वीरगंजकी २९ वर्षीय श्वेता गुप्ता मेहन्दी व्यवसायको क्षेत्रमा एक सफल व्यवसायिकको रुपमा आफनो पहिचान बनाउँन सफल भएकी छन् । वीरगंजको राधेकृष्ण मेहन्दी टे«निङ्ग सेन्टरकी संस्थापक तथा पहिलो प्रशिक्षक हुन श्वेता । आफनो आमा बुवाकी जेठी सन्तानको रुपमा जन्मिएकी श्वेता एक सामान्य परिवारकी छोरी हुन । तर उनमा भएको अदभूत कलाको कारण आज उनी व्यापारिक क्षेत्रमा पनि सफल भएकी छिन् । उनी यस क्षेत्रमा सफल कसरी भइन र कस्ता कस्ता चुनौतिहरुसँग उनले सामना गर्नु पर्यो । प्रस्तुत छ यहि विषयमा श्वेता गुप्तासँग गरिएको कुराकानी ।
– पेशाको सुरुवातको समय र कसको प्रेरणा बाट यस क्षेत्रमा आउनु भयो ?
सर्वप्रथम मेरो मार्ग निर्देशक भनेको करेन्ट इंग्लिस ल्याङ्गवेज इन्सिटिच्युटको को संस्थापक राजेन्द्र प्रसाद कोईराला हो । उहाँकै प्रेरणाबाट म यस क्षेत्रमा अग्रसर भएँ । मेरो जिवनको आदर्श ब्यक्ति हो । उहाँ गुरु हुनुहुन्छ । म स्कुलमा जेहेन्दार विद्यार्थीपनि होइन ठिकै थिए । राम्रै नम्बर ल्याएर पास हुन्थे । हाम्रो मधेसी रितीरिवाजमा कस्तो हुन्छ भने पढने मान्छे त्यती राम्रो छैन भने विवाह गरेर पठाईदिने चलन छ । तर मैले एस.एल.स पास गरे ।
त्यस पछि प्लस टु गाह्रो तरिकाले अध्ययन गरे । मेरो सानै देखिको सपना थियो सफल बैंकर बन्ने सोहि कारण म करेन्ट इंग्लिस ल्याङ्गवेज इन्सिटिच्युटमा बैंकर बन्नको लागि तालिम लिन भर्ना भए । त्यसबेला राजेन्द्र सरले आफ्नो पहिचान र क्षमता देखाउन केही न केही रचनात्मक काम गर्नुपर्छ भनेर हरदम उत्प्रेरना जगाउनु हुन्थ्यो । त्यस्तै सोच बनाएर यस क्षेत्रमा वहाँको प्रेरणाबाट आए ।
– तपाईको जिवनसंग यो पेशा कसरी जोड्नुभयो ?
नविल बैंकको ईन्टरभ्युको लागि म काठमाडौँ गएको थिँए । मेरो भाई काठमाण्डौमा पढदै थियो । उसको कोठामा अन्तरवार्ताको लागि तैयारी गर्दा नारी मासिक पत्रिका मेरो हातमा परयो । पढ्दै जाँदा त्यसमा एक पन्नामा मेहेन्दी डिजाईनबारे केहि जानकारी दिइएको थियो जुन हेर्ने वितिक्कै मेरो भित्री मनदेखी नै यो मेहेन्दी तालिम जसरी पनि लिन्छु भन्ने उत्सुकता बढयो । तर त्यती खेर पढाई बाहेक मसंग कुनै जागिर थिएन अनि बुवाले पढाई बाहेक अरु कुनै अतिरितm कामको लागि पैसा दिन मन पराउनु हुन्थेन ।
त्यसैले मैले घरबाट पैसा माग्नु भन्दा आफनो हाथको ४००० हजार मुल्य पर्ने सुनको औँठी बन्धकी राखी मेहेन्दी ट्ेनिङ्ग लिन गए । र मेरो कलाको क्षेत्रमा राम्रो पकड भएको कारण मेहन्दी तालिम मेरो लागि कठिन भएन र मैले तिन महिनाको कोर्स ५ दिनमा सम्पन्न गरे ।
– तपाई मधेशी महिला भएर यस पेशामा आईपुग्न कस्ता-कस्ता चुनौतीहरुको सामना गर्नुभयो ?
धेरै चुनौतीहरु झेल्नुपर्यो । कहिले काहीँ त कसैको साथ पनि हुन्थेन रुनको लागि । तर आँट गरेर यहाँसम्म आईपुगेकी छु । जिन्दगीमा कहिले हरेश खाकी छैन । आज म संग पुरा १० देखी २० जनाको टीम छ । मेरो संस्थाको स्थापना गर्दा खेरी त्यती खेर मलाई कसैले नचिनोस् भनेर मुखमा रुमाल र आँखामा चस्मा लगाएर एक्लै संस्थाको प्रचार गर्दै रोडमा प्याम्प्लेट बाँड्दै हिँडे । एउटा भनाई छ अध्यारो जतिक्कै पुरानो किन नहोस् तर एउटा सानो प्रकाशले त्यो अध्यारोलाई मारेर खसाईदिन्छ ,त्यसरी नै म जतिकै एउटा कुनै पनि मधेशी समुदायको किन नहोस् मेरोमा पनि त्यो व्यक्तित्व थियो ।
– वर्षमा कति पटक तालिम सञ्चालन गर्नुहुन्छ ? कतिजनालाई तालिम दिईसक्नु हुन्छ ?
विगत तिन वर्षदेखी हामीले वर्षमा २ पटक प्रोजेक्ट निकालीरहेका छौँ । जसमा फारमका लागि एक सय रुपैया देखी २ सय लाग्छ । यसमा दुई ओटा सिफ्ट हुन्छ । एक जाडोको बेलामा र अर्को गर्मीको बेलामा । त्यसमा करीब १५० देखी २०० जना जति विधार्थी आउँछन् । यो तीन वर्षमा एक हजार भन्दा बढी विद्यार्थीहरु तालिम लिसक्नुभएको छ ।
– तराईमा दाईजो प्रथा उन्मुलनका लागि तपाईको के धारणा छ ?
यदि मिडियाको साथ हुन्छ भने म अवश्य नै यो प्रथाको विरुद्ध पहल गर्छु । दाईजोलाई दुई तरीकाले परिभाषीत गर्न सकिन्छ । कति जनाले आफनो छोरीलाई अर्काको घरमा जादा माइतीको सम्झनाको स्वरुप मायाको चिन्होको रुपमा केहि वस्तुहरु दिन्छन् । तर हामी २०/२५ वर्ष देखी यसलाई नकारात्मक सोचीरहेका छौँ ।
यदि तपाई पुरानो युगमा जानुहुन्छ भने दाईजो प्रथालाई नकारात्मक नलिएर सकारात्मक लिने गरेको पाउनुहुन्छ । किनभने एक आमाले आफनो छोरीलाई केहि कमी नहोस् भनेर केही उपहार चिन्होको रुपमा दिन्छिन। त्यतीखेर सकारात्मक ठहरीन्थ्यो तर विस्तारै(विस्तारै मैले सुनेको अनुसार केही विदेशीहरु हाम्रो देशमा आई यसलाई नकारात्मक कुरामा लगीदिए । यदि बाउ आमाले आफनो ईच्छाले दिएका छन् भने त्यो मायाको चिन्हो भयो तर दोश्रो पक्षले मागेको खण्डमा त्यो दाईजो भन्नुपर्छ ।
– राजनितीकमा तपाईको धारणा के छ ?
राजनीतीमा आउने मेरो ईच्छा छ । र एक दिन नेपालको शिक्षा मन्त्री हुने चाहना छ ।
– शिक्षा मन्त्री नै बन्ने चाहना किन नी ?
जताततै शिक्षा क्षेत्रमा एकदमै अनियमितता भईरहेको छ । पढाईको नाममा विधार्थीको आँखामा छारो हाल्ने बाटो भएको छ । आजभोली नक्कली प्रमाण पत्र बनाएर विदेशीने र स्वदेशमै डाँक्टर, ईन्जिनीयर बनेको घटना पनि सार्वजनिक भएको छ । अब त एस एल सी भन्ने शव्द नै नरहेको त्यसको साटो ए ग्रेड, वि ग्रेड र सि गे्रड जस्ता शिक्षाका परिणामहरुलाई अगाडी ल्याएर सबैलाई झुक्याउने काम भईरहेको छ । यही सबै कारणले गर्दा शिक्षा क्षेत्रमा सुधार गर्न धेरै नै बाकी रहेको मैले महसुस गरेक छु, त्यसैले शिक्षा मन्त्री बन्न चाहना राखेकी छु ।
– अहिलेको समयमा विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउन आउने महिलाहरुलाई सफल बन्नको लागि के सल्लाह सुझाव दिन चाहनुहुन्छ ?
पहिले आफुलाई कहिले कमजोर ठान्नुहुदैँन । केही पनि काम गर्न सक्नुपर्ने हिम्मत लिनुपर्छ । अवश्य नै सफल भईन्छ । काम गर्ने दौरानमा समाजले , घरपरिवारले तानावाना गर्ने यो हाम्रो मुल्यमान्यता नै भईसकेको छ । तर यो कुरालाई हटाउँदै आफनो जुन लक्ष्य हो त्यतातिर बढी ध्यान दिनुपर्छ ।
0 comments:
Post a Comment