पूजा सुवेदी, |
मध्य नेपाल सन्देश, पितृसतात्मक समाज अनि धेरै महिलाहरु अझै पनि अगाडि आउन नसकेको अवस्था । प्रमुखतः चेतनाको मूल आधार शिक्षाको अभाव नै हो । शिक्षामा महिलाहरु पछाडी हुँदा अवसरबाट पनि पछि परेको तथ्य सबैसामु जगजाहेर छ । भनिन्छ, ‘एउटा पुुरुष शिक्षित भयो भने उ मात्र शिक्षित हुन्छ, तर एउटी महिला शिक्षित भइन् भने सिंगो परिवार शिक्षित हुन्छ’ । यति हुँदा पनि महिलाहरु अझै पनि शिक्षाको मूलधारमा आउन सकेका छैनन् । विश्वको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी हिस्सा महिलाहरुले ओगटेका भए पनि समानता भने हुन सकेको छैन । यसो हुनुको मुल कारण भने भने चेतनाको कमी र अर्काे महिलाहरु स्वयम् पनि यसको कारण हो ।
पछिल्लो समयमा भने महिलाहरु केही अगाडि आएका छन् । हिजो चुलोचौको र घर धन्दामा सिमित महिलाहरु अहिले नेतृत्व तहमा पनि देखिएका त छन् । अहिलेको सन्दर्भलाई हेर्ने हो भने नेपालका पाँच मध्ये तीन सम्माननीय पदमा महिलाले नेतृत्व गरिरहेका छन् । देशको राष्ट्रपति, सभामुुख र प्रधानन्यायधीश जस्तो सम्माननीय पदमा अहिले महिलाको उपस्थितिले पनि हामी महिला कमजोर छैनौं भन्ने उदाहरण प्रस्तुत गरेको छ । तर यो नै पर्याप्त भने होइन । आफ्नो शीप, योग्यता र क्षमताको मूल्याँकन गर्दै हामी अगाडि बढ्न जरुरी छ । यदि महिलालाई अवसर दिएको खण्डमा इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी बहन गरेका पनि प्रशस्तै उदाहरण छन् । महिला सशक्तिकरणका पाटोमा पनि महिलालाई अग्रसर भए गरिबी निवारण तथा आय आर्जनको निकै राम्रो प्रगति भई सबैको जीवनस्तर उकास्न पनि सहयोग पुग्दछ ।
महिलाको पक्षमा काम गर्ने विभिन्न संघ संस्था तथा गैर सरकारी संस्थाहरुले पनि महिला सशक्तिकरणमा निकै ठूलो भूमिका खेलेका छन् । दाइजो प्रथा, बाल विवाह, चेलबेटी बेचबिखनविरुद्ध किशोरीहरुको समूूह नै बनाएर पनि यसमा भूमिका खेल्दै आएका छन् । तर पनि यस क्षेत्रमा बालविवाह लगायतका कुरीतिमा भने कमी आउन सकेको छैन । किशोरीहरुले यसको विरोधमा विद्रोह समेत गर्न थालेका छन् । त्यसको ज्वलन्त उदाहरण रिंकु ठाकुरलाई लिन सकिन्छ । यस्तै संघ संस्थाको माध्यमबाट उनले विद्रोह गर्न सकेकी पनि हुन् ।
यति हुँदा पनि हामीले सचेत र शिक्षित महिलाको संख्यामा कमी देखिरहेका छौं । वैवाहिक जीवनपछि घर बाहिर काम गर्नु हुदैन भन्ने मानसिकताका कारण पनि समस्याग्रस्त अवस्था आएको हो । हामी पुरुष सरह समान हुन नसक्नुमा आफू मात्र नभएर घर, परिवार र समाजको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षित महिलालाई अवसर दिनु र शिक्षाबाट बन्चित भएकाहरुलाई शिक्षा दिएर महिलाको उज्जवल भविष्य निर्माण गर्न सबबैको उतिकै साथ र सहयोगको खाँचो छ ।
0 comments:
Post a Comment