलम केसी र उनका श्रीमान सीपी मैनालीका नाममा विभिन्न बैंकमा करिब १४ लाख रुपैयाँ बचत देखिन्छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उनका आफन्तको खातामा २५ लाख भन्दा बढी नेपाली रुपैयाँ र करिब ५ लाख अमेरिकी डलर मौज्दात देखिन्छ ।
    नीलम केसी
    नीलम केसी
    पर्यटनमन्त्री दीपकचन्द्र अमात्यको खातामा ३३ लाख मौज्दात छ । उद्योगमन्त्री महेश बस्नेतका बुबाको खातामा ७ लाखभन्दा बढी मौज्दात छ ।
    होटल मस्र्याङ्दीका मालिकसमेत रहेका श्रममन्त्री टेकबहादुर गुरुङ ५० तोला सुन र १३ लाख बैंक मौज्दात छ । अर्का राज्यमन्त्री गिरीबहादुर केसीले श्रीमतीका नाममा करिब ४७ लाख रुपैयाँ बैंकमा जम्मा पारेका छन् । श्रीमती विजया केसीले नोकरी गरेर कमाएको मन्त्री केसीले बताएका छन् ।
    नबिल बैंकबाट १ करोड श्रण लिएकोमा सुधीर बस्नेतले ५० लाख डुवाइदिएका गृहमन्त्री वामदेव गौतम भने ऋणमै छन् । यद्यपि पत्नीका नाममा करिब ४१ लाखको व्यवसायिक लगानी र शेयर लगानी देखिन्छ ।
    नेपालका मन्त्रीहरुको यस्तो आर्थिक अवस्थालाई विश्लेषण गर्दा उनीहरुले पनि नेपाल जनताले जस्तै आफ्नो गाँस काटेर भूकम्प पीडितलाई सहयोग गर्दा कसो होला ? गरीब देशका धनी मन्त्रीहरुले आफ्नो गोजीबाट दान दिने उदारता देखाउने हो भने अरु जनतालाई पनि सहयोग गरौं भन्ने भावना जागृत हुने थियो कि ? यो बहसको विषय हुन सक्छ । By : onlinekhabar.com


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: गरीब देशका धनी मन्त्री : भूकम्प पीडितलाई केही नदिने ?' चन्दा दिने व्यापारी, नेताको काम कुम्ल्याउने मात्र ' Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top