सल्मा खातुन |
मध्य नेपाल सन्देश,
नेपाल एक बहुधार्मिक, बहुजातीय, बहुसाँस्कृतिक देश भएकोले हामी नेपाली सँधै कुनै न कुनै उत्सव मनाइरहेकै हुन्छौं । अलग–अलग धर्म र समुदायका मानिसले आ–आफ्ना चाडबाड मनाउँदा अन्य धर्मका मानिस पनि त्यसमा सामेल भइरहेका हुन्छन् । यसले यहाँको वातावरण सदा हर्ष र उल्लासले भरिएको पाइन्छ ।
भदौ महिना लागेदेखि विशेष गरी चाडपर्वको मौसम सुरु भएको छ । हिन्दू धर्मावलम्बीले मनाउने रक्षाबन्धन, तीज, ऋषि पञ्चमी हुँदै ईस्लाम धर्मावलम्बीको दोस्रो ठूलो महान् चाँड ईद–उल–अज्हा पनि मुखैमा आइपुगेको छ । बक्रिद अथवा कुर्बानी पनि भनिने यस पर्वलाई अरबी भाषामा ईद–उल–अज्हा भनिन्छ । आपसी भाइचारा र मेलमिलापको पर्वको रुपमा मनाइने ईद–उल–फित्र (ईद) को ७५ दिनपछि मनाइने यस पर्वले पनि अपनत्व, सहिष्णुताको सन्देश बोकेको हुन्छ । यसलाई अल्लाहप्रतिको समर्पण र त्यागको पर्वको रुपमा समेत लिने गरिन्छ ।
अन्जुमन ईस्लामिया मुर्ली, वीरगञ्जका इमाम महम्मद अमजद हुसैन (मुफ्ती एवं काजी) का अनुसार ईस्लाम धर्मका महान् पैगम्बर (प्रवर्तक) ईब्राहिम अलैहिस्सलामले सपनामा अल्लाहको तर्फबाट एक विशेष तर अत्यन्त कठिन आदेश पाउनु भएको थियो । त्यसलाई पूरा गर्न कत्ति पनि ढिलाइ नगरेकोले उहाँको समर्पण भावबाट अल्लाह निक्कै खुसी हुनु भएपछि त्यसैको सम्झनामा यो पर्व मनाउन थालिएको हो । ईस्लाम धर्मका ग्रन्थमा उल्लेख गरिए अनुसार उमेर छिप्पिएपछि पाएको एकमात्र छोरा ईस्माइल अलैहिस्सलामको कुर्बानी गर्न (बलि दिन) पैगम्बर ईब्राहिम अलैहिस्सलामले सपनामा आदेश पाउनुभएको थियो । आफ्नो ज्यान भन्दा पनि प्यारो एकमात्र सन्तानलाई आफ्नै हातले मार्नु अत्यन्तै कठिन कार्य भए पनि अल्लाहका लागि उहाँ छोरोको सहमतिबाट कुर्बानी गर्न तयार हुनुभयो । अल्लाहको नाम लिँदै छोरोको घाँटीमा छुरी रेट्दै गए तर उनलाई केही भएन । त्यसको सट्टा जन्नत (स्वर्गबाट) पठाइएको जनावरको बलि दिइयो । यस घटनाले पैगम्बर ईब्राहिम अलैहिस्सलामको अल्लाहप्रतिको आस्था, विश्वास र समर्पण देखाएकोले ईस्लाम धर्मावलम्बी अल्लाहको लागि हरेक किसिमको त्याग दिन तयार रहून् भन्ने सन्देशका साथ सोही दिनको सम्झनामा जनावरको बलि दिन थालिएको हो । ईस्लाम धर्मावलम्बीको बसोबास रहेको सबै मुलुकहरुमा त्यहाँको उपलब्धता अनुसार तथा ईस्लाम धर्ममा अनुमति दिइएका विभिन्न जनावरहरुको कुर्बानी दिने गरिन्छ । नेपालमा विशेष गरी खसी र राँगा कुर्बानी गर्ने गरिएको छ ।
मुफती महम्मद अमजद हुसैनका अनुसार ईद र बक्रिद बीचको मुख्य फरक भनेको रोजा हो । ईदमा एक महिना अगाडिदेखि नै दैनिक रुपमा रोजा बस्ने गरिन्छ भने बक्रिदमा रोजा बस्न मनाही गरिएको छ । यस दिन नुहाई धुवाई गरी पवित्र भइ ईदगाह अथवा मस्जिदमा गई सामूहिक रुपमा २ रक्आत नमाज पढ्ने गरिन्छ । त्यपछि घर फर्केर (आफूले केही दिनमात्र भए पनि) घरमा पालेको जनावरको कुर्बानी दिने गरिन्छ । हुन त आर्थिक अवस्था कमजोर भएकाले वर्षैपिच्छे कुर्बानी गर्न सक्दैनन् । आर्थिक रुपमा सक्षम अर्थात आफ्ना आधारभूत आवश्यकता सजिलै पूरा गर्न सक्नेले भने वर्षेनी कुर्बानी गर्नु पर्दछ । आर्थिक अवस्था मजबूत भएको व्यक्तिले भने आफूसँगै परिवारका अन्य सदस्यको नाममा समेत कुर्बानी गर्ने सक्दछन् । यसमा महिला पुरुष भनेर कुनै भेदभाव गरिएको छैन । आफ्नो र परिवारको आवश्यकता पूरा गरिसकेपछि बचत गरेको पैसाले महिला–पुरुष, विवाहित–अविवाहित जोसुकैले तथा एकै परिवारका विभिन्न सदस्यहरुले आ–आफ्नो तर्फबाट कुर्बानी गराउन सक्दछन् । यसका अलावा आफ्नो परिवारका दिवंगत सदस्यहरुको नाममा समेत कुर्बानी गराउन सकिन्छ । यसरी गरिएको कुर्बानीको मासुलाई तीन भाग लगाइन्छ । ईदमा ‘सदकुल फित्र’ (आफ्नो वार्षिक आम्दानीको केही भाग) गरीब असहायका लाई दान गर्नका लागि छुट्याइए झैं यस पर्वमा त्यस मासुको एक भाग गरीबहरुमा बाँड्ने गरिन्छ, एक भाग आफ्ना आफन्त र ईष्टमित्रलाई दिने गरिन्छ भने एक भागमात्र आफूले प्रयोग गर्नुपर्ने नियम रहेको छ ।
धेरै पैसा खर्च गर्न नसक्नेले सामूहिक रुपमा पैसा जम्मा गरी राँगा र भैंसीको पनि कुर्बानी दिने गर्दछन् । यसरी कुर्बानी गर्दा एउटा जनावरको कुर्बानीमा ७ जनासम्म सहभागी हुन पाउँछन् । ईस्लामले जाँडरक्सी सेवनमा कडा प्रतिबन्ध लगाएको छ । जाँडरक्सी खानेले पवित्र मानिएको कुर्बानी गरिएको मासु खान पनि मनाही गरिएको छ । हामीकहाँ मनाइने अन्य पर्वहरुमा देखासिकी र प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेझैं ईद बक्रिदमा पनि केही व्यक्तिले अनावश्यक खर्च गर्ने गरेका छन् । ऋण काढेरै भए पनि कुर्बानी गर्नै पर्ने केही व्यक्तिको विश्वास छ । तर याद राखौं ईस्लामले आफ्नो घर परिवारलाई अप्ठ्यारो पर्ने गरी अनावश्यक खर्च गर्न अनुमति दिएको छैन । तसर्थ चाँडबाँड अरुको देखासिकी, पीर र चिन्तामा होइन, हर्ष र खुशीले मनाऔं भन्दै सबैलाई ईद–उल–अज्हाको हार्दिक शुभकामना !
0 comments:
Post a Comment