-

  • नयाँ खबर

    13 November, 2016

    वीरगंजलाई बाहिर राखेर नेपालको कल्पना गर्न सकिन्न : सभापति अधिकारी

     मध्य नेपाल सन्देश 
    आफ्नो संस्थाको रजत जयन्ती मनाउने क्रममा रिलिफ सोसाइटी अफ कमर्सले समृद्ध वीरगंज ः अवसर र चुनौती विषयक विचार गोष्ठी गरेको छ । २५ औं वर्ष पूरा गरेको अवसरमा रिलिफ सोसाइटी अफ कमर्सले वीरगन्जमा शुक्रबार विचार गोष्ठी गरेको हो । विचार गोष्ठीको प्रमुख बक्ता संसदीय विकास समितिका सभापति तथा सांसद रवीन्द्र अधिकारीले राजनीतिक विकास नभएसम्म देश समृद्ध नहुने बताएका थिए । लामो समयदेखि मुलुकमा राजनीतिक अस्थिरताको कारण देश विकाससँगै वीरगंजको विकास पनि हुन नसकेको उनले बताए ।
        मधेसका अधिकांश शहरहरूको विकास नहुनुको कारण अव्यवस्थित शहरीकरण भएको उनले तर्क गरे । वीरगंजलाई बाहिर राखेर नेपालको कल्पना गर्न नसकिने भएकाले वीरगंज नगरलाई माष्टर प्लानको आवश्यकता रहेको अधिकारीले बताए । नेपालका अधिकांश नगरपालिकाले माष्टर प्लान बुझाए पनि वीरगंज नगरपालिकाले अहिलेसम्म माष्टर प्लान समेत बनाउन नसकेकामा उनले चिन्ता व्यक्त गरेका गरे । वीरगंज राष्ट्रिय महत्वको शहर भएको कारण यसको विकास गर्न राज्यले विभिन्न योजना ल्याउने तयारी गरेको उनले कार्यक्रममा प्रष्ट पारेका थिए । नेपाल सरकार तथा संसदीय विकास समिति बीच हालै सम्पन्न सहमति अनुसार निजगढ(काठमाडौं द्रुतमार्ग नेपाल सरकारले नै बनाउने सहमति भएको र ४ वर्ष सम्म समपन्न गरिसक्ने लक्ष्य रहेको उनको भनाइ रहेको छ । 
    नेपाल अब त्रिदेशीय कोरिडोरको अवधारणा अनुसार भारत र चीन जोड्ने बाटोको अवधारणा अगाडि सार्दै केरुङ र पर्सा जोड्ने सडक निर्माण प्रक्रिया अगाडि बढाउने गृहकार्यमा रहेकाले यसको मुख्य केन्द्रको हब पनि वीरगंज नै हुने उनले दाबी गरे । कार्यक्रममा बोल्दै संयोजक अधिकारीले संविधान संशोधन गर्नुपर्ने, एमालेको धारणा रहेको बताउँदै पाएको उपलब्धि संस्थागत गर्न अहिलेको आवश्यकता रहेको बताए । पहिलो संविधानसभाले संविधान नबनाउँदा बाह्य शक्ति हावी भएको र अब पाएको उपलब्धि संस्थागत भएन भने मुलुक द्वन्द्वमा फस्ने उनले बताए । 
    सो कार्यक्रमका विशिष्ट अतिथि तथा फोरम नेपालका उपाध्यक्ष तथा सांसद लालबाबु राउत गद्दीले राज्यले वीरगंजको हकमा अहिलेसम्म भेदभाव गर्दै आएको दावी गरे । पर्साबाट वीरगंज हटाएर कुरा गर्दा पर्सामा केही नरहने भन्दै उनले अब हामी मिलेर विकास गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागीहरूले विद्युत् तथा कामदार समस्याले उद्योग धराशायी बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।  वीरगंजको विकासको लागि ग्रेटर वीरगंजको अवधारणा राम्रो भएको बताउँदै कार्यान्वयन गर्न आवश्यक रहेको सहभागीहरूले बताएका थिए । वीरगंजले विकास गर्ने अवसर पाए पनि प्रतिस्पर्धा गर्न नसकेकोले पर्सा जिल्ला पिछडिएको सहभागीहरूको धारणा थियो । शिक्षा, स्वास्थ्य, सडकको अवस्था नाजुक रहेको तर देशलाई प्रत्यक्षरूपमा सबभन्दा बढी राजस्व दिने वीरगंजलाई छुट्टै योजना बनाई सरकार अगाडि बढे मात्र विकास हुने उनीहरुको तर्क थियो । वीरगंजको विकासको लागि रिङ्गरोडको आवश्यकता रहेको बताउँदै श्रीसियाँ नदीको किनारामा सडक विस्तार गरी वीरगंजको विकाससँगै अतिक्रमण र फोहर व्यवस्थापन गर्नुपर्ने स्थानीय बक्ताहरुको भनाइ छ । सो कार्यक्रममा पत्रकार चन्द्रकिशोर झा तथा जगदीश शर्माले टिप्पणी गरेका थिए । सोसाइटीका अध्यक्ष अशोक लाठको सभापतित्वमा शुरु भएको कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष अशोक टेमानी, लायन्सका अन्तर्रा्ष्ट्रिय डाइरेक्टर सञ्जय खेतान, संघका उपाध्यक्ष सुबोध गुप्ता, हरि गौतम, मनोज उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
    कार्यक्रमबारे संस्थाका बरिष्ठ सदस्य गणेश लाठले प्रकाश पारेका थिए भने प्रतिवेदन प्रस्तुति सोसाइटीका महासचिव जोगेन्द्र यादवले गरेका थिए ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजलाई बाहिर राखेर नेपालको कल्पना गर्न सकिन्न : सभापति अधिकारी Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top