-

  • नयाँ खबर

    29 October, 2016

    धर्मको नाममा महिलामाथि हिंसा किन ?

    – सल्मा खातुन  
    मध्य नेपाल सन्देश 
    “भाउजु, आज खाना अलि कम पकाउनुहोला ।”
    “किन बैनी ? मैले त अघि नै भात बसालिसकेँ ।”
    “आज हाम्रो छिमेकमा भोज छ नि । दाईहरु भोज खान जाने रे ।”
    “के को भोज ? अघिसम्म त केही थिएन !”
    (केही दिन अघि साँझको खाना पकाइरहँदा नन्दले आएर भन्नुभयो ।)
    “आज अफजल (नाम परिवर्तन) दाईको निकाह हो ।”
    “निकाह.....हँ !”( म छक्क परँे ) ।
    केहि बेरपछि मैले यसो झ्यालबाट चिहाएँ साँच्चै नै ठूल्ठूला भाँडामा खाना पाक्दै थियो । म अचम्म परँे र सोच्न बाध्य भएँ कि श्रीमती, छोराछोरी हुँदाहुँदै एक विवाहित व्यक्तिले फेरि अर्को बिहे किन गर्न थालेछन् । भोज पाकिरहेको ठाउँमा अफजलका छोराछोरी टुलुटुलु हेर्दै बसेको दृश्य देखेर मेरो त कन्सिरी नै तातेर आयो । उनले निकाह गर्न लागेकी अर्की पत्नी सृजना (नाम परिवर्तन) गैरमुस्लिम समुदायकी रहिछन् । त्यसैले धार्मिक र सामाजिक मान्यता दिलाउन अकस्मात निकाह गर्न लागिएको पछि थाहा पाएँ । 
    बारा परवानीपुरका अफजलले एक वर्ष पहिलेको प्रेमलाई सफल बनाउन आफनै सहकर्मीसँग दोस्रो बिहे गर्न लागेका रहेछन्  । उनीहरुको भेट एक वर्ष पहिले काठमाण्डौमा भएको थियो । तर स्नातक तहसम्म अध्ययन गरेका अफजलको यो पहिलो प्रेम भने थिएन, किनकी १२ वर्षअघि गाउँकै एक किशोरी रेहानासँग प्रेममा परेर पहिलो बिहे गरेका थिए उनले । पहिलो पत्नीबाट चार छोरी र एक छोराका बुवा बनिसकेका अफजललाई सायद पहिलो प्रेमविवाह बासी लाग्यो या पुरानो जस्तो भयो त्यसैले श्रीमतीलाई ढाँटेर उनले दोस्रो विवाह गरे ।  निकाह गर्न लागेकी महिला पनि, केही कारणवश श्रीमान्बाट छुट्टिएकी, एकल महिला हुन् । उनकी एक छोरी पनि छिन् अफजलले यो विवाह आफू अविवाहित भएको बेला गरेको भए समाजमा प्रशंसाको पात्र बन्ने थिए । तर यहाँ यस्तो भएन पहिलो पत्नीलाई छायामा राखियो । अफजलले गर्न लागेको काम कानून सम्वत दण्डनीय पनि छ । 
    हुन त मुसलमान समुदायमा एक पुरुषले चारवटासम्म विवाह गर्न पाउने धार्मिक व्यवस्था छ । कुन हदसम्म दोस्रो विवाह गर्न सकिन्छ ? त्यसका आफ्नै आधारहरु छन् । तर यहाँ अफजलले धार्मिक व्यवस्थाका कारण उठाइरहेको फाइदाको उनलाई अलिकति पनि अपराध बोध भएको महसुस भएन । अफजलले दोस्री श्रीमती ल्याउँदा गाउँघरमा थोरै हल्लाखल्ला भए पनि पछि सबै सेलाएर गयो । पञ्चायत बोलाइयो, केही तर्कवितर्क पनि भए । अफजलले म दुवैलाई पाल्न सक्छु भने । समाजको लागि कुरा सकियो । बिहे त पहिल्यै गरिसकेका थिए उनले । अफजलको दोस्रो निकाहलाई आफन्त तथा यस समाजले पनि मान्यता दिएको छ अब । पहिलो पत्नी हुँदाहुँदै र उसबाट बालबच्चा भएता पनि दोस्रो विवाहलाई मान्यता दिनु के पहिलो पत्नीमाथि अन्याय भएको होइन ? तर यो समाज चुप लागेको छ । दोस्रो पत्नीसँग रमाइरहेका अफजलकी पहिलो पत्नी छण छणमा विलापको चित्कार गर्छिन्, आफना पाँच सन्तानसँगै हरेक पल विलाप गरिरहेकी छिन् रेहाना । उनको त्यो विलाप र सन्तानको भविष्य के समाजले हेर्छ ? के धर्मले यस्तै हिंसा गर भन्ने मान्यता दिन्छ ? ती बच्चाहरुको बारेमा कस्ले सोच्ने, कोही छ समाजमा ? यस्ता अनेकौं प्रश्न उब्जेका छन् रेहनाका मनमा अनि अफजल र समाजको बीचमा । यतिसम्म कि रेहना कानूनी लडाईको लागि पनि अग्रसर छिन् तर विडम्बना उनको साथमा कोही छैन, ती पति हुँदाहँुदै एक्लो बनेकी रेहनाको कुरा कस्ले सुन्छ ? एकातिर धार्र्मिक आस्था, अर्कोतिर यसै आस्थाका कारण महिला माथि हिंसा । 
    विगतमा मुस्लिम समुदायका पुरुषले धेरै विवाह गर्ने गरेकाले त्यसलाई नियन्त्रित गर्न एक जनाले अधिकतम चारवटासम्म विवाह गर्न सक्ने नियम बनाइएको जामे मस्जिद मुर्लीका इमाम मुफ्ती अमजद हुसैन नदवी बताउनुहुन्छ । तर व्यवहारिक रुपमा पुरुष स्वयंले पनि यस विषयमा संवेदनशील र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । इमान हुसैन भन्नुहुन्छ, “ईस्लामले तिमीले समान रुपले सबै श्रीमतीलाई माया र स्याहार गर्न सक्छौ भने विवाह गर भन्ने अनुमति दिएको छ । तर यस व्यवस्थालाई व्यक्तिगत ईच्छा पूरा गर्न वा रमाइलोका लागि प्रयोग गर्नुभन्दा एउटै श्रीमती र तिनबाट जन्मिएका सन्तानलाई माया गरे मानिस बढी सुखी रहन सक्छ । फेरि आफ्नो जिवनसाथी, घरपरिवार सबै बारे विचार पुर्याएर मात्र कुनै निर्णय गर्दा राम्रो हुन्छ ।” जुनसुकै धर्मले पनि मानिसलाई सद्मार्गमा लैजाने बाटो देखाएको हुन्छ । चाहे त्यो नमाज पढेर होस्, पूजा गरेर अथवा गुरुद्वारा शिक्षा लिएर होस् । तसर्थ ईश्वरका सन्देशवाहक मानिने धार्मिक गुरुहरुले धर्मसँगै आफ्नो सामाजिक दायित्व पनि निर्वाह गर्दै जानुपर्ने र त्यसको लागि धार्मिक अपव्याख्याहरुलाई हटाउन सचेतना फैलाउनु जरुरी रहेको उहाँको भनाइ छ ।
    यसबारे कानूनी लडार्इँ जेसुकै होला रेहनाको जिवनमा । तर उनले आफनो आत्मविश्वासलाई डगाएकी छैनन् । अर्काको ज्यालामजदुरी गरेर आज रेहनाले बच्चाहरुलाई पढाई रहेकी छिन् । उनको मन भित्र तमाम पीडा छन् । पीडाको साहारामा बाँच्ने बानी झैँ भैसकेको रेहनाको शरीर उनको अनुहार दिन प्रतिदिन उजाड देखिन्छ । तर पनि परिस्थितीसँग सामना गरिरहेकी छिन् उनी । आफ्ना सन्तानलाई उनीहरुले  चाहेसम्म पढाउने अठोट गरेकी छिन् उनले । 
    माथिको घटनामा प्रतिनिधि पात्रमात्रै हुन् रेहना । यो समाजमा बहुविवाहको कारण पहिलो पत्नीहरु कति अलपत्र परेका छन् त्यसको कुनै लेखाजोखा नै छैन । हजारौं सपना देखाएको मानिसले नै आफ्नो वासना र रहरको लागि मनपरी गरिरहँदा ती रेहानाहरुले केही गर्न सकेका छैनन् । किनकि यस्ता घटनामा आफ्नै परिवारले पनि साथ दिँदैन ।
    ईस्लाम धर्मले चारवटा विवाह गर्ने अनुमति दिनुमा आफ्नै कारणहरु छन् । विशेष अवस्था र परिस्थितिवश मात्र अर्को विवाह गर्न सकिने भए पनि यसको दुरुपयोग बढी भएको मान्नुहुन्छ अधिकारकर्मी एवं राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष चाँदतारा शेख । उहाँ भन्नुहुन्छ, “धार्मिक व्यवस्थाको अपव्याख्या गरेर गरिने यस्ता कार्य र त्यसले पार्ने प्रभावप्रति सो कार्यलाई प्रोत्साहन गर्ने समाज पनि उत्तरदायी हुनैपर्छ । अझै विशेष गरी धार्मिक गुरुहरुले त विभिन्न चेतनामूलक कार्यक्रम गरी यस्ता भ्रमहरु चिर्नु अत्यन्त आवश्यक भइसकेको छ ।” यो समस्या हरेक व्यक्तिको भएपनि बहुविवाह अथवा विवाहेत्तर सम्बन्धका कारण महिलाहरु नै समाजमा पिडीत बनेका अनेकन उदाहरण पाउन सकिन्छ । मुसलमान समुदायका महिला त यसबाट झनै पीडित छन् । धर्मले छुट दियो भन्दैमा जथाभावी विवाह गर्दै हिँडने पुरुषको इज्जत किन जादैन ? मुस्लिम धर्ममा रहेको बहुविवाहको प्रथाले विकराल रुप लिइरहेको छ । धार्मिक व्यवस्था र परम्पराको आफ्नै महत्व छ भने अर्कोतिर मानवताको पनि कुरा आउँछ । तर खै त त्यसतो कहीँ देखिँदैन । धर्मको नाममा आफ्नो स्वार्थ सिद्धि गर्नेले वास्तवमा अरु धार्मिक नियमहरुको खासै पालना गरेका हुँदैनन् । फेरि त्यस्ता व्यक्तिलाई समर्थन गर्ने यस पितृसत्तात्मक समाजलाई के भन्ने ? जसले एक छोराको उन्मादलाई वैधानिकता दिन्छ तर छोरीको पीडालाई देख्दैन । महिलाको कुरा गरिरहँदा एक महिलाको घर बिगारेर आफ्नो खुशी खोज्ने महिला पनि कस्ती होलिन् ! बहुविवाह विरुद्ध ऐननियम पनि नभएका होइनन् हाम्रो देशमा, संविधानमा दोषीलाई कारवाही तथा पीडितको लागि क्षतिपूर्तिको व्यवस्था समेत गरिएको छ । तर के यो नै सबैथोक हो त ? समाजको केही दायित्व छैन ? यस्तो कार्यले ती महिलालाई पर्ने भावनात्मक चोट र पीडा कसले बुझिदिने ? साना बालबालिको मनस्थितिमा आफ्ना मातापिता र विवाहप्रति पर्न गएको नकारात्मक असर, त्यसले उनीहरुको विकास, पठनपाठनमा पार्ने प्रभाव कसले बुझिदिने ? के यो परिवारसँगै समाजको पनि दायित्व होइन ? के दोषीलाई कारवाही गर्दैमा उसको भूलबाट भएको मानसिक र भावनात्मक क्षति कम हुन्छ ? यस्तै हो भने केही दशकमा ‘विवाह’ भन्ने प्रथाबाट पनि मानिसहरु टाढिन थाल्नेमा कुनै शंका छैन । जब आफ्नो जिवनसाथी प्रति प्रेम, विश्वास, सम्मान, त्याग र समर्पण नै छैन भने त्यस्तो विवाहको के अर्थ ? 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: धर्मको नाममा महिलामाथि हिंसा किन ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top