-

  • नयाँ खबर

    11 September, 2016

    लैंगिक विभेद रहेसम्म बालविवाह रोकिन्न


    माधुरी महतो
    विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले सचेतनाका लागि कार्यक्रमहरु गरेको भए पनि समाजमा वालविवाहको समस्या अझै पुर्ण रुपमा रोकिएको छैन । समाजमा अझ पनि बालविवाह अप्राकृतिक, अमानवीय र असभ्य परम्पराको रुपमा जरा गाडेर रहेको छ । विभिन्न बहानामा उमेर नपुग्दै छोरीको विवाह गरिदिने प्रचलनलाई समाजका शिक्षित अगुवाहरुले पनि टुलुटुल हेरेर पचाइ दिँदा विकृतीलाई बढावा मिलेको छ । बालविवाह एकदमै गलत र गैरकानुनी हो भनेर थाहा हुँदा हुँदै पनि बालविवाह समाज विकासको सबै भन्दा ठूलो बाधक बनिरहेको छ । समाजले नै स्वीकारेको भएकोले बाल विवाह विरुद्ध एकदमै कम मात्रै उजुरी पर्ने गरेको महिला सेलको तथ्यांकले देखाएको छ ।  
    बालविवाहका कारण थुप्रै चलीहरुले अझ पनि विभिन्न पिडा भोग्नु परिरहेको छ । आफ्नै स्याहार गर्न नसक्ने उमेरका छोरीहरुलाई सिन्दुर र पोतेसँगै श्रीमान्को पारिवारिक जिम्मेवारि बोकाउने चलन अहिले पनि हाम्रो समाजमा रही आएको छ । माहिनावारी भन्दा पहिले कन्यादान गर्न पाए, नाति नातीनाको मुख हेरेर मर्न पाए धर्म हुने, कम उमेरमा विवाह गर्दा दाइजो कम लाग्ने र भोजभतेरमा आर्थिक भार कम पर्ने जस्ता पुरातन सोचले गर्दा बालविवाह हुने गरेको छ ।
    हाम्रो देशको कानूनले १६ वर्ष उमेर सम्मकालाई बालबालिका हो भनी मानेको छ । बालबालिका स्वस्थ भएर बाच्न, सर्वाङ्गीण विकास गर्न, रमाइलो गर्न, खुशी हुन पाउनु बालबालिकाको अधिकार हो । तर संस्कृतिको नाममा विकृतिलाई माया गर्ने बानीले कैयौं साना नानीहरुको भविष्य पीडामय बनाएको छ । बालविवाह गर्नु गैर कानूनी मात्र होईन । स्वास्थ्यको दृष्टिकोणले समेत घातक हो । कम उमेरमा विवाह गरिदिँदा शारिरिक एवम् मानसिक रोगको शिकार हुनुपर्ने डा.निलम चौरसियाको भनाई छ । कम उमेरमा विवाह हुँदा पाठेघरको समस्या हुने, बालिकाको शरीर पूर्णरुपमा परपिक्व नभएका कारण गर्भवती ह्ुदाँ धेरै रगत बगेर ज्यान समेत जान सक्ने अवस्था आउन सक्ने, कम उमेरमै बच्चा जन्मिदा आमाको स्वास्थ्यमा प्रतिकुल असर पर्नुको साथै साधारण बच्चा नजन्मि शारीरिक र मानसिक रुपले विकास नभएको बच्चा जन्मिने जस्ता समस्या देखा पर्छन् । जुन महिला र बच्चा दुवैका लागि हानिकारक हुन्छ । यसका साथै बालिकाले पढाई पनि पुरा गर्न सकेको हुदैन । जसको कारण उनी विवाह पछिको अवस्थाको लागि न त शारीरीक न त मानसिक रुपले तयार हुन्छिन् । महिनावारी हुदाँ कसरी बस्ने, के गर्ने, गर्भवती हुदाँ के के कुरामा ध्यान दिने ? कति वर्षको अन्तरालमा बच्चा जन्माउने ? बच्चाको स्याहार कसरी गर्ने जस्ता विभिन्न कुरामा उनलाई केही ज्ञान नहुन सक्छ । आफु स्वतन्त्रपूर्र्वक खेल्ने, खाने, पढने समयमा अरुको सबै काम गर्नुपर्ने भएकोले मानसिक रुपले बालिका रोगी हुने जस्ता समस्या दीर्घकालिन रुपमा बालिकाले भोग्नुपर्ने डा.निलम चौरसियाका भनाइ छ । 
    हो, सामाजिक अन्धविश्वासको रुपमा रहेको बालविवाह हटाउन सामाजिक क्रान्तिको आवश्यकता रहेको छ, हाम्रो समाजमा । केही महिना पहिले वीरगन्ज १ छपकैयाकी रिंकु ठाकुरको जबरजस्ती विवाह गरिदिन खोजेपछि रिंकुले विद्रोह गरेर परिवार नै छोडिन् । प्रायः गरी मधेसी समाजमा उमेर नपुग्दै बलजफ्ती विहे गर्न परिवारले दिने दवाव र यातनाको विरोधमा रिंकुले त्यस्तो कदम चालेकी थिईन् । परिवारले गरेको निर्णय अस्विकार गर्ने हिम्मत तराई मधेसका समाजमा विरलै पाईने गर्छ । रिंकु जस्ती साहसी युवतीले गरेको विद्रोह सम्भवतः मधेसी समाजमा पहिलो नै हो ।
    छोरा र छोरी दुवै बुबाआमाका लागि समान भएकोले दुवैलाई समान अधिकार पाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रहरी प्रशासनले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रहरी मेरो साथी अभियान मार्फत गाँउका अभिभावकहरु तथा खासगरी विद्यालयमा अध्ययनरत छात्राहरुलाई बालविवाह विरुद्ध सचेत गराउने काम पनि हुँदै आएको छ । बालविवाह सम्बन्धि प्रहरीमा उजुरी नपरे पनि बालविवाहका घटना हाम्रो गाँउ समाजमा अझ लुकेर रहेका पर्सा प्रहरीको भनाइ छ । सबैले सकारात्मक सहयोग गरे बालविवाहलाई कथामा सिमित गर्न सकिने पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताएका छन् । गाँउमा जा्ँदा घरबाहिर निस्किन नमान्ने , बाहिरका ब्यतिmसँग बोल्नु हुन्न भन्ने मान्यता राख्ने महिला तथा छात्राहरु यस अभियानमा खुलेर लागेका छन् र उनीहरुको मनोबल बढाउन प्रहरीले पूर्ण सहयोग र समर्थन गर्दै आएको छ । यसअघि पर्साका तत्कालिन वरिष्ठ प्रहरी उपरिक्षक सवेन्द्र खनालले विभिन्न संघसंस्थाको समन्वयमा बालविवाह विरुद्ध गाँउगाउँमा अभियान चलाएका थिए । गाँउ गाँउमा स्थानीयवासीलाई भेला गराएर विभिन्न गीत संगीत र सडक नाटक मार्फत जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिएको थियो । जसलाई प्रहरी प्रशासनले निरन्तरता दिदैँ आएको छ ।   
    बालबालिका सम्बन्धि बिशेष संरक्षण गर्न राज्यले कानून पनि बनाएको छ । जस अनुसार प्रत्येक जिल्लामा बाल बालिकाहरु माथि हुने विकृति न्यूनिकरण गर्नको लागि बाल क्लब पनि गठन भएका छन् । बाल क्लबमा आबद्ध बालालिकाहरुले १८ वर्ष उमेरमा विवाह नगरी २० वर्ष उमेर नाघेपछि र पढाई पुरा गरिसकेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता जनाएको जिल्ला बाल क्बल संजाल पर्साकी अध्यक्ष जया साहले बताइन् । यति मात्रै नभई बालविवाह विरुद्ध  बाल क्लबले सचेतना मुलक सडक नाटक गर्नुका साथै घरघरमा गएर अभिभावक र बालबालिकालाई बालविवाह विरुद्ध सचेत गराउँदै आएका छन् । गाँउ समाजमा बालविवाह हुन लागेको सूचना पाउने बितिक्कै सबैले अभिभावकलाई आग्रह गर्ने गरेको र नमानेपछि प्रहरीमा खबर गर्न पनि पछि नपर्ने बाल क्लबमा आबद्ध बाराकी सुम्निमा प्रधानको भनाइ छ ।   रोग लाग्नु भन्दा पहिले उपचार गर्नु बेस भने झै बालविवाह जस्तो कुरीतिलाई समाजबाट हटाउन सके धेरै सामाजिक समस्याको अन्त्य हुने निश्चित छ  । बालविवाह नियन्त्रण गर्न सामाजिक क्रान्ति आवश्यक छ । सामाजिक क्रान्तिका लागि चेतना अभिवृद्धि गर्नुपर्छ । बालविवाह नियन्त्रणका लागि सबैभन्दा पहिले शिक्षामा बालबालिकाको पहुँच बढाउनु पर्छ । समाजमा शिक्षाको विस्तार गर्दै जातीय विभाजन हटाउने जस्ता कुराहरुमा मानसिकता बदलेर समाजिक क्रान्ति गर्नका साथै स्थानीय निकायबाट ऐन कार्यान्वयन पक्षलाई बलियो बनाउन सके बालविवाहलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिन्छ । बालविवाहलाई विरासतको रुपमा लिएको हुनाले समाजमा चुनौतीको रुपमा रहेका लैंगिक विभेद हटायौं भने मात्र बालविवाह अन्त्य गर्न सकिन्छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: लैंगिक विभेद रहेसम्म बालविवाह रोकिन्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top