-

  • नयाँ खबर

    16 October, 2016

    महिलाको हकमा कामगर्दा अपहरणसम्मको पीडा


    कविता खड्का,
    मध्य नेपाल सन्देश, 
    महिलालाई सचेत गराउन र महिला अधिकारको बारेमा आवाज उउठा भनी कसैलाई अपहरण सम्म गरिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यो कुरा अब अचम्मकाो रहेन । राज्य र गैर राज्यपक्षले महिलाहरुको समृद्धिको लागि लाखौं रकम खर्चेर महिला सचेतना र अधिकारको कुरा गरिरहेको भए पनि महिलाको आवाज बोल्नेलाई अपहरण गर्ने सम्मको हर्कत गरिनु कहाँसम्मको न्याय संगत छ ? यस्तो घटना टाढाको नभई नजिकै रहेको बाराको नर्मदा अधिकारी माथि नै घटेको पाइएको हो । 
    २०६१ साल कार्तिक मोक्षदा एकादशीका दिन उनलाई अपहरण गरी बन्धक बनाइएको उनले पनि स्वीकारिन् । महिलाहरुलाई सचेतना नदिने तथा महिला अधिकारको बारेमा बहस नगर्ने शर्तमा अपहरणकारीले आफूलाई छोडेको उनले मध्य नेपाल सन्देशसँग बताइन् । आफूलाई अपहरण गर्नेहरुले गाउँका महिलाहरुलाई अधिकारको बारेमा वकालत नगर्ने, समूह गठन गराई महिला अधिकारको बारेमा कुरा नगर्ने शर्तनामा छोडिका थिए यसलाई के भन्ने ? उनले तर्क गरिन् । अपरहणकारीले यो कुरालाई जसरी जोड दिएका थिए, त्यो कुरालाई नर्मदाले भने गम्भिर रुपमा लिनेभन्दा पनि आफू अपहरण भएकै दिनको सम्झनामा अहिले मोक्षदा महिला कृषि सहकारी संस्था दर्ता गरेर महिलाहरुलाई सक्षम तथा आत्म निर्भर बनाउने काममा अझ दरिएकी रहिछन् । अपहरण गरी गाउँका महिलाहरुलाई आफ्नो अधिकारका लागि बोल्न र अगुवाई गर्न मनाही गर्ने भनिए पनि उनको महिलाका अधिकार प्रतिको मोहले विराम लिएको रहेनछ । यसबाट अतालिने र उनको डाह गर्नेहरुले फेरी २०७१ साल असोज १४ गते राति ११ बजे नर्मदा र उनका श्रीमान्लाई समेत घरबाहिर बोलाएर सर्वस्वहरण सहित गाउँ निकाला गर्ने चेतावनी दिएछन् आफैले सिप सिकाएका २५ जना महिलाका श्रीमान्हरुले पनि । यो कुराले भने उनलाई निकै खिन्नता महसुस भएको पुरानो याद सम्झदै उनले बताइन् । आफू माथि भएको अन्यायलाई प्रहरीमा लिएर जाँदा प्रहरीले समेत दिएन । पछिल्लो समयमा उनले राम्रो कार्य गरेको देख्न नचाहनेहरुले दुःख दिन बिभिन्न बाहानामा अख्तियारमा सात वटा मुद्घा दर्ता गराएकोले हरेक मुद्दाको विषयमा नर्मदाले १५रु१५ दिनमा प्रतिवेदन बुझाउनु परेको बुझिएको छ । समाजमा सकारात्मक कार्य गर्दा पनि यसरी दुःख झेल्नु पर्दा समेत पछाडी नफर्की निरन्तर अघि बढ्नु सत्य, निडर र साहसीक व्यक्तिका लागि मात्र सम्भव हुन्छ उनलाई नजिकबाट चिन्नेले भने । 
    २०६५ सालमा नेपाल शिक्षक संघ बाराको उपाध्यक्ष समेत भई महिलाहरुलाई कृषि पेशामा आकर्षित गर्न जिल्ला विकास समिति बारा, जिल्ला शिक्षा कार्यालय बारा, जिल्ला कृषि विकास कार्यालय बारा, भूमिगत जलश्रोत जस्ता कार्यालयहरुमा पहल गरी ४५ वटा बोरीन मेशिन, २५ वटा धारा १५ वटा ढिकी पम्प,९ वटा पम्प सेट, ५ वटा मटर, १वाटा ट्रेक्टर, ल्याई प्रत्येक समूहलाई वितरण गरी मनहर्वा बारामा कार्यक्रम संचालन भएको उनकै  सक्रियतामा भएको मनहर्वाका महिलाहरुले पनि बताए । बारा जिल्लाको पिलुवाका महिलाहरुले जग्गा पलटिंङ्ग गरी बेचबिखनमा लागेर मनग्य आम्दानी गरेको श्रेय पनि उनी माथि नै गरेको पाइन्छ । महिलाहरुको नाममा लाल पूर्जा बनाउने अभियान संचालन गर्दा त्यहाँका धेरै महिलाहरुले आफ्नो नाममा लालपूर्जा बनाएको पनि त्यहाँका महिलाहरुको बताए । यो अभियान संचालन गर्न भने निकै कठिनाई सामना गर्नु परेको थियो । महिलाको नाममा लालपूर्जा बनाउँदा सरकारले करमा छुट सुविधाको व्यवस्था गरेकोले यो अभियान संचालन गर्न अग्रसरता देखाएको नर्मदाको तर्क छ । 
    महिला अधिकारको कुरा गरेर कहिले नथाक्ने राजनीतिकर्मीहरु र सरकारी तथा गैर सरकारी संस्थाहरुलाई अब यो कुराले गिज्याइरहेको छ । नर्मदा माथि भएको मानसिक यातना माथि न्याय दिलाउन अब राज्य, अधिकारकर्मी र समाजले पनि बोल्नु पर्ने समयमा भइसकेको छ । के महिलाहरुले आफ्नो खुट्टामा उभिने र अरु महिलाहरुलाई पनि सचेत गराउने काम गर्नु वेठीक हो ? प्रश्न निकै गम्भिर भएर समाजतर्फ पनि फर्किएको छ । गाउँका बालबालिकालाई शिक्षा दिनु महिलाहरुलाई आफ्नो कर्तव्य प्रति सचेत गराउनु गलत मानिन्छ ? यति गरे वापत नेपालका कुनै महिलाले सकसमा जीवन विताइरहनु अर्थसंगत छ ? अधिकारका कुरा गर्नेहरुलाई पनि यो कुराले छुनुपर्छ । वास्तविकताका पछाडी अधिकारको कुरा गर्नेहरुले पनि अब अझ डटेर लाग्नुपर्ने भएको बौद्धिक वर्गको भनाइ छ । अब कुरा भन्दा पनि काम चाहिएको छ उनीहरुले भने । 
    को हुन नर्मदा ? 
    ओखलढुंगा जिल्ला, टारकेरावारी गाविस वार्ड नं. १ डाडाखर्कका पं. बिष्णुहरि अधिकारी र डमर कुमारी अधिकारीको कोखबाट २०२७ साल सावन १८ गते जन्मिएकी आफना बुबा(आमाकी कान्छी छोरी हुन् मा नर्मदा ( अधिकारी ) दाहाल । सानैदेखि निडर, मिलनसार, जेहेन्दार अनि मेहनती स्वभाव र कडा परिश्रमकी धनी उनका १ दिदी र ३ दाई छन् । उनको कडा परिश्रम गर्ने स्वभावले नै विना ट्यूसन श्री ग्रामदय मा.वि. ग्रामङ्घटारबाट २०४३ सालमा डाडाखर्क केरावारीकै पहिलो एसएलसी पास गर्ने छात्रामा परेको विगत सम्झदै भनिन् । उनले सो समयमा एसएलसी पास गर्दा द्घितीय श्रेणीमा पास भएको उनले बताइन् । पढनलाई धेरै ईच्छा र चाहना हुदाहुदै नजिकै क्यामपस नभएर र छोरीलाई बाहिर पठाएर पढाउनु हुदैन भन्ने पुरानो मानसिकताले तत्काललाई उनको पढाइले स्थगित भएको थियो उनको तर्क छ । 
    पढाईलाई निरन्तरता दिन नसके तापनि उनले हाते शिपहरु सिलाई बुनाई, स्वेटर बुन्ने, गुन्द्री बुन्ने जस्ता बिभिन्न किसिमका शिपहरु सिक्नुका साथै वर्गीय महिला संगठनको चुनावमा सभापति समेत भईन । २०४६ सालमा सिन्धुली निवासी शिक्षक पेसल कुमार दाहालसंग विवाह बन्धनमा बाधिन पुगेकी नर्मदाका १ छोरी र १ छोरा छन् । विवाह पश्चात ११ बर्ष सम्म घर धन्धा मै रुमल्लिएकी उनले २०५७ साल जेठ २ गते श्री बाल बालिका प्रा लि. लामिडाँडाँमा शिक्षिकाको रुपमा काम गर्न शुरुवात गर्दै श्रीमानले अंगालेको पेशालाई अंगाल्न पुगेको उनले बताएकी छन् । घर धन्धाको काम बाल बच्चाको हेरचाह, उनीहरुको पढाई सवैको रेखदेखकै क्रममा सो विद्यालयको सहायक प्र.अ.को भूमिका पनि त्यहि समयमा उनले निर्वाह गरेको पाइन्छ । आफू सरकारी विद्यालयमा अध्ययापन गराउने भएकैले आफना छोराछोरीलाई पनि सरकारी विद्यलायमै अध्ययन गराएको उनले बताइन् । काम गर्दै जाने क्रममा २०६७ साल कार्तिक १६ गते प्र.अ. धुव्र सापकोटको कार्य अवधि समाप्त भएपछि भने तीन प्रतिष्पर्धीलाई उछिन्दै प्र.अ. बन्न सफल भएको उनको विगत रहको बुझिायो । 
    घरको काम विद्यालयको कार्यभारको साथ साथै छरिएर रहेका महिलाहरुलाई जम्मा गराई जिविकोपार्जन गर्नका लागि १६ वटा बचत समूह गठन गरी एउटा समूहमा ७ देखि लिएर २५ जनासम्म महिलाहरु सक्रिय बनाएको सुरुको दिन सम्झदै उनले भनिन् । सुरुमा ती समूहमा रु ५ का दरले बचतको शुरुवात गरेको उनको भनाइ छ । ती समूह मार्फत महिलाहरुलाई महिला हिंसा, महिला अधिकार तथा महिला शिक्षाको बारेमा जानकारी गराउने गरेको उनको भनाइ छ । उनले अध्यापन गराउने विद्यालयमा सुरुमा उनी प्र.अ. हुदा ३ वटा कोठा भएको विद्यालयमा विभिन्न व्यक्ति र निकायसँग समन्वय गरी अहिले ४ वटा भवन १० वटा कोठा बनाउन सफल भएकको विद्यालयका एक शिक्षकले बताए । अहिले त्यस बिद्यालयमा कक्षा शिसु देखि ५ कक्षा सम्म अङग्रेजी माध्यमबाट पढाई हुने गरेको छ ।  शुरुमा दुई जना शिक्षक शिक्षिका भएको विद्यालयमा अहिले ३ जना स्थायी, १जना राहत, ३ जना बालविकास र १ जना सहयोगी शिक्षक शिक्षिका रहेका छन् । प्राचार्य जोगिन्द्र राउतको प्रेरणाले उनी आफनो छोरीसंगै २०६६ सालमा  दोहोरी उच्च मावि स्थापना हुदा कक्षा ११ मा जेष्ठ विधार्थीको रुपमा अध्ययन शुरु गरिन् । हाल उनी गढिमाई बहुमुखी क्याम्पसमा बि.एड.मा अध्ययनरत छन् । उनलै कडा मेहेनतले स्थापना भएको बचत संस्था भने उनको नेतृत्व बिहीनताले अहिले बन्द जस्तैको अवस्थामा रहेको उनले स्वीकारिन् । कुनै काम गर्नुपर्दा कार्य योजना बनाएर मात्र कामहरु अगाडी बढाउने उनको स्वभावले धेरै कार्य सम्पादनमा उनलाई सफलता मिलेको उनका परिवारले बताए । सरकारी विद्यालय मै अध्ययन गरेका उनका छोरा छात्रवृतिबाट मेकानिकल ईन्जिनियर भइसकेका छन् । छोरीले पनि डिग्री सम्मको शिक्षा प्राप्त गरेकी छन् । सामाजिक काम गर्दा आई परेका बिभिन्न बाधा व्यवधानलाई चिर्दै छोराछोरीले गरेको सफलताबाट भने आफूलाई खुशी र सन्तुष्टि प्राप्त भएको उनको भनाइ छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिलाको हकमा कामगर्दा अपहरणसम्मको पीडा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top