– रसना ढकाल
मध्य नेपाल सन्देश
“ढुंगालाई आकार दिएर सिलौटा, जातो बनाउँछौ तर हाम्रो जीवनको आकार जस्ताको त्यस्तै छ । न त हामी फेर्न सक्यौ न त राज्यले नै ।” यो हो बीरगन्जको छपकैया निवासी ४५ वर्षीय सकुन्तला थेवईको पिडाको वास्तविकता चित्रण । जो आफनो पुर्खौली पेशा सिलौटा जातो बनाउने कामलाई निरन्तरता दिदै आईरहेकी छन् ।
२२ वर्षिय राजा थेवईको पिडा पनि उस्तै छ । दिनरात मेहिनेत गरेपनि आम्दनी भने उस्तै हुने गरेको उनको भनाई छ । उनी भन्छन्(“आम्दनी अठनी ,खर्च रुपैयाँ यो भोजपुरीको उखानजस्तै आफनो जीवनमा पनि हुने गरेको छ । ” पुर्खेयौली पेशाले जीवन धान्न गाह्रो भएपनि यसैको सहाराले भएपनि गुजारा चलाईरहेको उनीहरुको साझा धारणा छ ।
वीरगंज उप(महानगरपालिका वडा नं २ छपकैयाको मेनरोडमा बसोबास गर्ने यि थेवई जातिका समुदाय वर्षौ देखि पूर्खौली पेशा सिलौटा, जातो बनाउने कामलाई निरन्तरता दिई रहेका छन । तर अर्कोपाटो तिर हेर्ने हो भने यिनिहरुको दैनिकी कष्टकर पनि बन्दै गइरहेको छ, कारण आधुनिक समयमा सिलौटाले गर्नु पर्ने काम सबै विधुतिय मशिनले गर्न थालेपछि आफनो पेशानै लोपउन्मुख हुन थालेको उनीहरुलाई चिन्ताले सताइरहेको छ ।
भारतको गोरखपुरबाट आजभन्दा ७० वर्ष पहिले वीरगंज आएर बसेका यि थेवई जातिहरु हाल ३ घरमा सिमित छन् । सुरु देखि अहिलेसम्म भाडाको जग्गामा बस्दै आईरहेका यि जाती झण्डै लोपउन्मुख हुन लागेका छन भन्नु पर्दा दुइमत नहोला । वर्षै देखि सिमाभित्र वीरगंजमा बसोबास गर्दै आइरहेका यि समुदायले नेपाली नागरिकता प्राप्त गरिसकेका छन् । तर अरु नेपाली नागरिक जस्तो हैसियत यिनीहरुले प्राप्त गर्न सकेका छैनन ।
यिनको कलालाई टिकाउन न त राज्यले नै उनीहरु निर पुगेको छ, न त चाहेजस्तो काम गर्न नै यिनीहरु सकेका छन् । हिजोको दिनपनि बासको टाटमा यिनिहरुको जीवन बित्यो आजको दिनपनि यहि गुजारा हुदैछ । कयौँ दशकको वर्षायाम, जाडो याम वित्यो हाम्रो अवस्था जिउयुको त्यही नै रहेको यिनिहरु गुनासो पोख्छन् । सिलौटा जातो बनाएर महिनाको ५ हजार सम्म जति कमाई गर्न सक्ने यो परिवारले ३ हजार सम्म जग्गा धनीलाई नै तिर्नुपर्ने राजा थेवईले बताए । बाँकी पैसाले आफनो आवश्यकता पुरा गर्नुपर्ने बाध्यता छ ।
आफनो कलालाई टिकाई राख्न पनि गाह्रो रहेको उनीहरु बताउँछन् । सिलौटा, जातो व्यवसायको विस्तार नभएकोले गाउँहरुमा भारतियहरु सिलौटा जातो बेच्ने गर्दछन् तर हाम्रै ठाँउका नेपाली सिलौटा त्यस स्थान सम्म पुग्न नसकेर जीवनस्तर उकास्न सकेको छैन् ।
स्थानीय स्रोत साधनलाई उपयोग गर्दै विभिन्न ढुङ्गालाई सिलौटा र जातोका आकारमा ढाल्ने यि जातीको कलालाई के राज्यले विर्सजन नै गर्ने हो त ? भन्ने प्रश्नमा पर्साका प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे भन्नु हुन्छ, स्थानीय निकायले यस विषयमा ध्यान पुराउनु पर्छ, उहाँहरुको जीवन उकास्न र उत्पादन गरिएका बस्तुहरुलाई बजार प्रवद्र्धन गर्न कसरी सकिन्छ यस तर्फ ध्यान जान जरुरी छ । अहिलेको समयमा यस विषयमा खासै कसैको पनि ध्यान पुगेको छैन आगामी दिनमा म पनि यसलाई हेर्छु । परम्परागत रुपमा उत्पादन हुदै आएका वस्तुहरुलाई उद्योगको रुपमा ढाल्न सकियो भने उहाँहरुको जीवनस्तर पनि उस्किन सकिन्छन् र राज्यलाई पनि यसबाट फाइदा हुन्छ ।
३ घरलाई लक्ष्ति गर्दै सरकारले केहि वर्ष पहिले खानेपानीको कल जडान गरेको थियो । आजको दिनसम्म आउदा पनि त्यहि कलको साहरामा उनीहरु तिर्खा मिटाउन बाध्य छन् । राज्यका विकासको बजेटले जताततै ढाकेको हुन्छ तर त्यस समुदाय निर कुनै बजेट पुग्न सकेको छैन । छेवैमा नेपालको ढोकाको रुपमा प्रख्यात रक्सौल नाका पर्छ, त्यहि मेनरोड हुदै दिनमा लाखौ ठूलाबडा व्यक्ति ओहर दोहर गर्छन तर यि समुदायको जीवन स्तरनिर कसैको पनि आखा पुग्न सकेको छैन् । कुनैपनि विकासका योजना यो समुदाय निर पुगेको छैन । उप(महानगरपालिका भित्र बसोबास गर्ने यि समुदायको घर आगनमा किन विकासको बजेट पुग्न सकेको छैन भन्ने प्रश्नमा वीरगंज उपमहानगर पालिकाका सामुदायिक विकास शाखा अधिकृत सुनिल कर्ण भन्नु हुन्छ, बजेट निर्माण हुदा वडा भेला हुन्छ त्यस भेलामा उहाहरुको उपस्थिती नहुनु, वा आउन नसक्नु यो पनि कारण बन्न सक्छ ।
राज्यले नागरिकलाई समान दृष्टिले हेर्ने गर्दछ, जहाँ विकासका कुरा हुन्छन त्यहाँ उहाहरुकोे पहुँच नपुग्न पनि सक्छ त्यसैले निकट भविष्यमै हुन लागेको विकास बजेटको तर्जुमामा उहाँहरुलाई आफनो वडामा जसरी पनि सहभागि गराउने उपमहानगरपालिका प्रतिबद्धता छ ।
0 comments:
Post a Comment