माधुरी महतो, |
मध्य नेपाल सन्देश,
परवानीपुर जितपुर सडक छेउमा फुसको घर बनाई बसेको जातिमा दलित कहलाउने सोमरीया देवी डुमको परिवार । विगत २५ वर्षदेखी त्यही सडक छेउको ऐलानी जग्गामा बस्दै आएका छन् ।
सम्पतीको रुपमा केही छैन । बासको टोकरी बनाई बेच्नु बाहेक केही काम नहुँदा आएको आम्दानीबाट जसोतसो घर खर्च टार्दै आएपनि कहिले खान पाईएको छ भने कहिले भोकभोकै सुत्नुपरेको अवस्था छ सोमरीया देवीको परिवारको । सोमरीयादेवी डोमले खाली पेट सुत्नु नपरोस भनेर बाँसको टोकरी बनाएर बेच्छिन् तर वर्षायाममा त्यसको बिक्री पनि ह्वातै कम हुन्छ । अनि शुरु हुन्छ उनको अभावको जीवन ।
एक त ऐलानी जग्गा । त्यसमा पनि बासको टोकरी बनाएर बेच्ने बाहेक अरु कुनै काम नभएपछि घर खर्च टार्न समस्या पर्दै आएको छ सोमरीया देवीलाई । बनाएको बासको टोकरी पनि सिजन अनुसार विक्री हुन गरेकोले गुजारा चलाउन साहै गाहो पर्ने गरेको बेला बनाएको टहराले घाम पानी छेक्न नसक्ने अवस्थामा पुगेको बताउछिन् उनी । चारजना छोराछोरी छन्। गरिब आमाबाबुको कोखबाट जन्मिनुको बिडम्बना उनी पढाईबाट पनि बन्चित छन्। त्यसको पीर पनि छ सोमरियादेवी डोमलाई तर त्यो भन्दा पनि उपचारको अवसर नपाएरै ज्यान गुमाउनु पर्ने चिन्ता। विरामी हुँदा ‘डुम जाती हो गरीब छ पैसा फिर्ता दिदैन’ भनेर सरसापटी पनि कसैले नदिने उनको दुखेसो छ।दुख पर्दा हाम्रो पनि कोही छन् भन्ने कहिले महशुश भएन , त्यती मात्र नभई ऐलानी जग्गााबाट कुनै बेला पनि हटाईदिन्छन् भन्ने कुराले झन् झन् पिरोल्छ भन्छिन् उनी ।
आर्थिक समस्याले ग्रस्त जिवनको बाटोमा मनमा पिडाको थुप्रो र आँखामा आशु बाँच्न गाहो भएको बेला अन्य जातीका ब्यतिmहरुले डुम जाती हो भनेर हेप्ने गरेको उनको भनाई छ । विरामी हुँदा कसैले डुम जाती हो गरीब छ पैसा फिर्ता दिदैन भनेर कसैले सहयोग नगर्ने गरेको उनको दुखेसो छ । विरामी पर्दा अस्पताल लैजान पनि नसकिने अवस्था छ उनको परिवारको ।
एकातिर बिरामी श्रीमानको पीर त्यसमाथि अत्यास थपिदिने घटना उनले प्रत्यक्ष देख्नु परेको थियो । त्यो कहाली लाग्दो पारिवारिक विडम्बना सम्झिँदै सोमरीयादेवी भन्छिन् ,मेरो २ जना भाई औषधी उपचार गराउन नसकी मरे । अहिले पनि मेरो बुढालाई समस्या छ । औषधीको पैसा कसैले दिदैन । खुट्टमा घाउ भएको थियो त्यसपछि क्यान्सर भयो अनि त्यसपछि मरे दुवै जना ,औषधी गराउन सकीएन पैसा पुगेन । मेरो एक जना भाउजु पनि क्यान्सरले वित्नु भयो । उपचारको लागि अस्पताल लग्यौँ तर पैसा थिएन ,औषधी गराउन सकिएन फिर्ता लिएर आयौँ । भन्छिन् डुम डुम जाती भनेर हेप्नु र भेदभावको भावना राख्नु भन्दा पनि कही कतैबाट सहयोगी हात अगाडी आईदिए आफुहरु पनि अरु सरह खुशी खुशी जिवन बाँच्न पाउने आशा सोमरीया देवीले गरेकी छन् ।
भनिन्छ खुशी बाँडदा बढ्छ, दुख बाँडदा कम हुन्छ । तर सोमरीया देवी डोमको पीडा गाँठो परेर बसेको छ । २५ वर्ष भईसक्यो ऐलानी जग्गामा सोमरीयादेवीको परिवारले बसोबास गरेको र आफनो जग्गा जमिन पनि छैन उनको परिवारसंग । गरीबको दुख कसैले हेर्दैनन् की कसरी बाँचिराछन् , कस्तो दुखमा छन् , कस्तो समस्यामा छन् भनेर नमिठो अनुभव पोख्छिन् उनी । यस्तै दुखेसो छ पर्साको लालपर्सा गाविसको एलागी जग्गामा बसोबास गर्दै आएको डोम परवारको । डोम जाती हो पानी पनि छुनु दिनुहुन्न भन्ने जस्ता भनाई सुन्नुपर्ने त अवस्था छ नै जहिले एक ठाउँबाट अर्को ठाउँमा सर्नुपर्ने भएको कारण सधै सास्ती खेप्नु परेको उनीहरुको भनाई छ । बासँको टोकरी र बेना बनाएर कहिले सम्म गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ उनीहरुलाई ।
तराईमा अधिकार र अवसरको निम्ति ठूलै आन्दोलन भयो । तर त्यसबाट आफ्नो जीवनमा कुनै परिवर्तनको अनुभूति गर्न नपाएकी उनलाई कुनै दल वा नेताप्रति विश्वास र आस्था छैन । तर सोमरीया देवी डोमलाई सुख र सम्पन्नताको खोजी छैन् । तर उनी आफैलाई असम्भव लाग्ने आशा चाँही के हो भने, समाज र राज्य उदार भइदिए ‘गरिब जिन्दगीको,गह्रुँगो भारी’ उनीजस्ता निर्बलीयाले पनि उचाल्न सक्थे कि ।
0 comments:
Post a Comment