-

  • नयाँ खबर

    29 February, 2016

    प्रमुख पार्टी कार्यालयका कर्मचारी कति तलब खान्छन् ?

    •  कांग्रेस
     काठमाडौं,१७ फागुन– लोकतान्त्रिक प्रणालीमा राजनीतिक पार्टीले नै मुलुकको नेतृत्व सम्हाल्ने पद्दति हुन्छ । मुलुकको शासन प्रशासनको नेतृत्व लिएर नयाँ र आधुनिक प्रणालीमा ढाल्ने राजनीतिक पार्टीहरुका केन्द्रीय कार्यालयका प्रशासनिक ब्यवस्था भने गैर ब्यवसायिक छन् । संसदको दोस्रो ठूलो पार्टी एमाले बाहेक कुनै पनि पार्टीमा कर्मचारीको छनौट,  ब्यवस्थापन, सेवा सुविधा र शर्त अपारदर्शी छन् ।
    एमालेले भने पार्टी सदस्य मध्येबाटै कर्मचारी भर्तीको खुला आमन्त्रण गर्छ र सरकारी सरहको सेवा सुविधा दिन्छ अनि स्थायी नियुक्ति दिएका सबै कर्मचारीलाई संचयकोषको सुविधा सहित हरेक महिनाको २५ गते बैंक खातामा तलव दिन्छ । अन्य पार्टीहरुको कर्मचारी ब्यवस्थापन गैर ब्यवसायिक र भद्रगोल देखिएको छ । कतिपय पार्टीले त कर्मचारी प्रशासन नै नभएको र कर्मचारीको सेवावारे भन्न नसकिने वताए । संसदमा प्रतिनिधित्व गर्ने मुख्य ५ पार्टी, कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका केन्द्रीय कार्यालय चलाउने कर्मचारीको ब्यवस्थापन कस्तो छ रु उनीहरुको सेवा सुविधा कसरी निर्धारण गरिएको छ ?
    • कांग्रेस

    नेपालको पुरानो मानिएको र संसदको पहिलो राजनीतिक दल रहेको नेपाली कांग्रेस पार्टी मात्रै पुरानो होइन कर्मचारी र कार्यकर्ता ब्यवस्थापनमा पनि पुरानो नै देखिएको छ । सबैभन्दा ठूलो तर, अब्यवस्थित पार्टीका रुपमा कांग्रेसको कर्मचारी ब्यवस्थापनले देखाएको छ । अन्य पार्टीको तुलनामा कांग्रेस केन्द्रीय कार्यालयमा धेरै स्टाफ छन् ।  कांग्रेस केन्द्रीय कार्यालयमा २१ जना कर्मचारी कार्यरत छन् । पार्टी कार्यालय सानेपामा कार्यरत तीमध्ये कसैको  जागिर स्थायी छैन । तल्लो तहमा पियन देखि माथिल्लो तहमा सहसचिव र मुख्यसचिवसम्म कांग्रेस कार्यालयमा छन् । मासिक ८ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म कांग्रेसका कर्मचारीले तलब थाप्ने गरेका छन् । कार्यालय सचिव प्रदिप पराजुलीका अनुसार ती सबै कर्मचारी अस्थायी हुन् । ‘सबेै कर्मचारी अस्थायी हुन्’ उनले भने ।
    कांग्रेस कार्यलयमा कार्यरत सबै कर्मचारी पार्टी सदस्य छन् । कांग्रेसको कर्मचारी रहेका कार्यकर्ता पार्टीमा काम हुन्जेल काम गर्छन् । पार्टीबाट पाएको भन्दा  राम्रो सेवा  सुविधा अन्यत्र पाए उनीहरु कार्यालयको जागिर छोडेर हिंड्छन् । पराजुलीका अनुसार नेपाली कांग्रेसले कर्मचारी कल्याणकारी कोषको व्यवस्था गरेको छ । भैपरी आउने समस्या टार्न त्यही कोषबाट खर्च गरिने गरेको उनले वताए ।
    ‘कल्याणकारी कोषले अप्ठयारो पर्दा सबैलाई सहयोग गर्छ’ कार्यालय सचिव पराजुलीले भने, ‘तर कर्मचारीका लागि संचयकोष या अन्य सुविधा भने छैन ।’ कांग्रेस ठूलो पार्टी भएकाले आम्दानी पनि राम्रै छ । सांसदबाट लेवी, मन्त्री राजनीतिक नियुक्ति क्रियाशील सदस्यता लगायतबाट पार्टीलाई आम्दानी हुने गरेको छ । त्यही रकम पार्टीको कार्यलयमा पनि खर्च हुने उनले बताए ।
    • एमाले

       

     संसदको दोस्रो ठूलो पार्टी नेकपा एमाले अन्य पार्टीहरुको तुलनामा एमाले बढी नै व्यवस्थित देखिन्छ । पुरानो पार्टी कार्यालय बल्खुमा भए पनि बैशाख १२ गते गएको भुकम्पले भवन भत्किएपछि  अहिले नयाँ कार्यालय धुम्बाराहीमा सारिएको छ । कार्यालयको सबै काम धुम्मबाराहीस्थित कार्यालयमै हुने गरे पनि बल्खुको  कार्यालयमा पनि तीन जना स्टाफ कार्यरत छन् । बल्खु र धुम्बाराही गरेर एमालेसँग १३ जना कार्यालय स्टाफ  छन् । 
    एमाले कार्यालयमा काम गर्ने सबै कर्मचारी स्थायी भएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । उनका अनुसार एमालेमा कर्मचारीलाई पनि सरकारी मापदण्ड अनुरुप नै ब्यवस्थापन गरिएको छ ।  एमालेले लोकसेवाको जस्तै  प्रणालीका आधारमा कर्मचारी नियुक्त गर्छ । ‘कर्मचारी राख्दा खुला सूचना आव्हान गरेर, लिखित र अन्तरवार्ता लिइन्छ’ कार्यालय सचिव श्रेष्ठले भने, ‘योग्यता र क्षमता जाँचेर नियुक्ति दिइन्छ तर आवेदन दिन आउने कर्मचारीले पार्टीको सदस्यता भने लिएको हुनुपर्छ ।’
    एमालेले यसरी नियुक्ती पाएका  कर्मचारीलाई संचयकोष सहित सरकारी कर्मचारी सरह विदा र सेवा सुविधा दिएको  छ । एमालेमा सबैभन्दा पुराना  कर्मचारी शान्ति श्रेष्ठ २४ बर्षदेखि कार्यरत छिन् भने चार पाँच बर्ष अघिदेखि कार्यरत नयाँ कर्मचारी पनि छन । न्युनतम १०  हजार रुपैयाँ देखि २१ हजार सम्म एमालेले कर्मचारीलाई तलव खुवाउँछ । हरेक महिनाको २५ गते तलव कर्मचारीको बैंक खातामा जम्मा गरेको छ ।
    सेक्युरिटीगार्ड,  गार्डेनर र इलेक्ट्रिसिटीमा कार्यरत कर्मचारी भने एमालेले करारका आधारमा राखेको छ । कार्यलय सचिव श्रेष्ठका अनुसार एमालेले कर्मचारीमा दलित, जनजाति, महिला, मधेशीको समावेसी मापदण्ड पनि अपनाएको छ । ‘नियम अनुसार नै समावेशी पनि अपनाइएको छ, कार्यालयको नियम पनि पूर्ण रुपमा ब्यवसायिक बनाएका छौं’ श्रेष्ठले भने, ‘कार्यालय समय कर्मचारीले पुरै समय कार्यालयलाई नै दिनु पर्छ ।’
    एमालेले प्रधानमन्त्री, मन्त्री, सांसद र पार्टीको सिफरिसमा नियुक्त भएका नेता कार्यकर्तालाई अतिरिक्त लेबि तोकेर आम्दानी गर्ने गरेको छ । जसमा प्रधानमन्त्रीले मासिक २५ हजार, उपप्रधानमन्त्रीले १६ हजार, मन्त्री र राज्यमन्त्रीले १४ हजार, सांसदले १३ हजार र राजनीतिक नियुक्ति लिने कार्यकर्ताले तलबको १० प्रतिशत लेवी पार्टीलाई बुझाउने ब्यवस्था मिलाएको छ । यस्तै पार्टी सदस्यता शुल्क  एमालेको आम्दानीको मुख्य स्रोत हो ।
    • एमाओवादी 

       

    दर्शवर्ष यद्धको नेतृत्व गरेको र शान्ति प्रक्रिया हुँदै सरकारको समेत नेतृत्व गरेको एमाओवादी संसदको तेस्रो पार्टी हो । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हाल १४ जना  कर्मचारी कार्यरत छन् । त्यहाँ कार्यरत कर्मचारीलाई न्युनतम १२ हजार देखि बढिमा २५ हजार रुपैयाँसम्म पारिश्रमिक दिने ब्यवस्था गरेको कार्यालय सचिव प्रकाश पोखरेलले बताए । 
    तर एमाओवादीका कार्यालयमा कार्यरत सवै कर्मचारी अस्थायी हुन् । पार्टी अफिसमा कार्यरत कर्मचारीका लागि अतिरिक्त कुनै सुविधा छैन । गाह्रो  साह्रो हँुदा पार्टीले सामान्य उपचार खर्च ब्यहोरिदिने भएकाले तलव बाहेक अन्य अतिरिक्त सुविधा कर्मचारीलाई नभएको कार्यालय सचिव पोखरेले वताए ।
    सबै कर्मचारी पार्टीकै कार्यकर्ता भएकाले कर्मचारी फेरिइरहने पनि उनले वताए । ‘सबै कर्मचारी पार्टीकै कार्यकर्ता हुन्, लामो समय कार्यालयमा बसेर काम गर्दैनन्’ पोखरेलले भने, ‘त्यसैले आवश्यकता अनुसार कर्मचारी फेरिइन्छन् ।’ माओवादी पार्टी कार्यालयमा कार्यालय  सहायकदेखि माथिल्लो तहमा सचिव पदसम्म रहेका छन्  । त्यहाँ काम गर्ने कर्मचारी अपाङ्ग, युद्धका घाईते र महिला भएको सचिव पोखरेलले वताए । त्यहाँ कार्यरत अस्थायी कर्मचारीका  लागि पनि पार्टीको  नियमित आम्दानी लेवी, मन्त्री र सांसदले बुझाउने लेवी, सदस्यता नविकरणबाट  लिने गरिएको बताए । 
    • राप्रपा नेपालः 

    राप्रपा नेपाल पनि  संसदको चौथो ठूलो शक्तिका रुपमा चिनिएको  छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा १० जना कर्मचारी कायरत छन् । न्युनतम मासिक ६ हजार ५ सयदेखि अधिकतम १४ हजार रुयैयाँसम्म तलब  लिने कार्यालय सचिव कर्ण माझीले वताए । उनका अनुसार सवै कर्मचारी अस्थायी हुन् । कर्मचारीका लागि केही सुविधा नभए पनि रापप्रा नेपाल अति नै प्रजातान्त्रिक ढंगबाट चलेको कर्मचारी बताउँछन् । कार्यालयमा व्यवसायिक स्टाफ छैनन् । ‘काम हुञ्जेल गर्छन् नभए छाडेर पनि गएका छन्’ माझीले भने, ‘विगतको तुलनामा अहिले पार्टीले आम्दानी पनि राम्रै गरेको छ ।’ अहिले सांसद, मन्त्री, केन्द्रीय सदस्यको लेवी उठ्ने गरेको छ । त्यसैलाई पार्टीको खर्चमा प्रयोग गर्ने गरेको पनि उनले बताए । 
    • लोकतान्त्रिक फोरमः

    मधेशी जनाधिकार फोरमको कार्यालयमा ५ जना कर्मचारी छन् । १५ हजारदेखि बढिमा ४५ हजार रुपैयाँसम्म तलब दिने गरेको कार्यालय सचिव परमानन्द मेहताले बताए । तीनकुनेमा रहेको पार्टी कार्यालयमा कार्यरत कर्मचारी सबै अस्थायी भएको उनले बताए । तर, अस्थायी भए पनि दशैं विदा या बिरामी हुँदा पाटीले सहयोग गर्ने पनि मेहताले वताए । कार्यालय समयमा सबैले विहान दश देखि चारबजेसम्म बस्नै पर्ने हुन्छ । सात बर्षअघि राखिएका सबै कर्मचारी हालसम्म कार्यरत छन् । मन्त्री, सांसदको लेवी र सदस्यता शुल्क, चन्दा संकलन लगायत आम्दानीको स्रोत भएको उनले बताए ।  कविता अधिकारी - चक्रपथ
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रमुख पार्टी कार्यालयका कर्मचारी कति तलब खान्छन् ? Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top