माधुरी महतो |
तराईका महिलाहरु विशेष गरी विभिन्न किसिमका हिंसाहरुमा बढी पर्ने गरेका छन् । यहाँका विभिन्न संघ संस्थाहरुको तथ्यांक अनुसार यहाँको समाजमा रहेको पारम्परिक संस्कृति, अशिक्षा र अन्धविश्वासका कारण पनि महिलाहरु बढी हिंसामा पर्ने गरेको महिला हिंसा विरुद्ध काम गरिरहेको अनुभव छ । पछिल्लो समयमा गैरसरकारी संस्थाहरुले संचालन गरेको सचेतना कार्यक्रम र सरकारले गरेको साक्षरता अभियानले महिला हिंसामा कमी ल्याउन सहयोग गरे पनि धेरै मात्रामा मधेस तराईमा महिलाहरुलाई शिक्षाबाट बञ्चित गरेको भएर नै महिलाहरु पछि परेका देखिन्छन् ।
महिला शिक्षाको तुलना गर्ने हो भने पहाडमा भन्दा तराईको प्रतिशत निकै कम रहेको पाईन्छ । पूराना रुढीवादी सोच, अलग संस्कृति र मान्यताका कारण पनि तराईका महिलाहरु शिक्षाको पहुँचबाट टाढा रहेका छन् । उनीहरुमा अहिले पनि पढ्ने लेख्ने भन्दा पनि घरपरिवारको सेवा गर्ने हो भन्ने सोच हाबी रहेको छ । मधेसी समुदायमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने सोचका कारण पछिल्लो पुस्ताका महिलाहरुले पनि उचित शिक्षा पाउन सकेका छै्रनन् । बढी पढायो भने बढी दाईजो दिनुपर्ने गलत सोचका कारण मधेशी समुदायका अभिभावकहरुले छोरीलाई कक्षा ५ सम्म पढाएर विद्यालयबाट हटाउँछन् । आफनो नाम लेख्न मात्र जान्न सक्ने भएपछि दाईजो कम दिनुपर्छ भन्ने रुढीवादी सोचका कारण पनि महिलाहरु हिंसामा पर्ने गरेका छन् ।
छोरी जन्मदैमा नाक खुम्च्याउने हाम्रो समाजमा छोरीलाई पढाउदा बढी जान्ने भएपछि समस्या हुन्छ भन्नेहरु पनि छन् । दाईजो प्रथाका कारणले पनि तराई मधेसमा छोरा जन्मिदा खुशी हुने र छोरी जन्मिदा नाक खुम्च्याउने गरेको भेटिन्छ । समाजमा व्याप्त कुप्रथा र कुसंस्कारको विरुद्धमा महिला अधिकारकर्मीहरु लागि रहेको भएपनि राजनीतिक प्रभाव र राज्यको कमजोरीकै कारण महिलाले न्याय नपाईरहेको अवस्था छ । हाम्रो समाजमा दिनहुँ विभिन्न खाले महिला हिंसाका घटनाहरु जस्तै घरेलु हिंसा, दाईजो प्रथा, बाल बिवाह, बोक्सी प्रथा जस्ता घटनाहरु कतिपय बाहिर आउँछन । कतिपय गाँउ समाजमै दवेर जाने गरेका कारण पीडित महिला झन् पीडामा पर्ने गरेका छन् । महिला हिंसाका घटनालाइ गाँउ समाजमै दबाउने गरिएका कारण पीडकहरुले प्रोत्साहन पाउने गरेका छन् ।
महिलाहरुले आफूलाई परेको समस्याको बारेमा खुलेर सम्बन्धित निकायमा कुरा राख्न नसक्दा पनि दोषीले सजाय नपाएको देखिन्छ । घर परिवारले नै महिला वेपत्ता पार्दा पनि महिला फेला नपरेको घटना पनि हाम्रै समाजमा देखिने गरेको छ । हाम्रो समाजमा यस्ता खाले महिला हिंसाका घटनाहरु दिनहुँ जसो भइरहेका छन् । वीरगञ्जमा हालै सुनको औंठी नपाएकोमा निउमा बिवाह भाँडिएको र दाइजो स्वरुप दिने भनिएको जग्गा नपाउँदा बेहुलीको घरमा जन्ती नै नआएका घटना सार्वजनिक भएको थियो । त्यती मात्र होईन हिन्दु रीतिवाज अनुसार मागी विहे भएको र विहेमा दाईजो स्वरुप चार लाख रुपैया नगद र मोटरसाइकल दिएपछि पनि दाइजो कम दिएको निहुँमा पटक पटक कुटपिट गरि १० दिन देखि घरमा थुनेर राखेको खबर सार्वजनिक भएको थियो भने दाईजोकै कारण कुटपिट गरी महिलाको गर्भमा रहेको बच्चालाई पनि मार्ने सम्मको अमानवीय व्यवहार देखाउने राक्षसी प्रवृतीका मानिसहरु हाम्रै समाजमा रहेका छन् ।
तराई मधेशका जिल्लाहरुमा खास गरी दाईजोकै कारण महिला माथि हुने हिंसाको क्रम पनि जारी छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका कार्यालय (महिला सेल) को तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७२।०७३ मा पर्सा जिल्लामा ७ सय भन्दा बढी महिला हिंसा विरुद्धको निवेदन परेको छ त्यसैगरी महिला सेलका अनुसार बारा जिल्लामा पनि ७ सय भन्दा बढी महिला हिंसाका उजुरी परेका छन् । त्यसैगरी रौतहटमा पनि २ सय भन्दा बढी उजुरी परेको छ । विभिन्न आरोप लगाई कुटपिट गर्ने तर अनुसन्धान गर्दै जादाँ दाईजोकै कारण कुटपिट गर्ने गरेको रहस्य जस्ता अपराधहरु निवेदनमा पर्ने गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । प्रहरी कार्यालयमा घरेलु हिँसाको तथ्याङ बढेपनि पर्सा जिल्ला अदालत सम्म २ वटा मात्रै मुद्दा दर्ता भएको पाईएको छ । जसमध्ये एक वटा फैसला भएसकेको छ भने एक वटा बाँकि रहेको छ ।
महिलाको सहभागीता विना घर, समाज, देश कुनै पनि क्षेत्र सभ्य र समुन्नत बन्न सक्दैन । तर हाम्रो समाजमा त्यहि महिलाहरु नै हिंसाका शिकार बनीरहेका छन् । कानुनले दाइजोलाई दण्डनिय गरेपनि तराईका महिलाहरु आर्थिक रुपमा सबल नहुनु र रुढीवादी परम्परा र रीतीरिवाज र चेतनाको कमीले यस्ता दाईजोका घटना हुने गरेको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको भनाई छ । प्रहरी बरीष्ठ उपरीक्षक नारायण सिँह खड्काका अनुसार दाईजो प्रथा गैरकानुनी हो भनेर चेतनाको कमी भएको र दाईजो लिने दिने कुरा गैरकानुनी भएको थाहा भएपनि यो संस्कारकै रुपमा विकास भएको छ तराईमा । यस्तो बातावरणले गर्दा यो दाईजो गैरकानुनी हो थाहा भएपनि दाईजो दिएको व्यतिmको तर्फबाट खासै उजुरी दिन नआएको देखीन्छ । बेहुली र बेहुला पक्षको आपसी समझदारी हुन्छ तबसम्म कुरा बाहिर आउदैन तर जब विवाहको बेलामा भएको कुरा पुरा हुदैन तब मात्रै कुरा बाहिर आउँछ । प्रेसर हुन्छ विवाहीत केटीलाई अब त्यती खेर परिवारमा भन्दा टेन्सन हुन्छ की समाजले के भन्ला भन्ने डर , घटना बाहिर आएपछि घरको ब्यतिmले यो भन्दा बढी टेन्सन दिने हो की भन्ने चिन्ताले गर्दा धेरै ढिलो गरी उजुरी परेको हुन्छ त्यो कारणले पनि दाईजो सम्बन्धी उजुरीको संख्या कम देखीएको हो ।
महिला हिंसा हुने मुख्य कारण दाईजो प्रथा नै हो । छोरीलाई शिक्षित बनाईसके पनि विवाहमा माग हुने गरेको दाईजोले धेरै अभिभावक प्रताडित छन् हाम्रो समाजमा । कतिपय अभिभावकले दाईजोकै कारण छोरीको विवाह गर्ने आट गर्न सकेका छैनन् । कतिपय घटनाहरुमा प्रहरी प्रशासनले राम्रो भुमिका निर्वाह गरेको छ । तर पनि गाउँघरमा अझ पनि विभिन्न दवावमा घटनाहरु सामसुम पार्ने , लुकाउने काम भईरहेको छ । त्यसैले शहर देखी ग्रामीन भेगसम्मका जनताहरुमा बालविवाह, दाईजो प्रथा सम्बन्धा जनचेता फैलाउने उद्देश्यले अञ्चल प्रहरी कार्यालय नारायणीका पुर्व प्रहरी बरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले बालविवाह जस्तो कुप्रथाको विरोधमा अभियान सञ्चालन गरेका थिए जुन केही हद सम्म प्रभावकारी रहयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साले गत वैशाखको पहिलो साता देखि दाइजो र बाल विवाह विरोधी अभियान सञ्चालन गरेको छ । जस अन्तर्गत पर्साको ग्रामीण र नगर क्षेत्रमा गरि किशोरीहरुको सहभागीतामा सामुदायिक र नीजी विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत किशोरीहरुले गल्र्स क्लब गठन गरेका छन् । क्लबमा आबद्ध किशोरीहरुले आफुहरुले दाइजो माग्ने केटासंग विहे नगर्ने र अरुलाइ पनि गर्न नदिने सामुहिक प्रतिबद्धता जनाएको अभियानमा सकृय पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । दाइजो र बाल विवाह जस्ता कुप्रथाबाट सबै भन्दा बढि किशोरीहरु पिडित हुने भएकाले नै कक्षा ८ , ९ र १० मा अध्ययनरत किशोरीहरुलाइ अभियानमा सामेल गराइएको पर्साका प्रहरी उपरिक्षक श्रेष्ठ बताए । अभियान अन्तर्गत गाँउ गाँउमा गल्र्स क्लब गठन भएपछि समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाइ पनि निक्कै सहज भएको प्रहरी उपरीक्षक श्रेष्ठको भनाई छ । दाइजो र बालविवाह विरुद्ध सन्चालित यो अभियान निक्कै सकरात्मक कदम भएको महिला अधिरकारकर्मी बताउँछन् ।
हिंसा गर्नु भन्दा हिंसा सहनु पाप हो । तसर्थ आफूलाई परेको समस्याको बारेमा सम्बन्धित निकायमा गएर कानुनी उपचार खोज्ने बानी हामी सबैले बसाल्नुपर्छ । सरकारले आम नागरिकलाई सेवा र न्याय दिनका लागि स्थापना गरेका निकायमा आफनो पहुँच बनाउन हामी आफै जागरुक बन्नु जरुरी छ ।
राज्यले महिला हिंसाबाट पीडितहरुको कानुनी उपचारको ऐनको व्यवस्था गरेको छ । तसर्थ आफूलाई समस्या परे त्यसको समाधानका लागि कानुनी उपचार खोज्न तर्फ महिलाहरु अगाडि आउनु जरुरी छ । साथै तराईमा अधिकारका लागि आन्दोलन गरिरहेको बताउने उनीहरुले महिला हिंसा र दाईजो प्रथा निरुत्साहित गर्नका निम्ति पनि आवाज उठाइ दिए महिला हिंसा विरुद्धको अभियानमा सहयोग पुग्ने थियो ।
0 comments:
Post a Comment