कविता खड्का |
जन्म दिएकी आमा संस्कार सिकाएका बुवा र तराई मधेशको सदृढ बनाउनुपर्ने केही संस्कृति विरुद्ध विद्रोह गरेकी उनलाई अहिले पनि खासै पछुतो छैन । आफै साहस गरेर आफ्नो भविष्य सुद्धिढ पार्न र लक्ष्य प्राप्तिका लागि परिवार त्याग गरेकी उनी अहिले माइती नेपालकको आश्रय गृहमा छिन् । कुसंस्कृतिसंग विद्रोह गरेकी उनी समाजका लागी उदाहरणीय पात्र बनिन् । थुप्रै चुनौती भए पनि नेपाली समाजमा विद्यामान बालविवाह दाईजो प्रथा जस्ता मान्यताबाट माथि उठ्न कुनै न कुनै चेलीले त समाजमा विद्रोह गर्न आवश्यक थियो । सामाजिक कुरीति विरुद्ध सशक्त आवाज उठाउनुका साथै कम उमेरमै हुन लागेको विवाहलाई समेत अस्वीकार गरी उदाहरणीय काम गरेकोमा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट समेत उनले सम्मान पाईसकेकी छिन् । स्थानीय स्तरमा पनि उतिकै सम्मान पाईरहेकी छन् ।
समाजमा जकडिएर रहेको विकृति विरुद्ध लडन खोज्दा २०७२ चैत्र २४ गते आफ्नो घर परिवारसँग पनि विद्रोह गर्न पुगेकी युवतीको नाम पर्र्सावासीका लागि त नौलो रहेन । वीरगरन्जकै भएकीले तिनलाई धेरैले चिन्ने नै भए । आफू भन्दा कम पढेका केटासँग विवाह गराईदिने परिवारको प्रयासलाई चिर्ने उनले जमर्को रह्यो । फलतः त्यो जमर्कोले उनलाई आफ्नो जन्मदिने बाबुआमाको घरपरिवार नै त्याग्न समेत बाध्य तुल्यायो ।
४÷५ महिना मात्रै बस्न मिल्ने भए पनि समय परस्थिती र पढाइका कारण माइती नेपाल केन्द्रिय कार्यालयको समन्वयमा अहिलेका लागि यही बस्ने व्यवस्थापन गरिदिएकोले उनी माइती नेपाल वीरगन्जमा बस्दै आएकी जिल्ला संयोजक संगिता पुरीले बताईन् । हिजोको आफ्नो समस्या र भोलिको योजनाको बारेमा तीनै रिंकु ठाकुर आफ्ना पछिल्ला दिन कसरी विताउँदै छन् भन्ने सन्दर्भमा ‘मध्य नेपाल सन्देश’ ले उनीसँग गरेएको सारसंक्षेप ।
— के गर्दै छिन् आजकल रिंकु ?
अहिले म बि.बि.एस. प्रथम वर्षको परिक्षाको तयारी गर्दैछु । आफू कार्यरत रेडीयो पनि सर्न लागेकोले रेडियोबाट छुट्टि पाएर अझै धेरै समय पढ्नका लागि सदुपयोग गरिरहेकी छु ।
— घरमा र अहिले माईती नेपालमा रहेर गरेको तयारीमा के फरक पाउनु भयो ?
घरमा विहेवारीको तनाव, झगडा, विवाद हुने गर्दथ्यो । अहिले निकै समयदेखि भोग्दै आएको पिडाबाट छुटकारा पाएकी छु । तनावमुक्त भएर पढ्नेकाम गरिरहेकी छु ।
— परिवारबाटै विद्रोह गरेर एक्लै बस्दा अहिले वहाँहरुले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
पहिला परिवारमा सबैले नराम्रो (नगेटिभ) रुपले लिनु भएको थियो । अहिले सर्पोट गर्नु भएको छ । पटक – पटक आमा भेट्न आउनुहुन्छ । बुवा अहिले सम्म आउनु भएको छैन् ।
— घर जान मन लाग्दैन तपाईलाई ?
जान मन लाग्छ, मैले सबै भन्दा बढी बुबालाई माया गर्थे, रेखदेख गर्थे । वहाँको याद आउँछ, घर जान पनि मन लाग्छ । तर अहिले केही गरेर देखाएपछि मात्रै घर जाने सोच राखेको छु ।
— पढाईका लागि विभिन्न व्यक्तिहरुको सहयोग भए पनि अरु व्यवस्थापनहरु कसरी गर्नुहुन्छ ?
स्थानीय सामुदायिक रेडियोमा काम गर्दैछु । त्यसैबाट कपी, किताब र ट्यूसनको व्यवस्थापन गर्छु । पकेट खर्च पनि त्यसैबाट हुने गरेको छ ।
— पढाई बाहेक भविष्यका बारेमा के सोच्दै हुनुहुन्छ ?
पढ्नुको अलावा परिक्षा सकाएर लोक सेवाको तयारी गर्ने र असईका लागि समेत तयारी गर्ने सोच बनाएको छु । त्यस अलावा पनि कम्प्युटर र ईङ्गलिस ल्याङवेज पढ्ने सोच बनाएकी छु ।
— फर्केर हेर्दा, तपाई जस्ता अरु पनि थुप्रै आफ्नै परिवारसंग संघर्ष गरिरहेका छन् । के भन्नुहुन्छ वहाँहरुलाई ?
आफ्नो हक आफैले खोज्नुपर्छ । जीवन विताउने र समाजको विकृति विसंगति विरुद्ध कुनै ठाउँमा विद्रोह गर्नुपर्छ । कुनै ठाँउमा मिलाउने कोशिस पनि गर्नुपर्छ । अहिले पनि हरेक ठाउँमा महिलाले नै सम्झैता गर्नुपर्ने स्थिति छ यस्तो हुनु हुन्न । त्यो परिस्थिति आफै पनि चिर्ने कोशिस गर्नुपर्छ ।
— अन्तमा ?
अन्तमा मलाई सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै–धेरै धन्यवाद । यहाँहरुले महिला लक्षित पत्रिका ल्याउदै गर्नु भएको रहेछ । तपाइहरुलाई सफलताको शुभकामना दिन चाहन्छु ।
0 comments:
Post a Comment