बिमला गुप्ता |
हेर्ने हो भने अहिले वीरगञ्जमा चारैतिर ब्युटीपार्लर छ । कुनै यस्तो गल्ली नहोला र कुन यस्तो चोक नहोला जहाँ व्युटी पार्लर नहोस् । मधेसको ठाउँ मधेसी महिला पनि पार्लरमा ग्राहकको रुपमा जान मात्रै होईन, यो व्यवसाय गर्न पनि रुचाउँछिन् । प्रायः महिलाहरुको रुचीको विषय बन्दै गएको छ व्यूटीपार्लर । मधेसको मुटु वीरगञ्ज र वीरगञ्ज नगरीमा कहिलेदेखि सुरुवात भयो ? ब्युटीपार्लरको व्यवसाय र कसले सुरुवात ग¥यो ? यसको जानकारीका लागि वीरगञ्जकै पहिलो तथा बरिष्ठ व्युटीसीयन पुष्पा राना ज्युसँग मध्य नेपाल सन्देश साप्ताहिकका लागि गरिएको कुराकानीकको सारसंक्षेप :-
यहाँको परिचयसँगै यो पेशामा कसरी आउनुभयो बताइ दिनुस् न ?
मेरो पुरा नाम पुष्पलता राना हो, मेरो जन्म दार्जलिङमा भएको हो । मैले शिक्षा उतैबाट प्राप्त गरेँ । मेरो बिहे २०३२ सालमा काठमाण्डौमा भएको हो । २०३४ सालमा पहिलो छोराको जन्म भयो र २०३५ सालमा १९ वर्षको हुँदा होटल डेल अन्नपूर्णमा (पाँच तारे होटल) ब्युटिसियनको जागिर पाँए । त्यसबेला मलाइ शर्त राखियो कि तीन महिना ट्रेनिङ दिने राम्रो काम गर्यो भने राख्ने नत्र हटाउने । मेरो गुरु मिष्टर विद्यान्ता (ईटालियन) हुनुहुन्थ्यो । उहाँसँग मैले ट्रेनिङ लिन शुरु गरें ।
म बच्चैदेखि सबैकुरा –ह्याण्डीक्र्याफ्टहरु बनाउनु सिलाई बुनाइ जस्ता काममा निपूर्ण थिए । मेरो बानी पनि थियो ऋङ्गारपटार गर्ने । त्यसैले गर्दा मैले व्युटिसियन पनि धेरै मन लगाएर सिके । मेरो काम गराइलाई सबैले मन पराउँदै गए । मैले काम गर्ने होटल रोयल फ्यामिली थियो । एक पटक ज्योत्सना सरकार ( बसुन्धरा सरकारको छोरीको कपाल काँटेकी थिँए । हेलेन सरकारले नजर गरिबक्सेर सोधी बक्सियो । यो कलपाल कसले काटेको भनेर ? सिनियर व्युटीशियन दिज्युहरुले पुष्पाले काटेको सरकार भन्दा विश्वास गरिबक्सेन र अर्को पटक कपाल काट्दा मेरो अगाडी कपाल काट्नु भनी हुकुम भयो । पहिला त मलाई डर लाग्यो । पछि भगवानको नाम लिएर काटे । सरकारले मन पराईबक्स्यो । त्यसको एकघण्टा पछि मलाई जिएमको अफिसमा बोलाइयो र मेरो हातमा लेटर राखिदिँदै तपाईलाई बधाई छ भन्नुभयो । लेटर खोलेर हेर्दा म पास भएको रहेछु । तीन महिनाको तालिमपछि जागिर दिने भने पनि मैले एकै महिनामा जागिर पाएँ । पाँच वर्षका लागि सम्झौता भयो । होटलमा आउने विदेशीहरुले पनि काम लगाउँने हुँदा त्यहाँ रहँदा मैले राम्रो टिप्स पाउँथे । तलब पानि राम्रै पाउँथे । मैले बडामहारानी ऐश्वर्य सरकार, कोमल सरकार लगायत राजपरिवारका धेरै महिलाहरुको कपाल मिलाउने, मेनिकेयर पेडिकेर लगायतका सेवा गर्ने मौका पाँए ।
तपाई त्यस्तो राम्रो ठाँउको जागिर छोडेर कसरी वीरगञ्ज आइपुग्नु भयो ?
म राम्रोसँग काम गरिरहेको थिँए । काम शुरु भएको दुईतीन वर्ष भित्रै मेरो बढुवा भयो । म अशिसटेन्ट इन्चार्जको पोष्टमा पुँगे । यसैबीच मेरो अरु दुई छोराहरु जन्मे । तर श्रीमान् पैसा नकमाउने भएकोले घरको सबै खर्च म आफैंले बेहोर्थे । त्यसबेला सरकारले व्युटिसियनहरुलाई पालैपालो गरेर लण्डन ट्रेनिङमा पठाउने गरिबक्सन्थ्यो । २०३७ सालमा मेरो पनि नाम छनौट भएको थियो तर मेरो दुर्भाग्य भनुँ म मेरो श्रीमान् र आमाजुको कारण जान पाईन् । किनभने म भन्दा ३ वर्ष सिनियर मेरो आमाजु पनि त्यही पनि काम गर्नुहुन्थ्यो । मेरो श्रीमान् तास खेल्ने, जति सम्झाए पनि नमान्ने, म सँग झगडा गरेर दिदिको घर जाने, तर दिदिले भाईलाई सम्झाउनुको साटो मलाई नै गाली गर्नुहुन्थ्यो । मैले उहाँ सुध्रनुहुन्छ कि भनेर कत्तिपटक काम छोड्ने धम्की दिए पनि अटेर गर्थे । एकदिन आमाजुले मलाई घरकै विषयमा अफिसमा गाली गर्नुभयो । चित्त दुखेपछि मैले जागिरबाट राजिनामा दिँए । तर पनि श्रीमान्को बानीमा सुधार आएन् । घर धान्न गाह्रो भयो । त्यसैले मैले होम सर्भिसमा जान थालें । पछि लगनखेलमा सानो पार्लर पनि खोलें । त्यो पार्लर राम्रोसँग चल्यो । अझै पनि श्रीमान्को ताल उस्तै थियो । बिवाह पछि २०३३ सालमा हामी वीरगञ्जमा केहिदिन बसेको हुनाले वीरगञ्ज जाने प्रस्ताव गरें । सुरुमा उहाँले मान्नुभएन । तर मैले वीरगञ्जमा पार्लर खोलेर पाँच वर्ष भित्र घर बनाउन नसके पनि जग्गा किनेर देखाउँछु भनेपछि राजी भए । २०४० सालमा वीरगञ्जको माईस्थान चोकमा मैले पार्लर खोलेकी हुँ ।
तपाईले शुरुमा पार्लर खोल्दा कुनै समस्या भयो कि ? यहाँका बासिन्दाहरुले कस्तो व्यवहार गर्थे ?
वीरगञ्ज आउँदा घरको धेरै समान बेच्नुपरेको थियो । १५ हजार साथमा थियो । त्यही लगानीमा पार्लर खोलेकी थिँए । मेरो भाग्य र अनुभवले साथ दियो । पार्लर राम्रोसँग चल्न थालेको थियो । त्यतिबेला एउटा आइब्रो बनाउनका लागि नम्बर लगाएर दुई दिनपछि मात्रै पालो आउथ्यो । तर पछि एउटा समस्या के आइलाग्यो भने त्यसबेला मेरो उमेर २५/२६ वर्षको हुँदो हो । ब्युटिसियन भएकीले पनि राम्री थिएँ । यहाँका केहि बदमास केटाहरुले धेरै दुःख दिन लागे, नराम्रो दृष्टिकोणले हेर्ने, पार्लरको ढोकामै आएर जिस्काउने, पार्लर बाहिर भित्तामा फोहोर फहोर चित्र बनाउने, नराम्रा शब्दहरु लेखिदिने, साईनबोर्डमा गोबर हालिदिने, तालामा दिसा लगाइदिने जस्ता उछृङखल हर्कतहरु प्रदर्शन गर्न थाले । त्यति मात्रै नभएर उनीहरुले मैले ड्रममा थापेर राखेको पानीमा पिसाब समेत गरिदिए । लोग्ने पनि केहि नबोल्ने भएकोले वीरगञ्जका प्रतिष्ठित व्यक्तिहरुलाई गुहारे । त्यसपछि त्यो केटाहरुले बदमासी गरेनन् । म ढुक्क भएर काम गर्न थाले । अहिले यसो सम्झन्छु मेरो ठाँउमा अरु महिला भएको भए के गर्र्थे होलान् ? शहरै छोडेर भाग्थे कि । तर मैले हरेक समस्यासँग जुधेर निरन्तर आफ्नो कामलाई अघि बढाँए ।
तपाईको पार्लरमा कस्ता ग्राहक आउँथे । पहिला र अहिलेमा के फरक छ ?
त्यो बेलामा विशेष गरी मारवाडी समुदाय, अनि पहाडी, मधेसी समुदायका महिलाहरु पनि छिटपुट आउने गर्थे । मारवाडी समुदायका महिलाहरु आइब्रो मिलाउने, फेसियल गर्ने, पहाडी समुदायकाले बढी कपाल काट्थे, पर्मिङ गर्ने गर्थे, मधेसी समुदायका कमैले कपाल काट्थे, केहिले आइब्रो पनि मिलाउँथे । बिवाहका लागि केटी देखउन पर्दा वा विवाहको समयमा दुलही सिंगार्न आउँथे । त्यसका लागि ३÷४ महिना पहिलेखि नै पालो लिनुपथ्र्यो । त्यो समयमा बिहान ६ बजेदेखि राती ११ बजेसम्म म व्यस्त हुन्थें । पहिला भन्दा अहिले हेयर स्टाईलमा परिवर्तन आएको छ । मधेसी र मारवाडी समुदायका महिलाहरु पनि विभिन्न स्टाइलको कपाल काटछन् ।
हिजोआज गल्ली गल्लीमा च्याउ उम्रे झै पार्लर देखिन्छ । तपाईहरुको व्यापारमा कस्तो असर परेको छ ?
पहिला मेरो एउटा मात्रै पार्लर हुँदा त सबै ग्राहकहरु पालो कुरेरै भए पनि मै कहाँ आउँथे । पछि विस्तारै ५/१० वटा पार्लर भए । मेरोमा त सँधै उस्तै भिडभाड हुन्थ्यो । तपाईले भनेजस्तै हिजोआज च्याउ उमे्र झै पार्लर खुलेका छन् । विभिन्न संघ संस्थाहरुले पनि ट्रेनिङ दिईरहेका छन् । त्यहाँबाट धेरै ब्युटिसियनहरु निस्केका छन् । पहिला हाम्रो पालामा पार्लर खोल्नु निकै चुनौतिपूर्ण काम थियो । पहिला १ वर्षको तालिम त्यसपछि अरुकोमा २/३ वर्ष काम गरेपछि मात्रै पार्लर खोल्ने चलन थियो । हिजो आज त ३ महिनाको तालिम पछि ब्युटिसियन भै हाल्छन् । अहिलेका ग्राहकलाई छिटो छरितो सेवा चाहिन्छ । राम्रो भन्दा सस्तो खोज्छन् । घरमै आएर गरिदिए झनै राम्रो मान्छन् । मैले शुरुमा पार्लर खोल्दा आइब्रो मिलाएर काठमाण्डौंमा ३०/४० रुपैंया लिन्थे, मैले चल्दैन होला भनेर १० रुपैंया राखे । ग्राहकहरु अहिले पनि त्यही दाममा गर्न पाए हुन्थ्यो भन्छन् । तरकारी पसलमा जस्तो वार्गेनिङ गर्छन् ।
तपाई यति लामो समयदेखि व्युटिसियन पेशामा हुनुहुन्छ, विभिन्न संस्थामा आवद्ध हुनुभयो होला अनि सम्मान पनि पाउनुभएको छ की ?
२०७० सालमा ब्युटिसियन संघ पर्सा शाखाको पहिलो अध्यक्ष बन्ने प्रस्ताव आएको थियो । मैले पारिवारिक कारणले भ्याउँदिन भनेपछि बरिष्ठ सल्लाहाकार बनाएका थिए । पछि पनि अध्यक्ष बन्न खोज्दा खुट्टा तान्ने धेरै भएर बन्न सकिन । त्यपछि मैले रिसको झोकमा राजिनामा दिए । त्यसपछि एबीसी ह्याण्डसमा अध्यक्ष बन्ने प्रस्ताव आएको थियो । बेला बेलामा काठमाण्डौ गईरहनुपर्ने भएकोले त्यसमा पनि म बरिष्ठ सल्लाहाकार नै बसेको थिए । विविध कारणले त्यो पनि छोडिसके । यहाँका व्युटिसियन संघ संस्थाहरुले सम्मान नगरे पनि २०७० सालमा काठमाण्डौंमा वीरगञ्जको पहिलो व्युटिसियन भनेर सम्मानित भएको छु । एबीसी ह्याण्डस्ले पनि २०७१ सालमा बरिष्ठ व्युटिसियन भनेर काठमाण्डौंमै सम्मान गर्यो ।
तपाई ३९ वर्षदेखि एउटै पेशामा हुनुहुन्छ, अझै पार्लर पनि चलाई रहनुभएको छ । एउटै काम कति गर्नु भनेर वाक्क लाग्दैन् ?
हो म १९ वर्षको उमेरदेखि नै यो पेशामा आवद्ध छु । अहिले ५७ बर्षकी भएँ । मलाई आफ्नो काम गर्न कहिल्यै दिक्क लाग्दैन । म काम गर्दा अहिलेपनि १९ वर्षकै जोसमा काम गर्छु । एउटा छोरालाई सिकाएको भए पनि उसले यसलाई निरन्तरता दिएन । त्यही भएर छोरी नभएकोमा कहिलेकाही कमी अनुभव हुन्छ । अहिले पार्लर बेच्नु पर्ने अवस्था आईसकेको छ ।
0 comments:
Post a Comment