-

  • नयाँ खबर

    28 February, 2016

    प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवाद

    महाविनाशकारी भूकम्पले बिचल्लीमा परेका भूकम्पपीडितलाई खुला आकाशमुनि राखेर आठ वर्षसम्म बन्न नसकेको संविधान हतारहतार जारी गरिएलगत्तै भारतको अघोषित नाकाबन्दीले गोरखा भूकम्पसमेतसमेत ओझेल पर्न थालेको छ । भूकम्पका मारमा परेकालाई नाकाबन्दीले प्रभाव पारेको छ । उद्योग, कलकारखाना, स्कुल, कलेजमात्रै होइन, हिँडडुल गर्नसमेत समस्या परेको छ ।
    पवनराज फुयाल
    कोही आफ्नै देशविरुद्ध नाकाबन्दी गर्दै सीमानाकामा धर्ना दिने त कोही आ–आफ्नै राज्यको माग गर्दै आन्दोलन र देशभरि फैलिएको हिंसाले राष्ट्रियता नै हल्लिएको स्थितिलाई नियन्त्रणमा लिने उद्धारकर्ताको अवतारमा प्रकट भए एमाले अध्यक्ष केपी शर्मा ओली । खासगरी माओवादीको विरोध गर्न उखान–टुक्कामा भाषण गर्न माहिर ओली माओवादी अध्यक्ष प्रचण्डको आडमा प्रधानमन्त्री बन्न पुगे । त्यो पनि भारत र नाकाबन्दीविरोधी राष्ट्रियताको कित्तामा जसले हिजोका मण्डलेदेखि आजका क्रान्तिकारी कहलाइने शक्तिलाई एकजुट गराएको थियो ।
    अधुरो र अपूरो संविधान जारी भएको खुसीमा नजलेका दीपावलीका दीप केपी ओलीले प्रधानमन्त्री बन्दा जलाएका थिए । किनकि यहाँ सवाल थियो उही राष्ट्रियताको । यसपछि राष्ट्रवादीबीच राष्ट्रियता यति लोकप्रिय भयो कि जताततै साइकलमा चढिन्छ तर झुकिँदैन, गुन्द्रुक र ढिँडो खाइन्छ तर झुकिँदैन । गोर्खाली मर्छ तर झुक्दैन आदि–आदि भावनाका राष्ट्रवादी नाराले जनतामा केही हदसम्म एकताको सन्देश फैलायो । जनता अभाव झेल्दै गए । ग्यासको सट्टा दाउरामा खाना पकाए । महिनौंसम्म पैदल हिँडे । कालोबजारी खेपे । अस्पतालमा औषधि नहुँदा रोगसँग पनि डराएनन् । आखिर केका लागि रु उही राष्ट्रियताका लागि रु राष्ट्रियताकै लागि भूकम्पले घरवारविहीन बनेर सडकमा बास बसेका जनताले राहत पनि नखोजी राष्ट्रियताकै लागि चुपचाप सहिरहे । त्यतिमात्रै होइन, ओलीले जनतालाई उत्साहित र खुसी राखिरहन एक वर्षमै लोडसेडिङ अन्त्य गरिदिने र घर–घरमा ग्यासको पाइप जोडिदिन आश्वासन दिन पनि भ्याए । जनताले त खोजेकै यही हो तर कसरी सम्भव छ त भन्ने जिज्ञासा राख्नेलाई मजाकमा उडाइदिएर गर्नै दिएनन् भनेर तुरुन्तै उखानमै टार्न खोजे ।
    तर, जनताले उनको राष्ट्रवादलाई त्यसै समर्थन र आत्मसात् गरेका होइनन् । जनताले गोर्खाली स्वाभिमानलाई बचाउन ओली सरकारले नाकाबन्दी गरेर तेल, खाद्यान्न र औषधि नदिई हामीलाई दुःख दिने भारतलाई जिलल्याउँदै चीनबाट भए पनि ग्यास, तेल र औषधि आपूर्ति गरेर राष्ट्रियता झुक्न दिँदैनौ भनेर दृढता व्यक्त गरे । तर, ओली र उनको बोली सधैं उही पुरानै आलटाल, ढिलासुस्ती र अन्य स–साना कुरा अनि उखानटुक्कामै सीमित भयो । विभिन्न कार्यक्रममा हास्यास्पद टुक्का सुनाउने हास्यकलाकारका रूपमा उपस्थित हुनुभन्दा केही उपलब्धि देखिएन ।
    जनताले समेत भारतले जे भन्यो त्यही मानेर झुक्दैनौ, तिमी पनि नझुक्नू भनेर ओलीको बोलीमा लोली मिलाउँदा परिस्थिति जटिल बने पनि एक÷दुई नाका खोलेर पेट्रोल नसके ग्यास या कम्तीमा खाद्यान्नसम्म अस्थायी रूपमै किन नहोस् चीनबाट ल्याएर महँगोमै भए पनि जनतालाई दिन सकेको भए त्यो असली राष्ट्रवाद हुन्थ्यो ।
     खासगरी ओलीको भारतविरोधी ‘सेन्टिमेन्ट’ र मधेस मामिलामा अत्यन्तै कडा अभिव्यक्तिकै कारण स्थिति गम्भीर र जटिल हुन पुगेको हो । तर, यस्तो अटल राष्ट्रवाद त्यो पनि कुरामा मात्रै सीमित भएको चरितार्थ भएको छ । भारतसँगको सम्बन्धलाई कूटनीतिक तवरले छलफल गर्ने प्रयास गरेको देखिएन । हालैको भारत भ्रमणक्रममा पनि भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक रूपमा नाकाबन्दी र नेपालको संविधानबारे सकारात्मक निष्कर्षमा नपुगेको संयुक्त प्रेस वक्तव्य नआउनुबाटै छर्लंग भएको छ । यसबाट पनि राजकीय सम्मानले मख्ख ओलीका लागि व्यक्तिगत रूपमा भ्रमण अत्यन्तै सफल र उनकै भाषामा केही समयदेखि दुई देशबीचमा रहेको ‘मिसअन्डरस्ट्यान्डिङ’ समाप्त भएको कुरा गलत साबित भएको छ । नरेन्द्र मोदीले आजसम्म नेपालको संविधानले सबैलाई खुसी बनाउनुपर्छ भन्नुभन्दा बढी नाकाबन्दीको विषयमा एकपटक पनि सार्वजनिक रूपमा बोलेका छैनन् । ओलीले नेपाल र भारतबीच रहेको असमझदारी हटेको घोषणा गर्न खै त नाकामा सहज रूपमा आवागमन सुचारु भएको रु खै जनताले सहज रूपमा इन्धन र खाद्यान्न पाएको रु भारत जानुअघि ओलीले राष्ट्रहितविपरीत सम्झौता गर्दिनँ भनेअनुसार नै त केही गरेनन् तर ४६ सदस्यीय जम्बो टोलीमा गएका ओलीले ८० मेगावाटको ढल्केबर प्रसारण लाइन उद्घाटन गरे । अझै केही वर्षभित्रमा अरू ६ सय मेगावाटे बिजुली किन्ने सम्झौतामा समेत हस्ताक्षर गर्न भ्याए । के यसरी नै केही समयमै लोडसेडिङ अन्त्य गर्न खोजेका हुन् त ओलीले रु के यही हो आत्मनिर्भर बनाउने ओलीको राष्ट्रवाद रु
    मधेसीलाई दुई÷चारवटा आँपको संज्ञा दिने ओलीलाई लागेको होला मधेसीलाई घुँडा टेकाएर नाकाबन्दी हटेको तर यसरी कुनै सरकारी सकारात्मक सहभागिता र हस्तक्षेपविना आन्दोलन मत्थर देखिनु सहज देखिँदैन । एकातिर मधेसी जनतामा साँच्चिकै नेपाल सरकारले हामीलाई थिचोमिचो गरेको रहेछ भन्ने भ्रम फैलिएको छ । अर्कातिर मधेसी नेताहरू खुलेआम विहारका नेतासँग आशिर्वाद थापेर भित्री रूपमा मधेसमा बिस्तारै स्वतन्त्र मधेसको आगो दन्काउन खोजिरहेका छन् । यसमा पनि ओलीको केटौलेपन र अरू जिम्मेवार पक्षको ध्यान पुगेको पाइँदैन । यस्तो जटिल विषयमा पनि ओलीको एकोहोरो सतही राष्ट्रवाद हाबी छ ।
    प्रधानमन्त्रीज्यू कुराभन्दा काममा ध्यान दिए बेस हुने थियो । गोरखा भूकम्प गएको वर्ष दिन बित्न लाग्दासमेत भूकम्पपीडितले आश्वासनभन्दा केही पाएकै छैनन् । कहिले पुनःनिर्माण प्राधिकरण विवाद त कहिले नाकाबन्दीलाई दोष दिँदै उनीहरूलाई पीडामाथि पीडा दिइएको छ । बरु उनी धरहरा बनाउन सहयोग घोषणा गर्छन् तर जनताको घर बनाउन किन ढिलासुस्ती । राष्ट्रपतिले एक महिनाको तलब पशुपतिनाथलाई दान दिने तर गोरखाको लाप्राक तथा बारपाकमा हिउँमा कठ्यांग्र्रिएकालाई न्यानो दिन किन आनाकानी ? - रातोपाटि
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवाद Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top