-

  • नयाँ खबर

    11 September, 2016

    सम्पादकीय — तीजको नयाँ सन्देश

    प्रायः परायी घर गएका छोरीचेलीहरुले आफन्त भेट्न आफ्नो जन्मघर आउने पर्व । अनि, केही दिन भए पनि जन्म दिने बुबाआमा र सहोदर दाजुभाइ, दिदीबहिनीसँग एकसाथ माइती घरमा जमघट गरी आनन्दित हुने दिन । आफ्ना मनका वह र वेदनाहरु छोरी चेलीले आमाबुबा, दिदीबहिनी र दाजुभाइसँग साटासाट गरी परायी घरको वेदना भुली मन हलुँगो बनाउने क्षण । बर्षात्को थकान मेट्ने कृषि प्रधान देशका पूर्वजहरुको संस्कार  महत्वका हिसाबले यसै पनि आफैमा मार्मिक छँदैछ । सबैसँग भेटभएको वेला जीवनको भोगाइका पलहरु गानामा छचल्किनु मर्मस्पर्शी संस्कृतिको द्योतक पनि हो । यो सँगै शिवसँग जोडिएको पार्वतीको प्रसंग पनि धार्मिक मान्यताका कारण जबरजस्त छ । 
    परन्तुः रुपान्तरित समयचक्रसँगै तीजको महत्व सामूहिक रुपमा झाँगिने क्रमले तारे होटलको महँगो शैली र उत्ताउला दोहोरी गीतले तीजको महत्वलाई विलिन बनाउने हो कि भन्ने आशंका चुलिएको छ । आपसी प्रतिस्पर्धा र घर परिवारमा समेत कलह भित्र्याउने यो शैली महिलाहरु कै लागी पनि सुपाच्य पक्कै छैन ।  
    बर्दियाका महिला दिदीबहिनीहरुले अहिलेको भड्किलो तीजमा हुने फजुल खर्च कटाएर बचत खाता संचालन गर्न थाल्नुले तीज बिशेष कार्यक्रमका नाममा हुने शैली अव्यावहारिक रहेछ भन्ने पनि देखाएको छ । बर्दियाको बबई नगरपालिका ६ बर्गदास्थित सिर्जना बचत तथा ऋण सहकारी संस्थामा विगत चारबर्ष यता तीजको फजुल खर्च कटाएर त्यहाँका ४ सय महिला दिदीबहिनीहरुले बचत गर्न थाल्नु त्यसको एउटा उदाहरण पनि हो । चाडपर्वमा जति खर्च गरे पनि कमै हुन्छ भन्ने मान्यता र अरुको देखासिकी अन्ततः दुवै गलत हो भन्ने यसले पुष्टि पनि गरेको छ । त्यसैले आफ्नो क्षमता र घरपरिवारमा किचलो भित्रने गरी पर्वका नाममा भड्काउ शैली अंगाल्नु निरर्थक हुन्छ । यो कुरालाई मनन् गर्दै सबै महिला दिदीबहिनीहरुले आनन्दपूर्वक तरिकाले हरितालिका तीज पर्व मनाउनुस् मध्य नेपाल सन्देशको तर्फबाट पनि सबैमा शुभकामना ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सम्पादकीय — तीजको नयाँ सन्देश Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top