सल्मा खातुन |
पर्सा जिल्लाको सदरमुकाम वीरगंजमा मुस्लिम परिवारमा जन्मिनु भएको चाँदतारा शेख नेपालमा परिचित नाम हो । उहाँ राष्ट्रिय महिला आयोगकी अध्यक्ष समेत बन्नु भैसकेको छ । सो समयबाट त उहाँको नाम अझ उचालियो । हाल नेकपा माओवादी केन्द्रकी महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ उहाँ । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी सचिव समेत रहनु भएकी नेतृ शेख समाजभित्र रहेकी एउटी छोरी, बुहारी र स्वयम् पनि कसैकी आमा हुन् ।
घुम्टोभित्र रहने मुस्लिम समुदायमा जन्मिएर पनि उहाँले स्नातकोत्तरसम्मको अध्ययन मात्र गर्नुभएको छैन । राजनीति र सामाजिक क्रियाकलापमा पनि सक्रिय हुनुहुन्छ उहाँ । वि.सं. २०६८ देखि २०७२ असोजसम्म ४ वर्ष आयोगकी अध्यक्षको रुपमा रहँदा उहाँ नेपालका हजारौं महिलाहरुको लागि प्रेरणाको स्रोत पनि बन्नुभयो । वीरगंजदेखि सिंहदरबारसम्मको यात्रा पार गरिसक्नु भएकी उनै शोख चान्दतारासँग गररेको कुराकानीको सारसंक्षेप ।
प्रश्नः यहाँले आफूलाई कसरी चिनाउनु हुन्छ ?
उत्तरः म आफूलाई एक महिला, अधिकारकर्मी र राजनीतिकर्मी भन्न रुचाउँछुु ।
प्रश्नः तपाई ‘कट्टर’ मानिने मुस्लिम समुदायबाट प्रतिनीधित्व गर्नुहुन्छ । जहाँ महिलाहरु पर्दाभित्र रहनुपर्छ भन्ने मान्यता रहेको छ । यस्तो परिवेशमा तपाई आजको स्थानमा कसरी पुग्नुभयो ?
उत्तरः हाम्रो परिवारमा छोराछोरीबीच कुनै भेदभाव थिएन । विशेष गरी मेरो बुबा छोरीलाई पनि छोरा सरह नै पढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यस कारण मैले पढ्ने र आत्मनिर्भर बन्ने अवसर पाएँ । मुस्लिम समुदाय वा ईस्लाामको कुरा गर्नुपर्दा ‘ईस्लामले महिलालाई शिक्षाबाट वञ्चित गरेकै छैन’ । नेपालमा मुस्लिम समुदाय अशिक्षा र गरीबीका कारण पिछडिएका हुन् । महिलालाई काम गर्न पनि धार्मिक रुपमा कुनै बन्देज छैन । पर्दामा रहेर जुनसुकै काम गर्न पनि महिलाहरु स्वतन्त्र छन् ।
प्रश्नः राजनीतिमा कसरी लाग्नुभयो ?
उत्तरः मेरो जन्म नै राजनीतिक परिवारमा भएकोले सानैदेखि यसतर्फ झुकाव थियो । महिला राजनीतिज्ञहरुलाई हेर्दा आफू पनि त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर पछि मैले जागिर खाएँ । पहिलो मधेश आन्दोलनको बेलादेखि राजनीतिमा लागेकी हुँ ।
प्रश्नः तपाईले राजनीतिमा लाग्नु अघि जागिर गर्थेँ भन्नुभयो । कुन क्षेत्रमा संलग्न हुनुहुन्यो ?
उत्तरः मलाई शिक्षण पेशा मन पर्ने हुनाले बोर्डिङ्ग स्कूलमा अध्यापन गराउँथे । पछि केही समय मैले नेश्नल मेडिकल कलेजमा समेत काम गरेँ ।
प्रश्नः पर्सा जिल्लाबाट मुस्लिम महिला सहित सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्दै तपाई महिला आयोगकी अध्यक्ष समेत बन्नुभयो । त्यहाँ तपाईले नेपालकै मुस्लिम महिलाहरुको अवस्था बारे जान्ने अवसर पनि पाउनुभयो होला । यसमा पर्साका मुस्लिम महिलाहरुको अवस्था चाही कस्तो पाउनुभयो ?
उत्तरः नेपाल कै मुस्लिम महिलाहरुको अवस्था उस्तै उस्तै रहेछ । तर अहिले पर्सा जिल्लाका मुस्लिम महिलाहरु अन्य जिल्लाका महिलाभन्दा अलि अगाडि छन् जस्तो लाग्यो । यहाँका दिदीबहिनीहरु अहिले पढ्छन् । जागिर खान पनि धक मान्दैनन्, राजनीतिमा पनि सक्रिय भइरहेका छन्, नेतृत्व लिइरहेका छन् । गाउँका महिला समेत अहिले विभिन्न संघ संस्थामा सक्रिय भएका छन् । यसले पारिवारलाई आर्थिक सहयोग पनि पुगेको छ । तर समग्रमा भन्नु पर्दा मुस्लिम महिलाहरुको अवस्था खासै राम्रो छैन । एक तथ्यांक अनुसार नेपालमा मुस्लिम समुदाय दलित भन्दा पनि पछाडि छ ।
प्रश्नः मुस्लिम महिलाहरु पछि पर्नुमा खास कारक तत्व के–के देख्नुहुन्छ ? र त्यसको समाधानको उपाय के हुनसक्छ ?
उत्तरः सबभन्दा ठूलो समस्या गरीबी हो । जसकारण यो समुदाय शिक्षाबाट वञ्चित छ । यो समस्या तराई मधेशका अन्य समुदायमा पनि छ । गरीबीकै कारण यी समुदायका बालबालिका पढ्न पाउँदैनन् । पढाउने अभिभावकले पनि छोरालाई पढाए बुढेसकालमा आफूहरुलाई पाल्छ भनेर उसलाई पढाउन चाहन्छन् । छोरी अर्काको घर जाने र घरभित्रै बस्ने त हो नि भन्ने मान्यता रहेको पाइन्छ । यस बाहेक धार्मिक कारण पनि देखाउने गरिन्छ । तर त्यो पूर्णरुपमा सत्य होइन । वास्तवमाा ईस्लाम धर्मले महिलालाई धेरै अधिकार दिएको छ । मैले भन्नैपर्छ कि ईस्लाम धर्ममा रहेका सकारात्मक कुराहरु प्रचारप्रसार गर्न सकिएको छैन । यो दायित्व हाम्रा धार्मिक गुरुहरुको पनि हो । यस समुदायमा महिलाहरुलाई जहाँ गएर भए पनि शिक्षा आर्जन गर्न अथवा काम गर्न कुनै बन्देज छैन । हो, तर पर्दा भित्र रहेर यी काम गर्नुपर्छ । यसको लागि यस समुदायका व्यक्तिलाई धार्मिक तथा सामाजिक चेतनाको विकास गराउनु आवश्यक छ । यसो गर्नसके मुस्लिम समुदायको अवस्थामा ठूलो परिवर्तन आउने थियो । यसको लागि मुस्लिम समुदायका अगुवा तथा धार्मिक गुरुहरु पनि सक्रिय रुपमा लाग्नुपर्छ ।
प्रश्नः अब सम्पूर्ण नेपाली महिलाहरुको कुरा गरौं, राष्ट्रि महिला आयोगको अध्यक्ष रहँदा तपाईले महिला सम्बन्धि कस्ता–कस्ता मुद्दाहरु हेर्नुभयो ?
उत्तरः समग्र महिलाको अवस्था भन्नु पर्दा जनसंख्याको अनुपातमा महिलाहरुको शैक्षिक अवस्था सन्तोषजनक छैन । पछिल्ला केही वर्षहरुदेखि भने शिक्षा र रोजगारीमा उनीहरुको पहुँच वृद्धि हुन थालेको छ । वैदेशिक रोजगारले पनि आर्थिक सुदृढिकरणको राम्रो मौका जुराइदिएको छ । महिला हिंसाको कुरा गर्दा नेपालमा अझै पनि धेरै महिलाहरु घरेलु हिंसाको शिकार भइरहेका छन् । गरीब, पिछडिएको समाजमा त यस्तो समस्या छँदै छ, शिक्षित, आत्मनिर्भर र प्रतिष्ठित परिवारका महिला पनि यसको शिकार भइरहेका छन् । तर सामाजिक मानमर्यादाका कारण उनीहरु खुलेर आउन सक्दैनन् ।
प्रश्नः शिक्षित, जागरुक, आत्मनिर्भर र अरुको वकालत गर्न सक्ने महिला पनि घरेलु हिंसाको शिकार हुनुमा कसलाई दोषी देख्नुहुन्छ ?
उत्तरः हाम्रो समाजमा प्रतिष्ठा भनेको महिलाले जोगाउनुपर्ने मान्यताका कारण पनि यस्तो भएको हो । घर भित्रको कुरा सार्वजनिक गर्दा घर र समाजमा पुनः स्वीकार नगरिने त्रास इत्यादिका कारण सक्षम महिलाहरु पनि हिंसा सहेर बसेको अवस्था छ । तर बिस्तारै–बिस्तारै उनीहरु पनि आवाज उठाउन थालेका छन् । वर्तमान संविधानमा महिला हिंसा विरुद्ध कानूनी व्यवस्था गरिएको छ । तिनको पालना ईमान्दारिका साथ हुनुपर्छ ।
प्रश्नः यी सबै समस्याहरुलाई कसरी निरुपण गर्न सकिन्छ ?
उत्तरः सबै भन्दा महत्वपूर्ण कुरा त शिक्षा नै हो । शिक्षाले नै मानिसलाई सचेत, जागरुक, साहसी र आत्मविश्वासी बनाउँछ । विशेष गरी अल्पसंख्यक र सीमान्तकृत समुदायका बालिकाहरुका लागि कम्तिमाा पनि कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा अन्य सुविधाको व्यवस्था गरिनुपर्छ । जनचेतना अभियान चलाउनु पनि जरुरी ।
प्रश्नः पीडित महिलालाई न्याय दिनु अत्यावश्यक छ । तर केही समय यता महिलाद्वारा घरेलु हिंसाका झुठा आरोप लगाइएका घटना पनि सार्वजनिक भएका छन् । त्यसको अवस्थामा त महिला नै पीडक हुन जान्छिन् । यस्तोमा पीडकलाई सजाय दिने के व्यवस्था छ ?
उत्तरः हो, आयोगमा त्यस्ता मुद्दा पनि नआएका होइनन् । तर यसको लाग अहिले छुट्टै कानून बनिसकेको छैन । दोषी जो सुकै भएपनि कारवाही गरिनुपर्छ ।
प्रश्नः महिला सशक्तिकरणमा पुरुषको के भूमिका हुन सक्छ ?
उत्तरः मेरो विचारमा महिलाहरुलाई अघि बढाउन सबभन्दा महत्वपूर्ण भूमिका पुरुषकै हुन्छ । घरको मूली पुरुष नै हुने भएकोले पुरुषले चाहे कुनै बालिका शिक्षाबाट वञ्चित हुँदैनन् । म पनि आफ्नो बुबाकै प्रोत्साहनले अगाडि बढें । आज म जे छु त्यसको श्रेय म आफ्नो बुवा, श्रीमान् र परिवारलाई दिन चाहन्छु । म महिलाको आत्मविश्वास, उनको मेहनतले सबै गर्ने हो । तर व्यवहारिक रुपमा भन्नुपर्दा अहिले पनि हाम्रो समाजमा पुरुष नै प्रधान भएकोले पुरुषले पनि महिलामैत्री वातावरण बनाउन सहयोग गर्नुपर्छ अनिमात्र महिला पुरुष बराबरी हुनसक्छन् ।
0 comments:
Post a Comment