-

  • नयाँ खबर

    09 February, 2016

    कोखको भ्रूणमा आक्रमण गर्ने जिका भाइरस ! के हो जिका भाइरस ? लक्षणहरू !

    २०७२ माघ २६
    दक्षिण अमेरिकी देशहरूमा यतिबेला जिका भाइरस फैलिएका कारण त्यहाँका नागरिकहरूलाई यसबाट सचेत रहन आग्रह गरिएको छ । हालसम्म ल्याटिन अमेरिकाका २० भन्दा बढी देशका हजारौं नवजात शिशुमा जिका भाइरसको संक्रमण भैसकेको बताइन्छ । उक्त भाइरसले कोखभित्रको भ्रूणमाथि आक्रमण गर्ने र जन्मिएको शिशुमा अपांगतालगायतका गम्भीर स्वास्थ्य समस्या देखा पर्ने बताइन्छ । यसले गर्भावस्थ शिशुको मस्तिष्कको विकास रोकिदिन्छ । संक्रमित शिशुको टाउकाको आकार अस्वभाविक रुपमा सानो वा ठूलो हुनुका साथै सुस्त मनस्थितिका हुन्छन् र उनीहरूको ज्यानै जाने सम्भावना पनि हुन्छ । त्यसैले चिकित्सकहरूले जिका भाइरसबाट संक्रमित महिलाहरूलाई शिशु नजन्माउन सुझाव दिएका छन् भने गर्भवतीहरूलाई गर्भ तुहाउन सुझाव दिइएको छ ।
    पहिलो पटक सन् १९४७ मा जिका भाइरस युगान्डाको भिक्टोरिया तालनजिकैको जिका जंगलको एउटा बाँदरमा पाइएको थियो । नाइजेरियामा सन् १९५४ मा यो रोग पहिलोपटक मानिसमा फेला पारियो । त्यसपछि यो अफ्रिका, दक्षिणपूर्वी एसिया तथा प्यासिफिक आइल्यान्डका विभिन्न क्षेत्रमा पाइएको थियो । पछिल्लो पटक ब्राजिलमा सन् २०१५ को मे महिनामा पहिलो पटक जिकाको लक्षण देखिएको थियो । अहिले दक्षिण अमेरिकाकी देशहरूमा यसले महामारीको रूप लिएको छ ।
    ब्राजिलले यसै वर्ष अगस्टमा रियो द जेनेरियोमा ओलम्पिकको आयोजना गर्दैछ । त्यसैले त्यतिबेलासम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेन भने यसले ओलम्पिक आयोजनालाई नै प्रभावित तुल्याउने अनुमान गरिएको छ ।
    • के हो जिका भाइरस ?
    जिका एडिस एजिप्टाई नामक पोथी लामखट्टेको टोकाइबाट सर्ने भाइरस हो । जिकाबाट संक्रमित लामखुट्टेले टोकेको अवस्थामा यो भाइरस मानिसमा प्रवेश गर्छ । जिका भाइरस संक्रमित मानिसको वीर्यमा समेत सक्रिय हुने भएकाले यौनसम्पर्कबाट पनि यो भाइरस सर्ने जोखिम हुन्छ ।
    • जिकाका लक्षणहरू
    जिका भाइरसबाट पीडित केही व्यक्तिमा खटिरा र ज्वरोको समस्या देखिन सक्छ, तर प्राय: मानिसमा कुनै पनि संक्रमण देखिँदैन । जिका भाइरसका कारण मानिसको ज्यानै जाने खतरा भने न्यून मानिन्छ । यसको प्रत्यक्ष लक्षण केही पनि देखिँदैन । संक्रमित ५ मध्ये एक जनामा मात्र यसको लक्षण देखिने हुँदा जिका भाइरसलाई खतरनाक मानिएको हो । जिका भाइरसले संक्रमण गरे सामान्य ज्वरो आउने, आँखा दुख्ने र रातो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने र खटिरा आउने जस्ता लक्षण देखिन्छन् ।
    जिकाको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । जिका भाइरस संक्रमणका लागि लामखुट्टेले टोक्नै पर्छ भन्ने पनि छैन । लामखुट्टेले अण्डा पारेको फोहर पानी प्रयोग गर्दा समेत जिका भाइरस सर्न सक्छ । त्यसैले यसबाट जोगिन स्पष्ट उपाय भनेको सफा पानीको प्रयोग र लामखुट्टेको टोकाइबाट बच्नु हो ।
    विश्व स्वास्थ्य संगठनले जिका भाइरस पनि इबोलाजस्तै विश्वव्यापी रूपमा फैलने सम्भावना देखेर त्यसका लागि आवश्यक व्यवस्था गर्ने प्रयास गर्दैछ । विश्व स्वास्थ्य संगठनका अनुसार जिका भाइरसका कारण अहिले ब्राजिलमा मात्र झन्डै १५ लाख मानिस संक्रमित छन् ।
    • उपचार छैन
    अहिलेसम्म यो रोगको उपचार पत्ता लागेको छैन । कुनै इन्जेक्सन वा औषधिको सेवनले यो रोग हट्दैन । त्यसैले बिरामीहरूलाई आराम गर्न र पर्याप्त मात्रामा झोल पिउन सुझाव दिइएको छ । सबैभन्दा ठूलो चिन्ता गर्भाशयमा हुर्किरहेका शिशुलाई लिएर छ, किनभने यो रोगको असरपछि उनीहरूको मस्तिष्कको विकास हँुदैन र टाउको सानो हुन्छ । सानो टाउकोसहित जन्मने त्यस्ता बालबालिकाको मस्तिष्कले जीवनभर राम्रोसँग काम गर्दैन । त्यसैकारण बाँचेका शिशुहरू पनि जीवनभर बौद्धिक अपांग हुन्छन् र उनीहरूको शारीरिक विकास नै सुस्त हुन्छ ।
    यसको संक्रमणपछि स्वस्थ्य जन्मने शिशुहरू पनि सानो टाउको भएको अवस्थामा जन्मन्छन् । ब्राजिलमा सन् २०१४ मा पूरै एक वर्षभर १ सय ५० जनामा मात्र यस्तो समस्या देखिएको थियो । जिका भाइरसको संक्रमण बढेपछि गत अक्टोबरपछि जन्मिएका झन्डै ३५ हजारभन्दा बढी शिशुमा यस्तो समस्या देखिएको छ । सानो टाउको लिएर जन्मिएका शिशुमध्ये ज्यान गुमाउनेहरूको मस्तिष्कमा जिका भाइरस भेटिएको छ ।
    • के गर्ने ?
    जिका भाइरसको उपचार नभएका कारण यसबाट जोगिने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो ।
    यसबाट बच्न स्वास्थ्यकर्मीहरूले यस्तो सुझाव दिएका छन् :
        लामखुट्टे भगाउने औषधी प्रयोग गर्ने
        लामो कपडा लगाउने र शरीर पूरै ढाक्ने
        घरको ढोका र झ्याल बन्द गर्ने ।
    • नेपालमा सचेतता
    जिका भाइरसको संक्रमणसँगै नेपालमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित देशमा रहेका नेपाली महिलालाई फर्कन आग्रह गरेको छ । महाशाखाले ती देशमा बसोबास गर्ने अन्य नेपाली महिलालाई तत्काल गर्भ नबोक्नेसमेत सुझाव दिएको छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कोखको भ्रूणमा आक्रमण गर्ने जिका भाइरस ! के हो जिका भाइरस ? लक्षणहरू ! Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top