रोग नलाग्नु, बिसन्चो नहुनु वा स्वास्थ्य हुनुलाई मात्र स्वास्थ्य हुनु मानिन्न । स्वास्थ्यको अधिकारले पनि यत्तिलाई मात्र समेट्दैन । शारीरिक, मानसिक तथा सामाजिक रुपमा राम्रो हुनुलाई पनि स्वस्थ अवस्था भनिन्छ । संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ संगठनको विधान वा नीतिले पनि यो कुरालाई अंगिकार गरेको छ । यसमा नेपाल पक्ष राष्ट्र त छँदैछ ।
तथापि लोककल्याणकारी राज्यमा स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता बिषय राज्यको रेखदेख र नियन्त्रणमा हुनुपर्छ कि पर्दैन ? यहाँ सबै कुरालाई एकै पटक गिजोल्न भने खोजिएको होइन । केवल स्वास्थ्यलाई मात्र नियाल्ने हो भने मुलुक भित्र कति अस्पताल छन् ? स्वास्थ्यकर्मी कति छन् ? र भएका हरुले पनि कति जिम्मेवारी पूर्वक कार्य सम्पादन गर्दैछन् ? यत्तिलाई मात्र गम्भिर भएर हेर्ने, बुझ्ने र नियाल्ने हो भने नेपालीहरुले अस्वस्थता भित्र बाँचेको स्वास्थ्य क्षेत्र भित्रका विपन्न र गरीब नेपालीको पीडा सर्लक्क हटेर जाने थियो । यसमा राज्य गम्भिर छैन भन्न कुनै शंकोच मानिराख्नु पर्दैन । अनि जनसंख्याको तुलनामा कम रहेका स्वास्थ्यकर्मीहरु पनि राजनीतिकर्मीको भागबण्डा र स्वार्थमा सारिने र घटुवा बढुवा गर्ने निकृष्ठ चालले आम नेपालीको स्वास्थ्य सुमधुर हुने कुरा कोराकागजमा मात्र सीमित रहने नै भयो । यो कुरालाई यतिकै नकार्न सकिन्न ।
यता हाम्रोमा फेरी कथा अर्कै छ । जनसंख्याको अनुपातमा भएका स्वास्थ्य संस्थाहरु प्नि राज्य हाक्ने हुतिहाराहरुको कुण्ठाका कारण आफै नै भद्रगोल छन् । अनि आवश्यक पूर्वाधार र चिकित्सकहरु समेत तिनै हुतिहाराहरुको चाकडी गरी शहर केन्द्रित छन् । दूर्गममा जान कोही आँट गर्दैनन् । कोही जानेलाई पनि राज्यको जिम्मेवार निकाय र जिम्मेवार पक्षले सधैं उपेक्षा मात्र गरेको हुन्छ । आफ्नै वरिपरि फन्को लगाउने र सरकारी अस्पतालहरुको भित्री रस निचोर्न पल्केकाहरुको सिकंजामा सबै स्वास्थ्य क्षेत्र जकडिएका छन् । सरकारी अस्पतालहरुमा बिरामीहरुलाई जान चिकित्सकहरुले नै बारबन्देज लगाइरहेका हुन्छन् । सरकारी अस्पतालमा बडो डरलाग्दो बन्ने चिकित्सक नीजि क्लिनिकमा भगवान झै प्रस्तुत हुन्छन् । सरकारी छात्रबृत्तिमा विदेश पढ्न गएको व्यक्ति सके उतै हराउँछ । नसके मुर्मुरिदै र रन्थनिदै स्वदेश भित्रिन्छ । अनि स्वदेश भित्रिएर पनि सरकारी अस्पतालको विल्ला भिरेर नीजि स्वास्थ्य संस्थामा आफ्नो भविष्य सपार्न तम्सन्छ । अपवाद वाहेह ग्रामिण स्वास्थ्य संस्थाहरु उपचार गराउन लायक छैनन् । टाढा किन जानु मध्य तराईको नारायणी उपक्षेत्रीय अस्पताल र पर्साको पोखरिया अनि बारा जिल्ला अस्पताल हेर्ने हो भने यो भेगका नागरिकलाई उति भनिराख्नु पर्दैन । तर फेरी पनि यो क्षेत्रका नागरिकको झिनो आशाको त्राण यिनै अस्पतालमा त्यान्द्रिएको छ । यिनै अस्पताल र यसै सामाजिक परिवेशमा स्वस्थ्य मनको अपेक्षा गर्नु वाहेक आम मानिसको अर्को विकल्प पनि छैन ।
यसैले पनि आफ्नो र सन्ततिको समेत भविष्यको गोरेटो सुन्दर बनाउन स्वास्थ्य क्षेत्र भित्र छिरेको अराजकता, माफिया तन्त्रको धुलीध्वाईं र राजनीतिक फेरोको ढोका बन्द गर्न अनि स्वास्थ्यलाई राज्यको जिम्मेवारीसँग जोड्न हरेक क्षेत्रका नागरिकको सकृयता आवश्यक छ । यसो भए मात्र शारीरिक, मानसिक तथा सामाजिक रुपमा राम्रो हुनुलाई एकहद सम्म सकारात्मक भन्न सकिन्छ ।
0 comments:
Post a Comment