-

  • नयाँ खबर

    02 October, 2016

    चिकित्सकीय परिक्षण विना थाहा हुँदैन ‘स्क्रब टाइफस’


    – खुशी शर्मा 
    नेपालमा सर्वप्रथम सन् २००४ मा पहिलो पटक देखा परेको रोग पछिल्लो समयमा धेरैको टाउको दुखाई बन्न थालेको छ । सबैभन्दा पहिले इ सं १८१० मा जापानका हासिमोतोले जापानमा नै पहिचान गरेको यो रोग को नाम भने स्क्रब टाइफस हो । ओरियन्टिया सुसुगामुसी नामको (परजिवी) ब्याक्टेरियाको कारणबाट लाग्ने यो रोग एक प्रकारको ज्वरोजन्य रोगका रुपमा देखा पर्दछ । यो रोगका जिवाणु मुख्यतः धान खेत, जंगल, झाडी, घाँस भएको ठाउँ, नदीको छेउछाउ आदि ठाउँमा रहने मुसा प्रजातीका जनावरमा पाइन्छ । जापानी शब्द ‘सुसुगा’ को अर्थ सानो र खतरनाक एवं ‘मुसी’ को अर्थ सूक्ष्म कीरा हुन्छ । उत्तर जापान र रसियाको पूर्वी भाग, दक्षिणमा अष्ट्रेलियाको उत्तरी भाग सम्मको भूभागमा स्क्रब टाइफस पाइने भएकोले यस क्षेत्रलाई सुसुगामुसी त्रिकोण भनिन्छ । सुसुगामुसी जिवाणुले मस्तिष्क, कलेजो, फोक्सो, किड्नी आदिमा थुप्रै प्रकारको संक्रमण फैलाउने गरेको चिकित्सकहरुको भनाइ छ । यस्ता बिरामी बहुअंग विकार (मल्टी अर्गान डिस्अर्डर) को अवस्थामा पुग्छन् । पछिल्लो समय पर्सा, बारा, रौतहट, चितवन लगायतका क्षेत्रमा बढी देखिएको स्क्रब टाइफस विरुद्ध हालसम्म कुनै पनि खोपको विकास भइसकेको छैन । केहि दिन अघि मात्रै चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा ३ सय ४१ जना ज्वरोका बिरामीको परीक्षण गरिएकोमा १ सय ५३ जनामा स्क्रब टाइफस रोग प्रमाणित भएको छ । जसमा ३ जना व्यक्तिको मृत्यु समेत भएको चिकित्सकहरुले पुष्टि गरिसकेका छन् । वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पनि एकजनाको मृत्यु भएको पाइएको छ । स्क्रब टाइफस रोगको बारेमा फिजिसियन डा.नीरज सिहंसँग खुुशी शर्माले गरेको कुराकानी : — 
    – डाक्टर साहव, स्क्रब टाइफस कस्तो रोग हो ?
    ओरियन्टिया सुसुगामुसी नामक परजिवीका कारण हुने एक प्रकारको रोग हो यो । मुसा प्रजातीको पेटमा पाइने जिवाणुको संक्रमणमा परेका किर्ना र सुलसुले जातको कीराले टोकेमा स्क्रब टाइफस रोग लाग्छ । 
    – संक्रमित कीराले टोकेको कति समयमा यसको असर देखिन्छ ? 
    सुसुगामुसीको संक्रमणमा रहेका सुक्ष्म किराले टोकेको कम्तिमा ५ देखि २० दिनमा स्क्रब टाइफस रोगका लक्षणहरु देखिन थाल्छन् । यस्ता किराले प्रायःजसो काछ, काखी, यौनांग तथा घाँटीको वरिपरि टोक्छन् भने टोक्दा कुनै दुखाइको महसुस नहुने तर टोकेको ठाऊँ वरिपरि सामान्य चिलाईको अनुभव हुन सक्दछ । केहि दिनमा टोकेको ठाउँमा २ देखि ३ मिली मिटरको रातो दाग देखिन थाल्छ र डावरको बीचको भाग मरेको जस्तो गरी कालो देखिन सक्छ ।
    – स्क्रब टाइफस रोग लागेको भनेर कसरी थाहा पाउने लक्षणहरु के के हुन सक्छन् ?
    स्क्रब टाइफस रोग लागेमा सँक्रमित व्यक्तिलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, काम्ने, आँखा रातो हुने, भोक नलाग्ने, काछमा गिर्खा आउने, खासगरी शरीरका विभिन्न भागमा राता मसिना दाना निस्कने जस्ता लक्षणहरु देखिन सक्छ । संक्रमित व्यक्तिले माँशपेशी र पेटको दुखाइको अनुभव पनि गर्न सक्छ । यस्तो भएमा तुरुन्तै डाक्टरलाई देखाउनुपर्छ । चिकित्सकीय जाँच विना स्क्रब टाइफस हो भनेर यसै भन्न सकिन्न ।  
    – यो रोगको उपचार विधि कत्तिको सजिलो छ ?
    रोगको सुरुवातमै चिकित्सकको सम्पर्कमा पुगे स्क्रब टाईफसको लागि उपयुक्त एन्टिबायोटिकको प्रयोग गरी समयमै निको पार्न सकिन्छ । तर समयमा उपचार नपाए व्यक्तिको शरीरका विभिन्न भागहरुबाट रक्तश्राव हुने र रक्तनली भित्रै रगत जम्ने, फोक्सोमा निमोनिया हुने, इन्सेफलाइटीस रोग लाग्ने, मुटुको मांशपेशीमा खराबी उत्पन्न गर्ने, मृगौलाको काममा खराबी देखिने र बेहोसी हुनेजस्ता जटील लक्षणहरु समेत देखिन गई बहु अँग विकारको समस्या देखिन्छ र अन्त्यमा व्यक्तिको मृत्यु पनि हुन सक्दछ ।
    – स्क्रब टाइफस रोग लाग्न नदिन के गर्नुपर्छ ?
    यो रोगबाट बच्नका लागि शरीर पूरै ढाक्ने गरी लुगा लगाउने, झुल लगाएर सुत्ने, जँगल र झाडीतिर धेरै हिँडयुल नगर्ने, जमीनको घाँसमा पल्टेर नबस्ने, घर वरपर किटनाशक औषधी छर्कने जस्ता उपाय अपनाउनु पर्छ । जसरी हुन्छ सुलसुले र किर्नाको टोकाईबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो ।  
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: चिकित्सकीय परिक्षण विना थाहा हुँदैन ‘स्क्रब टाइफस’ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top