-

  • नयाँ खबर

    11 September, 2016

    एकल महिलामाथि गरिने सामाजिक विभेदको उपज ‘बोक्सी’

    मायामितु न्यौपाने
    मध्य नेपाल सन्देश
    एक पटक बोक्सी भनी कसै माथि लागेको आरोपमा कानूनबाट न्याय पाए पनि आरोपित र उसको परिवार प्रति समाजले हेर्ने दृष्टिकोण भने उति बद्लिएको पाइन्न । आरोपित र आरोपितका परिवारले कहिले काही यस्तै अपमानका कारण ज्यान समेत गुमाई त्यसको मुल्य चुकाउन बाध्यता भएको समेत पाइन्छ । 
    बोक्सीको आरोपमा पटक पटक शारीरिक यातनाको शिकार भएकी बारा जिल्ला लक्ष्मीपुर कोतवालीकी ३५ वर्षिया भुखलीदेवी सहनी भोगाइले पनि यो कुरालाई थप बल दिएके छ । महिला प्रति गरिने विभेद र हिंसाले तराईका कतिपय महिलाहरु अहिले पनि समाजमा अपहेलित जीवन बिताउन बाध्यता रहेको तितो यथार्थलाई भुखलीदेवीको घटनाले पनि आफै चित्रित गर्दछ । टुनामुना गरी आफ्नो छोरा अशोक कुशवाहालाई सर्पले डस्न लगाएको भन्दै २०६७ साल साउन  ५ गते आफ्नै छिमेकी सत्यनारायण कुशवाहा र उनका परिवार समेत मिली बोक्सीको आरोपमा भुखलीदेवीलाई कुटपिट मात्रै गरेनन् । मलमुत्र खुवाएर गाँउबाट निकाल्ने समेत दुष्प्रयास गरे । उता भुखलीदेवीलाई बोक्सीको आरोप लागेपछि त्यहाँको समाजले समेत उनलाई सामाजिक बहिष्कार गर्ने निर्णय ग¥यो । समाजको निर्णय सुनेपछि उनका पति कृष्ण सहनीले उनलाई घरमा नराख्ने अवस्थामा पुगे । महिला हिंसाकी शिकार उनले न्यायका लागि प्रहरी र प्रशासनमा हार गुहार  त गरिन् । तर न्याय पाईनन् । प्रहरी र प्रशासनबाट न्याय पाउन नसकेकी उनको दुखेको घाउमाथि सर्वाेच्च अदालत र यूएनडीपीको सहयोगमा स्थानीय जनजागरण युवा क्लवद्धारा गठित अर्ध न्यायिक समितिले मल्हम लगाउने काम त ग¥यो । समितिले पीडक कुशवाहाले पिडीत महिलाप्रति अन्याय गरेको ठहर गर्दै समाज सामु माफी माग्न लगाई अब उप्रान्त त्यस प्रकारको कसुर नगर्ने भनी कागज समेत गरायो । पीडक कुशवाहा परिवारले आफुले गल्ती गरेको स्वीकार गर्दै माफी मागे पछि उनका श्रीमान् कृष्णले पनि उनलाई घरमा राख्न मन्जुर भए । यसरी कानुनी न्यायबाट बञ्चित भुखलीमाथि भएको अन्याय र अपहेलना वापत समाजले गरेको फैसला वा सहमतिले तत्कालका लागि उनको दुखेको घाउमाथि मल्हम लगाउने कार्य त ग¥यो । तर समस्याले स्थायी समाधान भने पाउन सकेन । बोक्सिको आरोप लागेकी भुखलीदेवी प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेका कारण उनको दुखेको घाउ निको हुनुको साटो झनझन बल्झेको छ । सामान्य माफी पछि आफुले गरेको कसुरबाट उम्कन सफल पीडकहरुले अहिले पनि पिडीतलाई दुःख दिने क्रमले निरन्तरता पाई नै रहेको छ । त्यति मात्रै होईन, समाजमा कुनै अप्रिय घटना भयो कि त्यहाँका अन्य व्यक्तिहरु समेतले पनि त्यसको दोष भुखलीदेवी माथि नै थोपर्ने गरेको तितो अनुभव उनी आफै बताउछिन् । भुखलीदेवीको जस्तै अवस्था छ बारा लिपनी ४ बस्ने ४० वर्षिया रसुलबानी खातुनको पनि  । बोक्सीले टुनामुना गरेको कारण छोरी बिरामी परेको झांक्रीको भनाइमाथि विश्वास गरी आफ्नै छिमेकी अबदुल गनी हवारी तथा उनको परिवारले २०६९ साल कार्तिक ९ गते खातुनलाई निर्मम कुटपिट गरी यातनाको शिकार बनाए । महिला हिंसाको शिकार बनेकी खातुनले ईलाका प्रहरी कार्यालय जितपुर बारामा गई न्यायका लागि हारगुहार गरे पनि पीडकको प्रभावमा परी ईलाका प्रहरी कार्यालय जितपुर र जिल्ला प्रहरी कार्यालय बाराको बदनियतपूर्ण रवैयाका कारण मुद्दा नै दर्ता नभई पीडित खातुन न्यायबाट बञिचत हुनुपरेको अवस्था देखिन्छ । पछि गएर सामाजिक सम्झौतामै मुद्दा मिलापत्र भए पनि  पीडकले लगाएको बोक्सीको आरोप र यातनाका कारण  अपमानित जीवन बिताउन बाध्य खातुनलाई अहिले पनि पीडकले मानसिक पीडा दिने गरेको पिडित खातुनको गुनासो छ ।  घरबाट बाहिर निस्कने बित्तिकै उनलाई देख्ने प्रायःले थुक्थुक्याउने, किला गाडिदिन्छु, सियोले सिलाईदिन्छु भन्ने खाले बोक्सीका लागि तराईको समाजमा प्रचलित अपमानित शब्दहरु प्रयोग गरी अपमानित गर्ने गरेको पीडितले बताइन् । गाउँका पुरुषहरुले आजभोलि त्यति नभए पनि महिलाहरुले भने उनी घरबाट निस्कने वित्तिकै जिस्काउने गरेका छन् । विना गल्ती आफूलाई दोष दिँदा दुःख लागेर कारवाहीको माग गरे पनि पीडकलाई कुनै कारवाही नभएको गुनासो छ उनको । सामाजमा महिला प्रति गर्ने विभेद र त्यसले निम्त्याएको महिला हिंसाको विभिन्न रुपहरु मध्ये बोक्सीको आरोप र यातना तराईका महिलाका लागि अभिषाप नै बनेको छ ।  सामाजिक विभेद र हिंसाको मुख्य कारण अशिक्षा भए पनि बोक्सीको आरोपमा यातना पाउनेहरुमा प्रायजसो गरीब र एकल महिलाहरु नै बढी हुने गरेका छन् । आफ्नो स्वार्थ पूरा गर्न वा प्रभाव जमाउने क्रममा हुने गरेको सामान्य विवादमा गरीब, असहाय र एकल महिलालाई समाजमा प्रायःजसो बोक्सीको आरोप लगाएर यातना दिने गरेको पाईएको छ । मलमुत्र खुवाएमा बोक्सी विद्या समाप्त हुने र टुनामुना नलाग्ने मान्यताका बिच बोक्सीको आरोपमा दिइने यातनाका प्रकृतिहरु प्राय उस्तै खाले हुने गरेका छन् । बोक्सीको आरोपमा यातना दिने पीडक र त्यसलाई संरक्षण गर्नेमा प्रायःजसो समाजका प्रभावशाली व्यक्तिहरु नै हुने गरेका छन् । घरमा कोही बिरामी पर्दा वा केही अनिष्ट हँुदा पहिला भएको कुनै विवादलाई आधार बनाएर झगडा गर्ने, शंकाको भरमा वा धामीझांक्रीको बहकाउमा लागेर महिला महिला बिच हुने विवादमा गालीगलौजको रुपमा बोक्सी शब्दको प्रयोग गर्ने, कुटपिट गर्ने, मलमुत्र खुवाउने जस्ता अमानवीय व्यवहारहरुले तराईका कतिपय महिलाहरुले अझ पनि बोक्सीको आरोपमा यस्तै खाले मानसिक र शारिरिक यातना भोग्नुपरेको छ । 
    महिलामाथि हुने यस्ता विभेदलाई नियन्त्रण गर्न संविधान सभाको व्यवस्थापिका संसदले घरेलु हिंसा तथा कसुर ऐन २०६६ पारित गरी २०६६ साल बैशाख १४ गतेदेखि नै लागू समेत गरिसकेको छ । बोक्सीको आरोप लगाउनु वा यातना दिनु जघन्य अपराध हो र यस्तो अपराधको कसुर गर्नेलाई कैदको सजाय हुन सक्छ भन्ने ऐन नियमले स्पष्ट व्यवस्था गरे पनि बोक्सीको आरोप लगाएर यातना दिने पीडकहरुमाथि खासै कारवाही हुन नसकेकोले पनि समाजमा विधमान कुरीतिको अन्त्य नभएको पाइन्छ । महिलामाथि हुने यस प्रकारको हिंसा नियन्त्रण गर्न मुलुकका केही जिल्लामा महिला तथा बालबालिका सेवा केन्द समेत खुलिसकेको छन् । तर एकातिर जिल्ला प्रहरी कार्यालयहरुमा रहेको महिला बालबालिका सेवा केन्द्रमा प्रहरी प्रमुखहरुको नै आदेश चल्ने र अर्कोतिर समाजमा प्रभुत्व जमाएर बसेका व्यक्तिहरुको प्रहरी प्रमुखसँगको निकटम सम्बन्धका कारण महिलामाथि हुने हिंसाका उजुरीहरु प्रायः दर्ता नभई सहमतिमा टुगिंने गरेको पाईन्छ । यस्ता मुद्दा सहमति गराउन एकातिर प्रहरीले पनि दबाव दिने र अर्कोतिर समाजका ती पीडितहरु  साहुको ऋणको भरमै बांच्नुपर्ने बाध्यता भएकोले पनि उनीहरु समाजभन्दा बाहिर जान नसकेर मिलापत्र गरेको पाईन्छ ।
    मध्य तराईका जिल्लामा बोक्सीको आरोपमा महिलाहरु हिंसाको शिकार भईरहेको थुप्रै घटनाहरु सुन्नमा आउँछ । तर बोक्सीको आरोपमा महिलामाथि हुने हिंसाका उजुरीहरु प्रहरी कार्यालयसम्म कमै आउने गरेको छ । आए पनि दर्तामा प्रहरीले गर्ने आनाकानी र मिलापत्रका लागि समाजले दिने दबावका कारण त्यस्ता घटनाका पीडकहरु समाजिक मिलापत्रका लागि बाध्य हुने र त्यसपछि पटक पटक फेरी शारिरिक र मानसिक हिंसाको शिकार हुने गरेका छन् । बारा र पर्सा जिल्लालाई मात्रै लिने हो भने पर्सा जिल्लाको पश्चिमी भेगका गाउंहरुमा बोक्सीको आरोपमा महिलामाथि हिंसा हुने गरेको खबरहरु धेरै सुन्नमा आए पनि महिला तथा बालबालिका कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय र त्यहाँ रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा त्यस्तो कुनै पनि उजुरी नआएको वा दर्ता समेत नभएको देखिन्छ । बारा जिल्लाको हकमा हेर्ने हो भने २०६८ साल र ०६९ साल गरी दुई वर्षमा बोक्सीको आरोपमा जम्मा चार वटा मुद्धाहरु दर्ता भएको तथ्याङ रहेको छ । जब कि जानकारीमा आएको घटनालाई नियाल्ने हो भने बारा जिल्लामा गएको दुई वर्षमा बोक्सीको आरोपमा उचिडिह गाविसमा एक, गोलागन्जमा एक, कचोर्वामा एक, लक्ष्मिपुर कोतवालीमा एक, फेटामा एक, कलैया नगरपालिकामा एक, लिपनी मालमा एक र बेल्दारीमा एक गरी आठ जना महिलाहरु महिला हिंसाको शिकार भएका छन् । ती मध्ये २०६८ सालमा तीन र २०६९ साल मंसिर १५ गते सम्म एक गरी चार वटा मुद्दा जिल्ला प्रहरी कार्यालय बारामा दर्ता भएको र बाँकी मुद्धाहरु समाजिक मिलापत्रकै आधारमा किनारा लागेको जिल्ला प्रहरी कार्यालय बारामा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरिक्षक दिपिका ओझा बताउनुहुन्छ ।  दर्ता भएको चार वटा मुद्दा मध्ये तीन वटा मुद्दाको फैसला भई फछ्र्यौट समेत भईसकेको र २०६९ सालमा दर्ता भएको एउटा मुद्दा भने अनुसन्धानको क्रममा रहेको छ ।
    महिलामाथि हुने सबै किसिमको हिंसाको अन्त्य हुनु पर्ने र  तत्काल कानूनी कठघरामा ल्याई कानूनी उपचार गराउनु पर्ने धारणा छ अधिवक्ता रामनारायण कुर्मीको । सामाजमा फेरि यातना पाइने डरले बोक्सीको ओरोपमा शिकार भएका महिलाहरु प्रायः कानूनी उपचारमा आउन नसकेको अनुभव छ अधिवक्ता कुर्मीको । महिलामाथि हुने जुनसुकै प्रकारको हिंसा कानूनी अपराध हो । पीडित महिलाको संरक्षण गरी न्याय दिलाउन सरकार र समाजको उत्तिकै दायित्व रहन्छ । तर बोक्सीको आरोपमा महिलामाथि भईरहेको अन्याय र यातना बारे एकातिर उजुरी नै नआउने र आए पनि समाजका प्रभावशाली व्यक्ति र उनीहरुको पहुँचमा रहेका प्रहरीहरुले मानसिक दबाव दिएर मुद्दाको मिलापत्र गराउने गरेकाले यसका दोषीहरु कानुनी दायरामा आउन सकेका छैनन् भने पीडितहरु न्यायको पहँुचबाट बञ्चित हुनुपरेको पनि अधिवक्ता कुर्मीको तर्क छ ।
    बोक्सीको आरोपमा महिला हिंसाको शिकार गरीब, विपन्न परिवारका महिलाका साथै एकल महिलाहरु बढी हुने गरेकाले उनीहरुलाई समाजका व्यक्तिहरुले डरधाक देखाई मिलापत्र गर्न बाध्य पार्ने भएकाले पनि पहिला यस्ता घटनाका पीडितहरु आफू कहां आउने र पछि गाउंमा मिलापत्र गरेर उतै हराउने गरेको बारा जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयकी प्रमुख रश्मी श्रेष्ठ बताउनुहुन्छ । मुलुकमा बढेको दण्डहिनताका कारण गाउं छिमेकमा भएका कुटपीट र झैझगडाका मुद्धाहरु सहजै प्रहरीमा दर्ता नहुने र भए पनि पहँुचका आधारमा उम्कन सक्ने भएकाले सामान्य लेनदेन वा जग्गा जमिनको झगडालाई पनि बोक्सीको आरोपमा कुटेको भनी मुद्दालाई बंग्याउने गरेकाले वास्तविक पीडितको पहिचान गर्न पनि कठिनाई हुने गरेको प्रमुख श्रेष्ठको ठम्याई छ । 
    जे भए पनि महिलामाथि हुने सबै किसिमको हिंसा अपराध हो । अझ हुँदै नहुने बोक्सीको आरोपमा यातना दिनु त झन जघन्य अपराध नै हो । अतः यसलाई नियन्त्रण गर्न र समाजमा फेरि यस्तो घटना नदोहोरिनका लागि राज्यका सम्बन्धित निकायहरु यस सम्बन्धि भएका कानून कार्यान्वयन गराउन जरुरी छ । साथै हामी सम्पूर्ण नागरिकहरु पनि उत्तिकै जिम्मेवार हुन आवश्यक छ । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एकल महिलामाथि गरिने सामाजिक विभेदको उपज ‘बोक्सी’ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top