-

  • नयाँ खबर

    16 October, 2016

    घटस्थापना बिशेष



    पंडित राजेन्द्र पोखरेल (शास्त्री)
    मध्य नेपाल सन्देश
    देवी भागवत महापुराण अनुसार आश्विन शुक्ल पक्ष मर्यादा पुरुषोत्तम श्री रामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरुमा निश्चित तिथिमूलक देवी–देवताहरुको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरुलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । यस दिन घण्ट कलशको स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसै घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि आत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानमा नजिकै माटोको विशुद्ध जलपूर्ण घडा –कलश) को वरिपरि नौ वटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरुपा महाकाली –संहार), महालक्ष्मी –सुरक्षा) र महासरस्वती –सृष्टि) को पञ्चोपचारले पूजा–आजा गरिन्छ । 
    ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दुर्गाहरु हुन् : प्रकति – पूर्व, चण्डिका–आग्नेय, भद्रकाली – दक्षिण, सर्वमङ्गला–वायव्य, वैष्णवी–उत्तर, शिवप्रिया – ईशान, जगदम्बिका – जल, थल र आकाश । पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरसी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रुपको क्रमशः पूजा गरिन्छ ।
    षष्ठी तिथिमा विशेष कार्य : बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । 
    सप्तमीका दिन विशेष कार्य : दशैँ घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । 
    अष्टमीमा विशेष कार्य : कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र–हातहतियारहरुको पनि पूजा गर्नुपर्छ । 
    महानवमीमा विशेष कार्य : नवदुर्गा स्वरुप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी–देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरु निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरुद्वारा समाहित गरिएको पाइन्छ । आधारहरुको कारण उपयुक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैँ पूजाको थालनी गरिएको हो । गहुँ तथा जौ को नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रि सम्म पूजा गरेर दशौँ दिन विहान टीका–प्रसाद ग्रहण गरेपछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरु प्नि निकै हुने कुरा वनौषधिविज्ञहरुको छ । जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसाद स्वरुप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरु मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुका घरघरमा र देवीका मन्दिरहरुमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । शङ्ख, डमरु, घण्टी आदि बजाइ दुर्गा सप्तशती चण्डी, स्त्रोत्र रत्नावली, कालीको स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । 
       पूजा गरिसकिए पछि प्रत्येक दिन बली चाहीँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विद्यानमा उल्लेख गरिएको छ । पुजक अनुसार बली दुई प्रकारको हुन्छ । श्रौत यज्ञानुसारको पशु वली र साकाहारीहरुले प्रदान गर्ने नरिवल, उखु, कुभिण्डो आदि स्मार्तवली । वली प्रदान गरिसके पछि यस वर्षको दशैँ विधिवत रुपमा समापन गरिन्छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: घटस्थापना बिशेष Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top