-

  • नयाँ खबर

    06 March, 2016

    अन्तरीक्षमा ३४० दिन बिताउँदा के के भयो ? हुँदैछ व्यापक अनुसन्धान

    अमेरिकी अन्तरीक्षयात्री स्कट केली झण्डै एक वर्षसम्म अन्तरीक्षमा बिताएर हालै पृथ्वीमा फर्किए । पूरै ३ सय ४० दिन अन्तरीक्षमा बिताउँदा केलीको सरीरमा विभिन्न खाले परिवर्तन देखिएका छन् जुन परिवर्तन पृथ्वीमै बसेको भए देखिँदैनथे ।
    अन्तरीक्षमा ३४० दिन बस्दा उनको सरीरको लम्बाइ २ इन्च बढेको छ ।नासाका अनुसार उनको त्यो जिउको स्वभाविक वृद्धि होइन, किनकी उनको उमेर छिप्पिएका कारण उचाइ बढ्न रोकिएको छ । तर अन्तरीक्षमा गुरुत्वाकर्षण नहुँदा उनको जिउ तन्किएको हो । र, उनको लम्बाइमा भएको त्यो वृद्धि अस्थायी मात्र थियो । अन्तरीक्षबाट फर्किएको दिन उनको जिउको लम्बाइ अन्तरीक्षयात्रा थाल्नुअघिको भन्दा दुइ इन्च बढि पाइएकोमा त्यसको दुइ दिनपछि पुनः नाप्दाखेरि उनको उचाइ २ इन्च घटेर पहिलेकै अवस्थामा आइपुगको छ ।
    निश्चित उमेरपछि मानिसको सरीरको उचाइ बढ्न रोकिन्छ । अझ पृथ्वीको गुरुत्वबलका कारण हाम्रो मेरुदण्डमा पर्ने दबाबका कारण पनि जिउको उचाइ बढ्ने क्रमलाई कम गरिदिन्छ । तर अन्तरीक्षको इन्टरनेसनल स्पेश स्टेशनमा गुरुत्वाकर्षण लगभग शुन्य हुन्छ र त्यसैले त्यहाँ मेरुदण्डमा गुरुत्वाकर्षण्को दबाब हुँदैन । सोही कारणले गर्दा मेरुदण्डमा केही खुकुलोपना आउँदछ र मानिसको लम्बाइ वास्तविक भन्दा केही बढ्दछ ।
    विज्ञहरुका अनुसार गुरुत्वाकर्षणको अभावमा मानिसको जिउको लम्बाइमा हुने बढोत्तरी ३ प्रतिशत सम्म हुनसक्छ ।
    अन्तरीक्षमा बस्दाको समयमा अन्तरीक्षयात्रीको सरीरमा हुने परिवर्तनको बारेमा वैज्ञानिकहरुले लामो समयदेखि अध्ययन गरिरहेका छन् । नासाले यस विषयमा अझै धेरै जानकारी प्राप्त हुने अपेक्षा राखेको छ । यसमा अन्तरीक्षयात्री केली र उनका जुम्ल्याहा भाई मार्क केलीबीच तुलनात्मक अध्ययन गरिँदैछ । मार्क पृथ्वीमै छन् भने उनका दाजु स्कट अन्तरीक्षमा लामो समय बसेर फर्किए । अन्तरीक्ष बसाइले मानिसको जिनमा पार्ने प्रभावका विषयमा अध्ययन गरिनेछ ।
    अन्तरीक्षमा गुरुत्वाकर्षण अभावको असर विभिन्न खालबाट पर्दछ । पृथ्वीमा हुँदा रगतको प्रवाह सरीरको तलपट्टि बढि हुन्छ । तर अन्तरीक्षमा भने सामान्य रक्तप्रवाहमा बाधा उत्पन्न हुन्छ र त्यसको असर टाउकोमा पर्दछ । जसका कारण आँखाको दृष्टिमा असर पर्दछ । अन्तरीक्ष बसाइका क्रममा आँखामा पर्ने असरको विषयमा जापानी वैज्ञानिक डाक्टर चिकाई मुकाईले अध्ययन गर्दैछन् ।
    टाउकोमा धेरै रक्तप्रवाहको दबाब पर्दा मानिसको स्मरण शक्तिमा पनि असर पुग्दछ । यस विषयमा अनुसन्धानको जिम्मा अमेरिकाको पेन्सिल्भेनियाका शोधकर्ता डाक्टर म्याथियास ब्यासनलरको टोलीले गर्नेछ । अन्तरीक्षयात्रीले आफ्नो अनुहार, नाक तथा छालामा क्रिम लगाइरहन्छन् र यसबाट सरीरको बाहिरी भागमा रहने ब्याक्टेरियामा हुने परिवर्तन सम्बन्धी जाँच अमेरिकाका जिववैज्ञानिक हरनन लोरेन्जीको टोलीले गर्नेछ ।
    यावत् विषयमा अमेरिकी अन्तरीक्षयात्री स्कट केली र उनीसँग फर्किएका रुसी अन्तरीक्षयात्री मिखाइल कोर्नियन्कोमाथि अबका केही वर्षसम्म अनुसन्धान गरिनेछ । स्कट तथा मिखाइलका धमनीहरुमा रक्तप्रवाहको विषयमा सन् २०२१ सम्मै नियमति रुपमा अल्ट्रासाउण्ड जाँच गरिनेछ । त्यसका उनको उनीहरुको हड्डी लगायतको पनि निरन्तर जाँच गरिनेछ र लामो समयसम्म गुरुत्वाकर्षणको अभावमा हड्डी लगायतका सरीरका भागमा पर्ने असरको गहिरो विश्लेषण गरिनेछ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अन्तरीक्षमा ३४० दिन बिताउँदा के के भयो ? हुँदैछ व्यापक अनुसन्धान Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top