स्व उत्पादनबाट बेचेको बस्तुको मूल्यभन्दा आन्तरिक खपतका लागि किनेको बस्तुको मूल्य बढी हुनु सामान्य अर्थमा व्यापार घाटा हो । मुलुकको सन्दर्भमा भन्ने हो भने निर्यात गरेको बस्तुभन्दा आयात गरेको बस्तुको मूल्य बढी हुनु पनि व्यापार घाटा नै हो ।
नेपालको व्यापार घाटातर्फ समिक्षा गर्ने हो भने व्यापार घाटा नै अचाक्ली रुपमा उकालो लागेको छ । भारत तथा तेस्रो मुलुकबाट गएको आर्थिक वर्षमा कुल ८ खर्ब १ अर्ब २१ करोड मूल्य बराबरको बस्तु आयात भएको तथ्यांक छ । जबकी नेपालले भने सोही अवधिमा केवल ८९ अर्ब मूल्य बराबरको बस्तु मात्र निर्यात गरेको देखिन्छ । यो भनेको व्यापार घाटाको समिक्षा गर्ने लायकको तथ्याङ्क समेत होइन । भनाइको मतलव लगभग पूरै जसो व्यापार घाटा नै हो । चालु आर्थिक वर्षको साउन महिनामा मात्र ६२ अर्ब १२ करोड मूल्य बराबरको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक हुनु मुलुकका लागि ज्यादै पीडादायिक अवस्था हो । अनि मुलुक हाक्छौँ भन्नेहरुको त अपूरदर्शिताको पराकाष्ठा होइन भन्न सक्ने ठाउँ नै छैन ।
नेपालको व्यापार घाटाको पुरानो इतिहास हेर्ने हो भने २०१८ सालभन्दा पहिले नेपालको बाह्य ऋण नभएको देखिन्छ । झण्डै २ दशक अगाडी सम्म नेपालले चामल समेत निर्यात गर्दै आएको थियो । वर्तमानमा भने मुलुकभित्र उत्पादन हुने बस्तु समेत आयात गर्नुपर्ने अवस्था सृजना भएको छ । अधिकार प्राप्तिको पारङ्गत लडाई भनी जारी आन्दोलनको हुँकार जतिजति उच्च बन्दै गयो, नेपालको व्यापार घाटाको पाटो पनि नराम्ररी उकालो लागेको छ । राजनीतिक रुपमा पूरै व्यवस्था परिवर्तन भए पनि आर्थिक क्षेत्रको बर्बर दोहन बाहेक यसले केही भित्र्याएको छैन । देशको समृद्धि र जनताको हितमा काम गर्छौ भन्ने यहाँका राजनीतिक दल र नेताहरु देश र जनता प्रति परचक्रीको व्यवहार गर्दैछन् । देश रहे मात्र हाम्रो फूमलठे राजनीतिले भाउ पाउँछ भन्ने यति ज्ञान पनि यहाँका राजनीतिकर्मीहरुमा नहुनु ठूलो बिडम्बना पनि हो ।
देश विकास र जनताको समृद्धिका लागि नेपालका राजनीतिकर्मीहरुले वैदेशिक ऋण घटाउदै व्यापार घाटालाई घटाउने तर्फ अब पनि नसोच्ने हो भने संघिय गणतन्त्र र लोकतन्त्रको दुहाई दिएर मात्र उन्मुक्ति पाउने अवस्था रहदैन । देशका युवा शक्तिलाई स्वदेशमा नै परिचालन गरी उत्पादनमुखी कार्यमा लगाउन अब किंचित ढिलो गर्नु हुँदैन । हरेक देशको राजनीति कर्मले नै त्यो देशको समुन्नतिमा टेवा पुग्छ भने कुरालाई आत्मसात गरी आर्थिक उन्नतिको बाटो राजनीति पक्षबाट अंगाल्न आवश्यक छ । घाटामा रहेको देश र परचक्रीको उपदेशले मात्र देशको प्रगति हुँदैन भन्ने कुरा अक भने सबैले मनन् गरी आ–आफ्नो ठाउँबाट रचनात्मक कार्य गर्न जरुरी छ ।
0 comments:
Post a Comment