-

  • नयाँ खबर

    29 October, 2016

    दशैं मनायौं अब दिपावली र छठ पनि संगै मनाऔ


    दिप ज्योति श्रेष्ठ,
    मध्य नेपाल सन्देश ।
    अक्सर दशैं भन्नासाथ पहाडतिर मनाइने चाड भनेर लिने गरिन्छ हाम्रो समाजमा । सायद टिका र जमरा यहिँ धेरै लगाइने भएकोले होला यसो भनिने गरेको । मधेशतिर भने ठ्याक्कै दशैं नभनेर यसलाई नवरात्री भनिने गरिन्छ । फरक यति हो उनीहरु दुर्गा पूजा गरेर यो चाड मनाउछन् भने पहाडकाहरु दुर्गा पूजाको साथै टिका र जमरालाई दशैं मान्छन् । मनाउने तरिकाहरु जेजस्तो भए पनि दशैं भन्नासाथ हर्ष, र उल्लासले नछुने मन सायदै कम होला नेपालमा । 
    दशैंको मौसम सुरु हुनासाथ देशको सबै भागमा एक किसिमको रौनक छाउन थाल्छ । देशभरि नै हुने लामो सरकारी बिदाले गर्दा मान्छेहरुमा एक किसिमको हलिडे मुड र माहोल सिर्जना गरेको हुन्छ अनि थप अन्य चाडबाडहरुको स्वागतको लागि मौसमले सङ्केत गर्दछ जस्तै दशैं लगत्तै आउने अन्य चाडहरु दिपावली, छठ लगायत । दशैँको रौनक सकिन नपाउदै फेरि दिपावलीको रमझमले हामीलाई सताउन थाल्छ । मधेशतिर दिपावली भनिने गरेको यो चाड पहाडतिर भने तिहारको नामले प्रख्यात छ । 
      लक्ष्मीको पूजा गर्ने, घरघरमा दीप प्रज्वलन गर्ने कुराहरु सम्भवतः सबै ठाउँमा गरिने प्रमुख विशेषता हो यो चाडको तर पहाडमा भने यसलाई दाजुभाइ र दिदीबहिनीको चाड भनेर पनि भन्ने गरिन्छ । देउसी र भैलो अर्को विशेषता हो यहाँको तिहारको । मनाउने तरिकाहरु फरक छन् यद्यपी यो चाडले सबैतिर दीप र उज्ज्यलोको सङ्केत गर्दछ जुन सबैभन्दा प्रमुख विशेषता हो । यो लगत्तै फेरि छठको चहलपहल सुरु हुन्छ । तराईमा विशेष गरि मनाइने यो पर्वको अहिले काठमाण्डौ तिर पनि निकै चर्चा हुने गरेको पाइन्छ । अहिले छठ तराईको मात्र नभएर सम्पूर्ण देशको पर्व भएको छ ।
      सम्भवतस् दैनिक कामको बोझबाट आराम लिने सबैभन्दा लामो समयको बहाना हो दशैं, दिपावली र छठ । हर्ष, उल्लास र सद्भावलाई सङ्केत गर्दै यो मौसममा आउने यी चाडहरुले सबैको मन जितेको छ भन्नेमा कुनै शंका छैन ।
    माथि भनिए जस्तै दशैँ र दीपावली मनाउने तरिकाहरु ठाउँ अनुसार, सम्प्रदाय अनुसार भिन्नभिन्न भएपनि मानिने भगवान् एकै हो । त्यसो भए किन यसलाई यो पहाडको, यो तराईको चाड भनेर नामाकरण गर्नु । चाडबाडहरु धर्म, सम्प्रदाय, जातजातीबिच अवश्य फरक छन् होला तर यसको प्रमुख उद्देश्य सुख, शान्ति र मेलमिलापको कामना हो । 
      कुनै पनि धर्मग्रन्थमा सायद यो कुरा लेखिएको छैन होला कि अर्को धर्म, सम्प्रदायकाहरुलाई माया नगर्नु, सदभाव नदेखाउनु, घृणा गर्नु भनेर । 
    यथार्थ यो हो कि ‘मेरोभन्दा अरुको धर्म-संस्कृति सानो हो’ भन्ने भावनाले गर्दा हामी आफ्नो धर्म(सम्प्रदायप्रति यति अन्धो हुन्छौं, हामीले आफूबाहेक अरु कसैलाई राम्रो देख्न सक्दैनौं । 
      यो अन्धोपन निकै खतरनाक हुनसक्छ भन्ने कुरामा हामी जहिले सतर्क हुनुपर्छ । चाहे हामी जुनसुकै धर्म, जातजाती र संस्कृतिलाई प्रतिनिधित्व गर्ने भएपनि सबैको आ–आफ्नै महत्वहरु छन, विविधताहरु छन, विशेषताहरु छन् भन्ने हामीले बिर्सनुहुँदैन । सधैं एकले अर्काको धार्मिक र सांस्कृतिक विशेषताको सम्मान गरौँ । आफूले अरुको सम्मान गरेनौं भने अरुले पनि आफूलाई त्यस्तै व्यवहार गर्छन् भन्ने यथार्थमा सधैं हेक्का राखौं । आफ्नो बारेमा बुझाउने र अरुको बारेमा बुझ्ने प्रयत्न गरौँ’।
    भगवान् भनौं या आल्लाह भनौं या प्रभु या अरु कुनै ज-जसले बनाएको भएपनि यो समाज र हामी मानव जाती साँचीनै सुन्दर छौँ । यसको सुन्दरतालाई बिथोलिन नदिउ । विविधतामा नै एकता खोजौं । एकले अर्काको सम्मान गरौँ अनिमात्र हामीलाई हाम्रो यही फरकपन र भिन्नता नै बडो सुन्दर र विशेष लाग्नसक्छ । त्यसैले, दशैं त मनायौं आऔं अब दिपावली र छठ पनि सँगै मनाऔं । अन्तमा सम्पुर्णमा दिपावली र छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: दशैं मनायौं अब दिपावली र छठ पनि संगै मनाऔ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top