-

  • नयाँ खबर

    16 May, 2015

    भूइँचालोमा ४ सरकारी संयन्त्र : जसले सबैको मन जिते, टेलिकम, रेडियो नेपाल, अस्पताल र सुरक्षाकर्मी

    टेलिकम, रेडियो नेपाल, अस्पताल र सुरक्षाकर्मी

    काठमाडौं । हामीमध्ये धेरैले भन्ने गर्थ्यौं सरकारी संस्थाभन्दा निजी कम्पनीहरुको काम गराइ छिटो र प्रभावकारी हुन्छ । तर, यसपालिको महाभूकम्पले यो आमधारणालाई खण्डित बनायो । विपदका बेला सरकारी संयन्त्र नै प्रभावकारी हुँदारहेछन् भन्ने स्पष्ट भएको छ ।
    नेपाल टेलिकमले ६ दिनसम्म जनतालाई निशुल्क मोबाइल फोन सुविधा दिइरहँदा प्राइभेट सेवा प्रदायकचाँहि रेडक्रसको लोगो दुरुपयोग गरेको आरोप खेपिरहेका छन् ।
    सरकारी सञ्चारमाध्यमलाई पनि यसअघि निकै नै उडाउने गरिन्थ्यो । तर, यसपालि रेडियो नेपालले जनतालाई छिटो सूचनामात्रै प्रदान गरेन, सरकारप्रति निजी सञ्चारमाध्यमले भन्दा बढी आक्रामकता देखाएर पीडितहरुको उद्धारमा सरकारलाई झक्झकाउने काम गर्‍यो ।
    त्यसैगरी सरकारी अस्पतालहरुले दिएको सेवा उदाहरणीय रह्यो । निजी अस्पतालहरु चाहिँ अहिले पीडितसँग पैसा असुलेको आरोप खेपिरहेका छन् ।
    भूकम्पपछि चारवटा सरकारी संयन्त्रले खेलेको भूमिका यस्तो देखियो :
    नेपाल टेलिकम
    Tudikhel shelter (32)
    गुणस्तरीय सेवा नदिएको भन्दै आलोचित हुँदै आएको नेपाल टेलिकम भूकम्पको समयमा भने भरपर्दो सहयोगी बन्न पुग्यो । विपतको समयमा उपभोक्तालाई निःशुल्क रुपमा राम्रो सेवा दिएपछि अहिले टेलिकम सबैबाट प्रशंशित कम्पनी बनेको छ ।
    भूकम्प पीडित उपभोक्तालाई राहत पुगोस भनेर टेलिकमले ६ दिन निःशुल्क सेवा प्रदान गर्‍यो । प्राइभेट कम्पनीले भने उपभोक्तालाई सहुलियत दिन लोभ गरे ।
    भूकम्प गएको दिन वैशाख १२ गतेदेखि १७ गते मध्यरातसम्म टेलिकमले एक अर्ब ४६ करोड रुपैयाँ बराबरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कल, एसएमएस तथा डाटा सेवा निःशुल्क उपलब्ध गरायो ।
    अहिले राहत र पुनःनिर्माणमा पनि टेलिकमले मोटो रकम सहयोग गर्ने घोषणा गरेको छ । ‘भूकम्पको क्षतिका अगाडि हाम्रो सहयोग नगन्य हुनसक्छ’ टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद अचार्यले भने-‘अहिलेको अवस्थामा सानो सहयोगले पनि सरकारलाई राहत तथा उद्दार र पुनर्निर्माणमा सहयोग पुर्‍याउँछ भन्ने हाम्रो विश्वास छ ।’
    तत्काल राहत उपलब्ध गराउन टेलीकमले २५ करोड रुपैयाँ प्रदान गरेको छ भने ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरु पुनर्निर्माणमा एक अर्ब रुपैयाँ खर्चिने घोषणा गरेको छ ।
    जनताले तिरेको पैसाबाट यति ठूलो सहयोग गरेर टेलिकमका अधिकारीहरुले राम्रो काम गरेका छन् ।
    भूकम्पको समयमा देशैभर मोबाइल नेटवर्क चुस्त बनाउन टेलिकमका कर्मचारी दिनरात नभनी खटेको प्रबन्ध निर्देशक आचार्य बताउँछन् । ‘आपतका बेलामा दूरसञ्चार सेवा झनै चुस्त हुनुपर्छ भन्ने मान्यतालाई पछ्याएर हामी सेवा प्रवाहमा केन्दि्रत भयौं’ उनले भने ।
    विपतका बेलामा सबैले सहयोगी हात अगाडि बढाउनुपर्ने भन्दै आचार्यले टेलिकमले सामाजिक हिसावबाट सहयोग गरेको दाबी गरे ।
    टेलिकम नेपाली जनताको कम्पनी भएको हुँदा आपत विपतका बेलामा जनताको सहयोगी बन्नुपर्ने आचार्यको भनाइ छ ।
    टेलिकमले ल्यान्डलाइन तथा सि-फोन फिक्स्ड सेवामा वैशाख महिनाको न्यूनतम महशुलमा थप सय कल निःशुल्क गरेको छ भने एडीएसएल सेवामा वैशाख महिनाका लागि एक हप्ताको अवधि थप गरेको छ ।
    रेडियो नेपाल
    Radionepal
    निजी सञ्चार माध्यमहरुको संख्या बढेसँगै सरकारी सञ्चार माध्यमहरुको प्रभाव कम भएको धेरैलाई लागेको थियो र यो एक हदसम्म सही पनि देखिन्थ्यो ।
    तर, यो संकटको बेलामा रेडियो नेपालले खेलेको भूमिका निकै प्रशंंसनीय रहृयो । मानिसहरु भागाभाग गरिरहँदा रेडियो नेपाल भने २४ घन्टे अपडेटमा रह्यो ।
    रेडियो नेपालले जनतालाई सूचना दिन कुनै कसर बाँकी राखेन । धेरै मानिसका लागि भूकम्पको समयमा रेडियो नेपाल सूचनाको साथी बनेको थियो ।
    ‘भूकम्प गएको ३/४ मिनेटभित्रै भूकम्पबारे कुरा गर्न थाल्यो । प्रस्तोताले हामी तपाईको साथमा छौं भन्दा तपाई हामीले टेकेको धर्ती हल्लिरहेको थियो । तर, कसैले साथमा छौं भन्नु निकै महत्वपूर्ण थियो’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले अनलाइनखबरसँग भने ।
    रेडियो नेपालले ऐतिहासिक कार्यभार पूरा गरेको सञ्चारका विज्ञहरुले बताएका छन् । रेडियो नेपालले यसबेला सार्वजनिक सञ्चार माध्यमको भूमिका मात्र निर्वाह गरेन, राहत र उद्धारमा नागरिकसँगसँगै रहने प्रयास गर्‍यो ।
    यद्यपि क्षण-क्षणमा प्रसारण गरिने सूचना तथा सञ्चारमन्त्रीका भनाइ र बेला बेला प्रस्तोताका प्रश्नहरु निकै लामो हुनु जस्ता सुधार गर्नुपर्ने पक्ष पनि देखिएको गाउँलेले बताए ।
    भूकम्पका बेला अन्य सञ्चारमाध्यमको भन्दा रेडियो नेपाल र निजी एफएमहरु जनताका साथी बने । यसमा पनि सरकारी सञ्चारमाध्यमका रुपमा रहेको रेडियो नेपालको भूमिका अरुको भन्दा प्रभावकारी रह्यो ।
    सरकारी अस्पताल
    hospital (26)
    विनाशकारी भूकम्पमा परी झण्डै १८ हजार मानिस घाइते भएको सरकारी तथ्यांक छ । धेरै घाइतेहरु सरकारी अस्पतालमा छन् भने निजी अस्पतालहरुले पनि निःशुल्क उपचार गरिरहेका छन् ।
    भूकम्पपछि घाइतेहरुको उपचारमा सरकारी अस्पतालहरुले उल्लेख्य भूमिका खेले । अस्पतालभित्र बिरामी राख्ने ठाउँ नभएको अवस्थामा पाल टाँगेर समेत उपचार गरिएका दृश्यहरु धेरै देखिए ।
    तर, निजी स्वास्थ्य संस्थाहरु पैसा बढी लिएको लगायतका विषयमा आरोपित भए । केही अस्पतालले मौकामा चौका हान्न चन्दासमेत उठाए ।
    सरकारी अस्पताललाई बेवास्ता गरिरहेका बेला आएको विपतिले हामीलाई गतिलो पाठ पढायो । नेपालको सबैभन्दा पुरानो वीर अस्पताल र शिक्षण अस्पतालका साथै पाटन अस्पतालको सेवा उल्लेख्य रह्यो । सैनिक र प्रहरीका अस्पतालहरुले पनि अहोरात्र काम गरे ।
    सुरक्षा निकाय
    APF
    विनाशकारी भूकम्पमा सबैभन्दा प्रशंसनीय काम सुरक्षा निकायले गरेको छ । भूकम्पपछिको पराकम्पन भइरहँदा सुरक्षाकर्मीहरु आफ्नो घर परिवारको वास्ता नगरी भग्नावशेषहरुमा जीवितै उद्धारको प्रयासमा जुटे ।
    प्रकोपका बेला उद्धारमा जुट्नु आफ्नो देशभित्र गर्ने सबैभन्दा ठूलो काम थियो र उनीहरुले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निभाएका छन् ।
    यस्तो विपतका बेला सुरुको २४ घन्टामा जतिको उद्धार गर्न सकिन्छ, त्यही नै हो । यद्यपि १२८ घन्टापछि पनि जीवितै उद्धार गर्न सफल भए सुरक्षाकर्मीहरु ।
    ‘उनीहरुको मार्फत जति जोगाउन सकिन्थ्यो, जोगाइयो । आफ्नो घर भत्किएको छ, कार्यालय भत्किएको छ’ पूर्वरथी बालानन्द शर्माले अनलाइनखबरसँग भने-त्यसलाई त्यागेर जनताका लागि जान्छु भनेर गए र आफ्नो जिम्मेवारी निभाए ।’
    स्रोत र साधनको सीमितताका बाबजुत सैनिक र प्रहरीहरु परिचालित भए । उनीहरु तालिम प्राप्त थिए र त्यसलाई सदुपयोग गर्दै धेरैको उद्धार गरे ।
    सशस्त्र प्रहरीको अगुवाइमा १२० घन्टापछि पेम्बा लामाको जीवितै उद्धार भयो । त्यसअघि जुन केसी र ऋषी खनालको उद्धार अर्को प्रशंसनीय काम थियो ।
    नेपाली सेनाले भूकम्पमा परेको २२ घण्टापछि भक्तपुरमा ५ महिनाको शिशु सोनिल अबालेले जीवितै उद्धार गर्‍यो, जसले सबैको ध्यान तानेको थियो ।
    नेपाल प्रहरीको अगुवाइमा भूकम्पमा परेकी गोंगबु कृष्णकुमारी खड्काको १२८ घन्टापछि जीवितै उद्धार सफल भएको थियो ।
    विदेशबाट आएका सेना र तिनका कुकुरहरुको आहारमा करोडौं खर्च भयो, तर यस्तो बेलामानेपाली सुरक्षाकर्मी दाजुभाइहरुचाँहि भोकभोकै काममा खटिए, अहिले पनि खटिइरहेका छन् । विश्वभर शान्ति सेना र उद्धारमा खटिने नेपाली सुरक्षाकर्मीहरुको यो योगदानलाई अब राज्यले कसरी सम्बोधन गर्छ, त्यो राजनीतिक नेताहरुले निर्णय गर्न बाँकी छ ।
    सेना प्रहरीका हामिकहरु राजधानीमा आफ्ना डेराडण्डा सार्न सरकारी साधनको दुरुपयोग गरिरहेका बेला तल्लो दर्जाका जवानहरु आफ्नो परिवारसम्म भन्न नपाई भग्नावशेष उधिनिरहेका थिए । कुनै विदेशी सेना, राजनीतिक दलका कार्यकर्ता वा प्राइभेट सेक्युरिटी कम्पनीको भन्दा राष्ट्रसेवकको यो भूमिका स्यालुट गर्न योग्य देखियो ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भूइँचालोमा ४ सरकारी संयन्त्र : जसले सबैको मन जिते, टेलिकम, रेडियो नेपाल, अस्पताल र सुरक्षाकर्मी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top