-

  • नयाँ खबर

    04 September, 2016

    बल्ल महिलाले आफ्नो क्षमता चिन्न थाले आफ्नो क्षमता


    सल्मा खातुन
    विकास एक निरन्तर प्रक्रिया हो । शुस्त वा तीव्र गतिमा यो चलि नै रहन्छ । हाम्रो जस्तो गरीब देशका नागरिकका लागि त यो झन् सबभन्दा लोकप्रिय शब्द हो । हामीले विकासको कुरा गर्दा मुख्यतः आर्थिक र भौतिक विकास बुझ्ने गरिन्छ । तर कुनै पनि ठाउँका नागरिकको सोँचमा सकारात्मक परिवर्तन नआएसम्म त्यहाँको विकास अधुरो रहन्छ । देश विकासका लागि त्यहाँका नागरिकको बौद्धिक विकास हुनु अति नै आवश्यक छ । यसको लागि शिक्षा नभइ हुँदैन । शिक्षा र जनचेतनाको अभावमा पिछडिएका तराई मधेशका जनताले शिक्षाको महत्व बुझी आफ्नो व्यक्तित्व विकासमा सहभागी हुन थालेका छन् । यस क्षेत्रका महिला, अझै भन्नु पर्दा ग्रामीण भेगका महिला अझ बढी जागरुक भएका छन् । यसका खासकारण कतै सरकारी, गैरसरकारी संस्था त कतै विभिन्न सामुदायिक संस्थाद्वारा सञ्चालित विभिन्न तालिम, प्रौढ शिक्षा, किशोरी शिक्षा जस्ता कार्यक्रमहरुले उनीहरुमा आत्मविश्वास जगाएको छ । आजका ग्रामीण महिला घुम्टो ओढेर घरभित्र मात्र सिमित छैनन् । आफ्नो गाउँटोलमा हुने विकास निर्माणका कार्य, सचेतना अभियान, सामाजिक कार्यलगायतमा निर्धक्क सहभागी हुन्छन् उनीहरु । महिला सशक्तिकरणको एक ज्वलन्त उदाहरण हुन वीरगन्ज छपकैयाकी रिंकु ठाकुर । 
    आफ्नो पढ्ने इच्छालाई दबाएर वैवाहिक बन्धनमा बाँधिन नसक्ने तथा परिवारजनबाट पाइरहेको अत्यधिक दबाव विरुद्ध सार्वजनिक रुपमा आउनुले उनको शाहस र इच्छाशक्तिको परिचय दिन्छ । त्यसै गरी हाल विद्यालयहरुमा गठन भइरहेका गल्र्स क्लबहरु मार्फत पनि किशोरीहरुले राम्रो सन्देश दिएका छन् । जतिसुकै पढेलेखे पनि विवाह र दाइजोको मामिलामा केटीले बोल्न नहुने मान्यता रहेको हाम्रो समाजमा दाइजो लिने केटासँग विवाह नै नगर्ने प्रतिबद्धता जनाएर समाजमा व्याप्त कुरीतिहरु विरुद्धको लडाईं आफैबाट सुरु गरेका छन् उनीहरुले । दाइजोप्रथा विरुद्धको यस सामाजिक बहिष्कारले धेरैलाई गम्भिर बनाएको छ । सामाजिक विसंगति र महिला हिंसा विरुद्धकमे उनीहरुको अठोटले समतामूलक समाज निर्माण हुनु असम्भव नभएको देखिन्छ । महिला अधिकार र सामाजिक कुरीतिका विरुद्ध यति धेरै संस्थाहरु हुँदाहँुदै पनि खासै उपलब्धि नदेखिएका बेला प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठको नेतृत्वमा सुरु गरिएको सशक्तिकरणको एक अभियान पनि प्रशंसनीय छ । कतिपय शिक्षित शहरी महिलाहरु भन्दा गाउँकै कम पढेका र अब त शिक्षाबाट वञ्चित महिलाहरु पनि बढी सक्रिय भएको देखिन्छ । अरुहरु घरमा सिरियल हेर्न, पार्लर धाउँदै अथवा सामाजिक सञ्जालमै व्यस्त हुँदा उनीहरु विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भइ सचेत र आत्मनिर्भर बन्दै गएका छन् । दैनिक घरखर्चको सामग्री, तरकारी, मसलाको किनमेलदेखि खेतीपाती, सन्तानको विद्यालय जाने मेसो सबै भ्याउँछन् उनीहरु । यसले ती परिवारका पुरुषहरुलाई ठूलो सहयोग पुगेको छ । 
    “दस वर्षअघि घरबाहिर निस्कन समेत अप्ठ्यारो मान्ने महिलाहरु आज पुरुषसँग काँधमा काँध मिलाएर हिँड्न सक्षम भइसकेका छन् । महिलाहरुकै जागरुकताले विगतको तुलनामा बालविवाह, दाइजो प्रथामा कमी समेत आएको छ । घरेलु हिंसाका घटनामा पनि केही कमी आएको छ र त्यस्ता घटना भइहाले पनि सार्वजनिक हुन थालेका छन् । महिलाहरु आफै पनि प्रहरी कार्यालयमा गएर उजुरी दिन थालेका छन् ।” 
    यी भनाइ हुन् पर्साको महुवन गाविसका रामनारायण साहको । महिलाहरुले बल्ल आफ्नो क्षमतालाई बुझ्न थालेको उहाँ बताउनुहुन्छ । यस कारण उनीहरु परिवार र समाजकै निर्णायक तहमा पुग्न सहयोग मिलेको साहको धारणा छ । कक्षा १२ मा अध्ययनरत लिपनीमाल, बाराकी समीमा खातुन पनि आफ्नो गाउँका महिलामा विगतको भन्दा धेरै परिवर्तन आएको बताउनुहुन्छ । कुनै बेला घरमा आएका पाहुनासँग बोल्न समेत लजाउने आफनै आमा र काकीहरु अचेल गाउँका महिलाहरुको समूह बनाइ बचत गरिरहेको र त्यसबाट प्राप्त सहयोगले गाउँका विपन्न वर्गका महिलाहरुलाई आत्मनिर्भर बनाएको खातुनको भनाइ छ । उहाँहरुले आफू र आफ्ना साथीहरुले सहयोग समेत गर्ने गरेको खातुन भन्नुहुन्छ । आधा आकाश भनिने महिला बल्ल आफ्नो क्षमतालाई चिन्न थालेका छन् । यिनै महिलाहरुको योगदानले मधेशी समाजले कोल्टो फेर्ने पक्का छ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बल्ल महिलाले आफ्नो क्षमता चिन्न थाले आफ्नो क्षमता Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top